न्युरोसर्जन डाक्टर उपेन्द्र देवकोटा पित्तनलीको क्यान्सरका कारण बिते। पैसा, प्रज्ञा र शक्ति के थिएन र उनीसँग? ठीक हुन्थ्यो भने जहाँ गएर पनि उपचार गराउन सक्ने हैसियत राख्थे। दुर्भाग्य - हरेक हिसाबले सबल हुँदाहुँदै पनि क्यान्सरले कमजोर तुल्यायो उनलाई। लम्ब्याउन सकिएन उनको आयु।
हृदय नजिकको साथी अनि कुशल प्राज्ञिक व्यक्तिको मृत्युले निकै घोचेको थियो डाक्टर भगवान कोइरालालाई। प्रश्न कसतर्फ तर्फ सोझ्याउने?, उनी प्रस्ट थिएनन्। त्यसैले आफैसँग सोधिरहे – उपचार सम्भव भएको रोगकै कारण ज्यान गुमाउन बाध्यहरूको स्थिति झन् कस्तो होला?
डाक्टर कोइरालाले सबैभन्दा नजिकबाट देखेको मुटुका बिरामीहरू हुन्। तीन दशक लामो चिकित्सकीय यात्रामा उनले हरेक खालका उतार चढाव देखे। नीतिगत, व्यवस्थापकीय अनि व्यवहारिक समस्याहरू भोगे। उनलाई फतक्कै गलाएको चाहिँ कलिला बालबालिकाको मृत्युले हो जसको मुटुलाई चाहेर पनि ढुकढुकी दिन सकेनन्।
जन्मजात मुटुको समस्या अजङ्ग पहाडजस्तो हो। जब उनीहरू निर्दोष आँखामा ठीक हुने आशा बोकेर आउँछन् तब आफ्नो काँधमा ठूलो जिम्मेवारी आएको महसुस गर्छन् भगवान।
“हजारौँ बालबालिकाको मुटुको शल्यक्रिया गरे पनि हरेकपटक नयाँ चुनौती थपिएजस्तो हुन्छ। किनकि उनीहरूको मुटुको सानो प्वालसमेत साह्रै जटिल हुन्छ,” डाक्टर कोइराला प्रस्ट्याउँछन्। टक्क रोकिन्छन्। अनि फेरि जोड्छन् सन्दर्भ, ”जति जटिल समस्या भए पनि बच्चाको हकमा हरेक प्रयासले महत्त्वपूर्ण अर्थ राख्छ।”
१९९० को दशकको अन्त्यतिर टोरन्टोस्थित विश्वकै उत्कृष्ट बाल अस्पतालहरूमध्ये एक – “हस्पिटल फर सिक चिल्ड्रेन”मा पाएको तालिमको अवसरले उनलाई साना नानीहरूसँग नजिक बनायो। बालबालिकाहरूको स्वास्थ्यप्रति आफ्नो चासोकै कारण उनी अमेरिकाको तालिम अवधि छोट्याएर त्यता हान्निएका थिए।
न जीवनबारे बुझाइ न त मृत्युको भय। शरीरसँगै रोगको बोझ बोकेर हिँडिरहेका ती अवोधहरूको पीडालाई उनले आफ्नो सङ्घर्षको पहाड माने। जसलाई छिचोल्न उनले आफ्ना औँलाहरूलाई सम्हालेर चलाउन सिके।
क्यानडामा रहँदा झाँगिएको बालबालिकासँगको निकटता कहाँ त्यसै पातलिन्थ्यो? त्यहाँ अभ्यास गरेको संवेदनशीलता फर्केर नेपालमा काम गर्दा प्रयोग गरे। साना नानीहरूको प्वाल परेको, बाङ्गाटिङ्गा भएको वा तल माथि सरेको मुटुलाई उस्तै सम्हालिएर ठीक बनाउन थाले।
“बालबालिकाको निश्चलता र उनीहरूले नबोली जताउने हार्दिकताले मलाई सधैँ विभोर बनायो। हरेक पटक कुनै बिरामी बच्चा ठीक भएर घर फर्कँदा मलाई लाग्थ्यो- यो उमेरका हरेकले जीवन भोग्न पाउनु पर्छ,” डा. कोइरालाले सुनाए।
इच्छाशक्ति र मेहनतका बावजुद् उनलाई बोध थियो- सीमितता बीच प्रयास भइरहेको छ। नेपालको स्वास्थ्य प्रणाली बालबालिका मैत्री नभएको उनी ठान्छन्। वयस्क केन्द्रित अस्पतालहरूमा बालबालिकाको उपचार गर्नु बाध्यता हो। अस्पतालको भौतिक संरचनादेखि जनशक्ति बालबालिकाका लागि उपयुक्त नहुन सक्थ्यो। विदेशमा सरह बाल मनोविज्ञान र उनीहरूको भावनात्मक पाटोमा ध्यानमा राख्नु त अझ परको कुरा।
