लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले सानो छदाँ घरमा भोटे कुकुर पालेका थिए। कुकुर लामिछानेसँगै सुत्थ्यो। एकदिन उनले साथीकहाँ केही दिनलाई कुकुर छाडे। साथीले सालको काठमा कुकुरलाई बाँधेर राखे। सुन्तला चोर्न आएको मान्छे देखेर कुकुर भुक्यो। त्यो मान्छेले फूलको गमलाले कुकुरको टाउकोमा हिर्कायो। कुकुर मर्यो।
कुकुरलाई राम्रोसँग हेरचाह गर्न नसक्ने साथीकोमा छाडेकोमा उनी अझै पछुतो मान्छन्। शनिबार लामिछानेले आफ्नो किताब 'फुर्के' विमोचनक्रममा भने, 'त्यो घटनाले गर्दा कुकुर पाल्न डर लाग्छ। अझैसम्म पाल्ने आँट आएको छैन।'
भोटेको कुकुरको आत्मकथालाई 'फुर्के' किताबमा प्रस्तुत गरेको उनले बताए। कार्यक्रममा वक्ताका रूपमा आएका क्रिकेटर पारस खड्का, कवि विप्लब प्रतीक र गायक लोचक रिजालले किताब विमोचन गरेका थिए।
कवि प्रतीकले प्राणीलाई माया गरेर ल्याइएको प्रेमिल कथा 'फुर्के' मा रहेको बताए। यो किताबले सबै कुकुरलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउने उनको धारणा छ।
'फुर्केुले आफ्नो कथा खगेन्द्रमार्फत बोलेको छ। खगेन्द्रले मायाको भोका कुकुरहरूलाई स्नेह गरेका छन्। किताबले हामीलाई जनावरप्रति सम्बेदनशील हुन सिकाउँछ,' उनले भने।
यसैगरी, क्रिकेटर खड्काले 'फुर्के' पढेपछि आफूले पालेका कुकुरलाई झन् धेरै बुझ्ने मौका पाएको बताए। आफ्नो दुई कुकुरलाई जेठो र कान्छो छोरा बनाएको बताउँदै उनले कुकुरप्रतिको आफ्नो माया कहिल्यै परिवर्तन नहुने बताए।
कार्यक्रममा प्रकृति भट्टराईले लेखक लामिछानेसँग किताबबारे संवाद गरेकी थिइन्। साथै, गायक लोचन रिजालले दुईवटा गीत गाएका थिए।