तीन दशकदेखि मुटु उपचारमा संलग्न डाक्टर भगवान कोइरालाको पुस्तक 'हृदय' को विशेष संस्करण सोमबार लोकार्पण गरिएको छ।
डाक्टर कोइरालाको आत्मसंस्मरण कृतिको विशेष संस्करण एकपटकका लागि २५ सय प्रति मुद्रण गरिएको र यसको मूल्य २५ हजार रूपैयाँ रहेको प्रकाशक फाइनप्रिन्टले जनाएको छ।
यसबाट प्राप्त हुने शतप्रतिशत रकम काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच) निर्माणमा खर्च गरिनेछ भने यो संस्करण किन्ने २५ सय जनाको नाम अस्पतालको शिलालेखमा समावेश गरिनेछ।
डा. कोइरालाले शल्यक्रिया गरेका दुई बालबालिकाले 'हृदय' को विशेष संस्करण लोकार्पण गरेका थिए। तेह्र वर्षका सौरभजंग केसीको दुई वर्ष उमेरमा र १३ वर्षकै एलिजा चन्दको १० वर्ष उमेरमा शल्यक्रिया भएको थियो। अहिले उनीहरू स्वस्थ छन्।
तर नेपालमा जन्मिने प्रत्येक सय बालबालिकामध्ये तीन जनाले आधारभूत स्वास्थ्य सेवा र बेलैमा उपचार नपाउँदा आफ्नो पाँचौं जन्मदिन देख्न पाउँदैनन्। बाल स्वास्थ्य सेवाको यही समस्याका कारण आफूले विशिष्टीकृत बाल अस्पतालको खाका कोरेको डा. कोइरालाले बताएका छन्।
काठमाडौंमा त्यस्तो विशिष्टीकृत केन्द्रीय अस्पताल 'काठमाडौं इन्स्टिच्यूट अफ चाइल्ड हेल्थ' का रूपमा निर्माणाधीन छ। डा. कोइराला र बाल स्वास्थ्यमा समर्पित समूहले काठमाडौंसँगै सातै प्रदेशमा बाल अस्पताल निर्माणको लक्ष्य लिएको छ। पहिलो प्रदेश शाखाका रूपमा झापाको दमकमा अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ।
कोइरालाका अनुसार बाल अस्पतालमा बालबालिकाका लागि सबै किसिमका स्वास्थ्य सेवा एकीकृत रूपमा उपलब्ध हुनेछ।
कोइरालाको यही लक्ष्यलाई सानै स्तरमा भए पनि सघाउने उद्देश्यले उनको पुस्तक 'हृदय' को विशेष संस्करण प्रकाशन गरेको फाइनप्रिन्टका निरज भारीले बताएका छन्।
विशेष संस्करणलाई डा. कोइराला आफैंले प्रत्येक पुस्तकमा क्रमसंख्या अंकित र हस्ताक्षर गरी प्रमाणित गरेका छन्।
फाइनप्रिन्टले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार पुस्तकको नियमित संस्करण असोज पहिलो सातादेखि बजारमा उपलब्ध हुनेछ। नियमित संस्करण काठमाडौंका लागि प्रतिपुस्तक ६ सय ५० र काठमाडौं बाहिरका लागि ५ सय ७५ रूपैयाँमा उपलब्ध हुने विज्ञप्तिमा छ।
नियमित संस्करणको पनि ५० प्रतिशत लेखकस्व बाल अस्पताल निर्माण कोषलाई हस्तान्तरण गर्ने डा. कोइरालाले निर्णय गरेका छन्।
'निर्माणाधीन बाल अस्पतालमा 'हृदय' पढ्ने हरेक पाठकको लगानी हुनेछ। गंगालाल मुटुका लागि भरपर्दो संस्था बनेझैं बालबालिकाका लागि किओच हुनेछ भन्ने हाम्रो विश्वास छ,' भारीले भनेका छन्।
डाक्टर कोइरालाले जीवनमा भोगेका संघर्षका अनुभव, उनले देखेका स्वास्थ्य क्षेत्रका समस्या सुल्झाउने उपाय र चिकित्सा शिक्षाका विविध विषयलाई विश्लेषणात्मक ढंगमा पुस्तकमा समेटिएको छ।
यो किताबले लगनशील, मिहिनेती र कुशल चिकित्सकको कथा मात्र भन्दैन, कोइरालाको व्यवस्थापकीय गुणको चर्चा पनि गर्छ। यसले नेपालको चिकित्सा क्षेत्रका समस्या, समाधान, उपलब्धि र सम्भावनाबारे प्रस्ट्याउने फाइनप्रिन्टले जनाएको छ।