नेपालमा सरकारी बाल अस्पताल एउटा मात्र छ। सुगमदेखि दुर्गमका अभिभावक छटपटाइ रहेको नानी काखमा च्यापेर वा भुईँमा छोडेर टिकटको लाममा बस्नु पर्ने बाध्यता तीतो यथार्थ हो। एउटै शय्यामा पाँच जना बालबालिका राखेर उपचार गरिरहेको विषय आज पनि समाचारको शीर्षक बन्छ। निकै सामान्य शल्यक्रियाको लागि एउटा अभिभावकले आफ्नो सन्तानको ज्यान जोखिममा राखेर महिनौँ पालो पर्खनु पर्ने वाध्यता आज पनि यथावत् छ।
निजी अस्पतालहरू विकल्प हुन्। तर, छोराछोरी बाँचेको देख्न चाहने सबै आमाबुवासँग उपचारका लागि पैसा हुँदैन। सुदूरको कुनै गाउँको बच्चा एक पुरिया जीवनजल अभावको कारण मर्छ। किड्नी बिग्रिएको सन्तानलाई काँधमा बोकेर सदरमुकाम झर्ने बाबुले थकाइ मार्न पाउँदैनन्। आमासँग आशामात्र हुन्छ।
“ती पैसा र पहुँच नहुनेहरू त स्वास्थ्य सेवाबाट वञ्चित छन्। बालरोग उपचारको क्षेत्रमा केही काम गर्न सके उनीहरूका लागि योगदान हुन्थ्यो भन्ने सधैँ लाग्यो,” भगवानले एउटा लक्ष्य कसरी विजारोपण भयो सुनाए।
तर, बालरोगको अर्थ मुटुको समस्या वा शल्यक्रिया मात्र पक्कै होइन। शरीरको एउटा मात्र अङ्ग ठीक पारेर उनीहरू स्वस्थ हुँदैनन् भन्ने पाँच हजारभन्दा बढी बालबालिकाहरूको मुटुको शल्यक्रिया गरेका कोइरालालाई थाहा छ।
उमेर घर्कँदै जाँदा डा. कोइरालाको अनुभव निखारिँदै गयो। अनुभवसँगै दक्षता र आत्मविश्वास बढ्दो थियो। आफूले मुटु निको पारेर पठाएको फुच्चे केटो इन्जिनियर बनेर भेट्न आउन थाल्यो। पर कतैबाट कसैले फोन गरेर भन्यो- “म तपाईँले ठीक पारेको बिरामी। गाउँमा मोबाइलको नेटवर्क टिप्न थालेको छ। तपाईँलाई सम्झिएर फोन गरेको।”
यो सबै भइरहँदा उनलाई सधैँ लागिरह्यो - अब समय धेरै छैन।
सधैँ सरकारी स्वास्थ्य प्रणाली बलियो बनाउन लागि परेका उनी उमेरको पाबन्दीमा छन्। सेवा निवृत्त भएपछि पनि विज्ञका रूपमा आफ्नो वैचारिक योगदान पुर्याउने ठाउँ रहला तर आफू जोडिएर परिवर्तनका लागि हस्तक्षेप गर्न पाउने छैनन्। नेपालमा ओपन हार्ट सर्जरी सुरुवातको श्रेयदेखि गङ्गालाललाई मुटु अस्पताललाई अब्बल केन्देरका रूपमा स्थापित गर्ने श्रेय पाएका डा. कोइरालालाई थप केही गर्नु छ। त्यो पनि बाल रोगकै क्षेत्रमा।
के गर्ने? भन्ने प्रश्नले लखेट्दै गर्दा उनले बहु विशेषज्ञ सेवासहितको स्तरीय बाल अस्पतालको कल्पना गर्न थाले। त्यस कल्पित खाकामा “समतामूलक” सेवाको अवधारणा जोडिएरै आएको थियो।
“चिकित्सकको रूपमा मैले भोगेको कठिनाइ, भोगाइ र पीडाबाट उब्जिएको योजना थियो त्यो। जुन पूरा हुन ठूलो स्रोत र साधन आवश्यक थियो। जीवनभर सरकारी अस्पतालको तलबमा निर्भर मैले त्यो कल्पनालाई मूर्त रूप दिन सक्छु भन्ने ठानेको थिइनँ,” डा. कोइराला सुनाउँछन्।
अभाव नछिचोलेसम्म भगवान कोइरालाको एउटा योजना सपनामै सीमित रहने निश्चित थियो।
समाउन सकिने आशाको त्यान्द्रो तब देखियो जब भूकम्प पछाडि सहयोगार्थ नेपाल भ्रमणमा आएकी हल्यान्डकी एक समाजसेवीले उनलाई सोधिन्- “नाम, इज्जत, प्रतिष्ठा सबै कमाइ सकेका छौ। अबको तिम्रो ‘ड्रिम प्रोजेक्ट’ के छ त?”
