साझा प्रकाशनले यही भदौ १९ गतेदेखि आयोजना गरेको पुस्तक प्रदर्शनीमा लक्ष्मीप्रसाद देवकोटाकृत 'राजकुमार प्रभाकर' नामको एउटा पुस्तक फेला पर्यो।
साझाको केन्द्रीय कार्यालय पुल्चोकको प्रदर्शनीमा भेटिएको यो पुस्तक त्यहाँ राखिएकामा सम्भवतः थोरै पृष्ठ भएका मध्येको एक हो। यसमा कुल २० पृष्ठ छन्।
यो खण्डकाव्यझैं लाग्ने कृति पहिलो पटक १९९७ सालमा २५० प्रति प्रकाशित भएको रहेछ। यसको दोस्रो संस्करण २०२४ सालमा साझा प्रकाशनले गरेको रहेछ। कति प्रति प्रकाशित भयो भन्ने उल्लेख छैन।
तस्रो संस्करण २०४० सालमा एघार सय प्रति छापिएको रहेछ। चौथो संस्करण २०५० सालमा एक्काइस सय प्रति छापिएको रहेछ जसको मूल्य साढे पाँच रूपैयाँ छ।
१९९७ सालमा पुस्तकको मन्तव्यमा देवकोटाले 'यो सानो पुस्तिका क्षुद्र प्रयास प्रयास भएता पनि... उपयोगी हुन जाला भन्ने आशाले छपाइदिएको छु' लेखेका छन्।
२०२४ सालको प्रकाशकीयमा क. दी. ले '... उहाँले भने पनि यो सानो पुस्तिकालाई हामी ‘क्षुद्र प्रयास’ मान्न तयार छैनौं' लेखेका छन्।
प्रदर्शनीमा यो पुस्तक तीन रूपैयाँ ८५ पैसामा उपलब्ध छ।
साझा प्रकाशनका सूचना अधिकारी भेषराज घिमिरेले यस्तो प्रदर्शनी केन्द्रीय कार्यालय पुल्चोक र काठमाडौंको बिक्री कक्ष प्रदर्शनी मार्गसहित देशका १३ ठाउँमा आयोजना गरिएको बताए।
घिमिरेका अनुसार प्रदर्शनी सकिने दुई दिनअघिसम्ममा सबै ठाउँमा गरी कुल २० लाख रूपैयाँको पुस्तक बिक्री भएको अनुमान छ।
काठमाडौंबाहिर बिर्तामोड, विराटनगर, धरान, राजविराज, जनकपुर, भरतपुर, नुवाकोट, बुटवल, पोखरा, दाङ, धनगढीमा प्रदर्शनी आयोजना गरिएको छ।
साहित्यका र इतिहासका पुराना किताब खोजी गर्ने र किन्ने पाठकहरू बढी आएको घिमिरेले बताए।
उनका अनुसार पुल्चोकमा 'मुनामदन', 'माधवी', 'घामका पाइला', 'यदुनाथ खनालको जीवनी र विचार', 'प्राचीन नेपालको इतिहास', 'राजसत्ता' र 'नेपाली राजनीति'बढी बिक्री भएका छन्।
'व्युत्पतिमूलक संकृति नेपाली शब्दकोश' पनि बढी बिक्री हुने पुस्तकमा परेको छ। श्रीमद्भगवत् महापुराणको नेपाली कथा पनि निकै बिक्री भएको छ। घिमिरेले पाठकहरूले डोरबहादुर बिष्टको 'रिपोर्ट फ्रम ल्हासा' पनि धेरै किनेको बताए।
उल्लिखित शब्दकोशबाहेक सबै पुस्तकको मूल्यमा ३० प्रतिशत छुट दिइएको छ। शब्दकोषमा भने २५ प्रतिशत छुट छ।
प्रदर्शनीमा साझा प्रकाशनले प्रकाशित गरेका नेपाली भाषा, साहित्य, इतिहास र अन्य अन्य क्षेत्रका निकै पुरानादेखि नयाँ पुस्तकहरू राखिएका छन्। सूचना अधिकारी घिमिरेले प्रदर्शनीमा युवा पाठकहरू बढी आएको बताए।
प्रदर्शन भोलि, भदौ ३१ गते सकिँदैछ।