गुरुङ भाषा र संस्कृतिका अध्येता इन्द्रबहादुर गुरुङको तीन पुस्तक एकसाथ विमोचन गरिएको छ।
बिहीबार पोखरामा आयोजना गरिएको एक समारोहबीचमा गुरुङ पर्यावरणीय गीत, शिव धर्म र प्रेरणा गरी गुरूङका तीन वटा पुस्तक विमोचन गरिएको हो।
नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको गुरुङ पर्यावरणीय गीतमा गुरुङ समुदायले गाउने परम्परागत गीतहरू समावेश गरिएको छ। यस्तै, शिव धर्म र प्रेरणा पुस्तकमा भने उनले देखेका र भोगेका विषयमा आधारित छ।
पुस्तक विमोचनमा बोल्दै लेखक गुरुङले भाषा र संस्कृति जोगाउन विद्यालयमा स्थानीय भाषामा पढाइ हुनुपर्ने बताए। आफूले लेखेका पुस्तकहरूमा गुरुङ जातिका भाषा, संस्कृति र संस्कार समेत उल्लेख गरेको बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सभा सदस्यसमेत रहेका इन्द्रबहादुर गुरुङ समुदायका पैंडी अर्थात पुरोहित हुन्।
पञ्चायतकालमा तत्कालीन जिल्ला विकास समिति लमजुङका उपसभापतिसमेत रहेका गुरुङ गाउँमा फर्किएका थिए। त्यसपछि उनी राष्ट्रिय अभियान लमजुङका अध्यक्षसमेत रहेका थिए।
२०५३ सालदेखि विशुद्ध अध्ययन र लेखनमा लागेका उनको एक दर्जन पुस्तक प्रकाशित भएका छन्। भूगोलविद् डाक्टर हर्क गुरुङले भाषा, संस्कार र संस्कृतिका विषयमा अध्ययन अनुसन्धानमा लाग्न उनलाई प्रेरणा दिएका थिए।
पुस्तक विमोचनमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति जगमान गुरुङले आफूले जानेबुझेका कुरा लेख्ने बानी बसाउनुपर्ने बताए।
‘मनमा बसेको कुरा मनमै रह्यो भने पाप लाग्छ,’ उनले भने, ‘अहिलेको जमाना भनेको पुस्ता हस्तान्तरणको जमाना हो, यी कुरा भोलि काम लाग्छ।’
यस्तै, संविधान सभा सदस्य जमिन्द्रमान घलेले गुरूङ समुदाय अध्ययन र अनुसन्धानमा पछाडि परेको समेत बताए।
‘हामी न लेख्छौं, न पढ्छौं,’ उनले भने, ‘त्यहि भएर हामी पछि परेका छौं।’
नयाँ पुस्तालाई अध्ययन र अनुसन्धानमा लाग्न प्रेरणा दिनुपर्नेमा उनी जोड गर्छन्।
पुस्तक विमोचनमा बोल्दै कोलासोंथर गाउँपालिकाका पूर्व अध्यक्ष प्रेम घलेले गुरुङ समुदायका भाषा र संस्कृति लोप हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका थिए। कतिपय संस्कार र संस्कृति लेखेर राख्ने काम समेत हुन नसकेको उनको भनाइ छ।
गुरुङ पर्यावरणीय गीत पुस्तकमाथि टिप्पणी गर्दै लेखक गौरी गुरुङले आफ्नो समुदायभित्र रहेका भाषा, संस्कृति र साहित्य उर्जागर गर्न आवश्यक रहेको बताइन्।
‘जंगल जाँदा गाउने गीतदेखि भेडी गोठालाले गाउने गीतहरु पुस्तकमा लिपिवद्ध छन्,’ उनले भनिन्, ‘पर्यवरणका गीतहरु यसरी संकलन गर्नु ऐतिहाँसिक काम हो।’
यस्तै, शिव धर्म र प्रेरणा पुस्तकका बारेमा पत्रकार बद्रिबिनोद प्रतिकले टिप्पणी गरेका थिए।
गिलुङ समाज पोखराका अध्यक्ष आशिष गुरुङले लमजुङको दुर्गम गाउँ गिलुङमा जन्मिएर गुरुङ भाषा, संस्कार र संस्कृतिका विषयमा गुरुङले अथक मेहनत गरेर पुस्तक लेखेको भन्दै आफुहरुलाई गर्व लागेको बताए।