सपनाकै कुरा त सुनाउनु थियो। कोइरालाले धक मानेनन्। दिमागमा खाका बनिसकेको त्यो ठूलो अस्पतालबारे सुनाए जसको छातामुनि हरेक किसिमको रोगविरुद्ध लडिरहेका बालबालिकाहरू उपचाररत हुन्छन्। हरेक बालरोग विज्ञहरू सेवारत हुन्छन्। पैसा तिर्न सक्नेहरूले त्यहाँ केही रकम तिरेरै उपचार गर्लान्। पैसा नहुनेहरूका लागि कुनै बाध्यकारी नियम हुने छैन।
हल्यान्डकी ती समाजसेवी प्रभावित भइन् र उनको योजनाको कलिला पखेटामा प्वाँख भरिदिइन्। भनिन् - “अस्पताल बनाउन केही स्रोत सङ्कलन गर्न म सहयोग गर्न सक्छु। तिमी आँट गर।”
उड्ने प्रयास थाल्नु डा. कोइरालाको पाटोको कुरा। समय लगाएनन्, विचार र उद्देश्य मिल्दा केही साथीहरूसँग मिलेर काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नामक गैर नाफामूलक संस्था दर्ता गरे। हल्यान्डमा व्यक्ति होइन संस्थाको प्रतिनिधि बनेर पुगे। केही आश्वासन र धेरै प्रेरणा बोकेर फर्किए।
काठमाडौँमा विशिष्टिकृत अस्पताल त बनाउने तर त्यसले आम मानिसको समस्या समाधान होला त?
आत्मसमीक्षा पछि उब्जिएको यस्तो प्रश्नबारे निक्कै घोत्लिएको डा. कोइराला सुनाउँछन्।
“राजधानीमा आफूले चाहेजस्तै अस्पताल बनाउनुले मेरो रहर त पूरा गर्थ्यो होला तर साँच्चै केही गर्ने हो भने प्रभाव पर्ने गरी गर्नु पर्थ्यो,” उनले सुनाए।
प्रभावकारिताको मापन राजधानी वा ठूला सहरबाहेक अन्यत्र रहेका बालबालिकाहरूको सहज र सबल उपचार पहुँचले निर्धारण गर्थ्यो। त्यसैले काठमान्डुको विशिष्टिकृत एक अस्पतालबाहेक अन्य ६ वटा प्रदेशमा सामान्य बाल अस्पतालको अवधारणा अघि सारे।
चन्दा उठाएर बाल अस्पतालको सञ्जाल स्थापना गर्ने उद्देश्य राख्नुलाई धेरैले बहुलट्ठीपनको संज्ञा नदिएका पनि होइनन्। यद्यपि, उनको कल्पना एउटा समूह र संस्थाको लक्ष्य बनिसकेको थियो। उनीहरूले आर्थिक सहायताको सम्भावित ढोकाहरू ढकढकाउन थालिसकेका थिए।
त्यसै क्रममा कोरोनाभाइरसको महामारी आइदियो। विश्व ठप्प बन्यो। स्थगित रह्यो अस्पतालको काम पनि। त्यतिबेला जोडतोडका साथ केही चलिरहेको थियो भने डा. कोइरालाको आत्मकथा “हृदय”माथिको कलम।
किताब तयारीको क्रममा डा. कोइरालाले ठाने - आत्मकथाबाट प्राप्त हुने रोयल्टीको आधा अंश अस्पतालकै निम्ति खर्चन्छु।
प्रतिष्ठित एवं सम्मानित व्यक्तित्वको पुस्तक कम्तीमा २० हजार प्रति बिक्री हुने फाइनप्रिन्टको आँकलन हो। जस अनुरूप पुस्तकको मूल्य पाँच सय राख्दा करिब २० लाख रुपैयाँ डा. कोइरालाले प्राप्त गर्लान्। तर, एक अर्बभन्दा बढी खर्च अनुमानित अस्पताल निर्माण प्रक्रियामा उनको हातमा पर्ने रकमको केही अंशले कति नै बलियो खटको काम गर्थ्यो र?
उनीसँगको नियमित छलफलका क्रममा वर्तमानदेखि भविष्यसम्मै हजारौँ बालबालिकाले लाभ प्राप्त गर्ने त्यस अस्पतालका लागि उनको पुस्तक र प्रकाशकका रूपमा फाइनप्रिन्ट कसरी सारथी बन्न सक्छ? विमर्श चल्यो। निष्कर्ष रह्यो- पुस्तकको विशेष संस्करणमार्फत् जोडिने।
सीमित प्रति छापिने त्यस संस्करणको सम्पूर्ण रकम अस्पतालका हुने ठहर भयो।
“सबैभन्दा कठिन चाहिँ- कति प्रति छाप्ने र कति मूल्य राख्ने भन्ने विषयमा भयो। किनकि लेखक, उनको योजना र प्रकाशकमाथि आम पाठकको विश्वाससँग जोडिएको विषय थियो,” फाइनप्रिन्टका प्रमुख कार्यकारी निर्देशक नीरज भारी भन्छन्।
अन्ततः अस्पतालको एउटा विभाग बन्न लाग्ने खर्चबारे बुझ्दा कम्तीमा पाँच करोडको आँकलन गरियो। सोही अनुरूप एउटा विभाग निर्माणका लागि पुग्दो हिसाब बराबर पच्चिस सय प्रति पुस्तक २५ हजार रुपैयाँमा बेच्ने लक्ष्य तय भयो।
“महत्त्वाकाङ्क्षी सुनिनसक्छ तर हुर्की नसकेको बच्चालाई जीवन दिने योजनामा मिल्नु हाम्रो जिम्मेवारी थियो। त्यो जिम्मेवारी वहन गर्न चाहने र सक्नेहरू जोडिन्छन् भन्ने भरोसाको आधारमा हामीले यो निर्णय गर्यौँ,” भारीले भने।
तय गरिएको सङ्ख्याको विशेष संस्करणको एक पटक मात्र छापिने छ। क्रम सङ्ख्या अङ्कित ती पुस्तकहरूलाई लेखक स्वयंले प्रमाणीकरण गर्ने छन्। डा. कोइराला स्वयंले खरिदकर्ताको नाम र आफ्नो हस्ताक्षर उल्लेख गर्नेछन्।
पुस्तक प्रकाशनदेखि ढुवानीसम्मको कुनै पनि खर्च पाठकले तिर्ने रकमबाट नकटाइने प्रकाशक फाइन प्रिन्टले जनाएको छ। भलै, एक हजार प्रति पुस्तकको खर्च प्रकाशकको भए पनि बाँकी रकम अस्पताल बनाइरहेको संस्थाले जुटाउने छ। यो पुस्तकप्रति अपनत्व र जिम्मेवार महसुस गर्ने, गराउने प्रयास हो।
अनि, हृदयको विशेष संस्करण मात्र छापिने भने होइन। नियमित संस्करण पनि हरेक पाठकसम्म पुग्नेछ। र, त्यसको ५० प्रतिशत रोयल्टी डा. कोइरालालाई र ५० प्रतिशत काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई जानेछ।
“हृदय पढ्ने हरेक पाठकको निर्माणाधीन बाल अस्पतालमा लगानी हुनेछ। उहाँहरू हरेकले कम्तीमा एउटा इँटाको लागि योगदान पुर्याउनु हुनेछ। प्रकाशकको रूपमा हाम्रो लागि यो गौरवान्वित कुरा हो,” निरज भारी भन्छन्।
यसरी देशको स्वास्थ्य प्रणाली र सेवासँग सम्बन्धित योजनामा पुस्तक र पाठक जोडिनुलाई सुखद मान्छन् भगवान कोइराला। ”आखिर देशको भविष्य स्वास्थ्य र शिक्षामा गरिने लगानीमा निहित छ। हामीले पुस्तकमार्फत यी दुवै क्षेत्रमा धेरथोर लगानीको जमर्को गरेका हौँ,“ भगवानले भने।
हृदयले लगनशील, मेहनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन। उनको व्यवस्थापकीय गुणको चर्चा गर्छ। यस संस्मरणात्मक कृतिले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाहरूबारे प्रस्ट्याउने फाइन प्रिन्टले जनाएको छ।