राष्ट्रपति विद्यादेवी भण्डारीले लेखक तथा फोटाग्राफर भरतबन्धु थापाको नेपाल इन इमीजेज तस्बिर पुस्तक सार्वजनिक गरेकी छन्।
पुस्तक सार्वजनीक गदै राष्ट्रपति भण्डारीले यो पुस्तकले देश भित्र तथा विदेशमा नेपाली कला संस्कृती तथा नेपालको भौगोलिक सुन्दरताको विषयमा जानकारी दिने बताइन्।
‘यस पुस्तकले नेपालको पर्यटन तथा संस्कृतिलाई स्वदेश तथा विदेशमाझ पुर्याउन मद्धत गर्ने मैले विश्वास लिएको छु’, राष्ट्रपति भण्डारीले भनिन्।
कार्यक्रममा पर्यटन मन्त्री जीवनराम श्रेष्ठले नेपाल इमीजेज पुस्तक नेपाल चिनाउने आँखीझ्याल भएको बताए। यो पुस्तकले नेपालको पर्यटन क्षेत्रमा केही टेवा पुर्याउनेमा आफू आशावादी रहेको बताए।
पुस्तकको विषयमा बोल्दै नेपाल प्रज्ञा पतिष्ठानका कुलपति गंगाप्रसाद उप्रतीले नेपालका सातै प्रदेशको भौगोलिक सुन्दरता तथा त्यहाँको वस्तुस्थिति यस कितावमा समेटिएको बताए।
नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको थापाको फोटो पुस्तकमा सिंगो नेपाललाई तस्बिरमा हेर्न सकिन्छ। नेपालको सुदूरपूर्वको ओलाङ्चुङगोलादेखि सुदूरपश्चिमको कालापानीसम्म र उत्तरमा सगरमाथादेखि दक्षिणमा जानकी मन्दिर सम्मका तस्बिहरू समावेश गरिएको छ। यस्तै हिमाल, पहाड, तराई र काठमाडौं उपत्यका भित्रका महत्वपूर्ण धार्मिक एवं ऐतिहासिक र प्राकृतिक सम्पदालाई पुस्तकमा समेटिएको छ।
नेपालको भौगोलिक सुन्दरता, पुरातात्विक गौरव, ऐतिहासिक गरिमा र धार्मिक तथा पर्यटकीय दृष्टिले उच्च महत्व राख्ने ५ सयभन्दा बढी रंगीन तस्बिरहरू पुस्तकमा समेटिएको लेखक थापाले जानकारी दिए।
पुस्तकमा सात प्रदेशलाई सात खण्डमा विभाजन गरी प्रत्येक प्रदेशको परिचयसहित प्रदेश चिनाउने धार्मिक, ऐतिहासीक, प्राकृतिक, सांस्कृतिक विषयवस्तुको जानकारीसहित तस्बिरहरू समावेश गरिएको थापाले बताए।
'नेपाल चिन्न चाहनेहरूले एउटै किताबमा यसका प्रमुख दृश्यहरू देखून् र प्रमुख विशेषताका बारेमा थाहा पाऊन् भन्ने मेरो उद्देश्य थियो। त्यसैले म धेरै समयदेखि यो किताबमा काम गर्दै आएको थिएँ,' थापाले भने, 'हुन त नेपाल यति विशाल छ, ३२० पानाको किताबमा सिँगो देश अटाउन सकिँदैन। तर मैले यो किताबमा आफूले जानेसम्म देशका विविध सम्भावनालाई समेट्ने प्रयास गरेको छु।'
उनले अगाडि भने, 'यो सुरूआत मात्र हो। आगामी दिनमा यो किताबलाई अझै परिस्कृत गर्दै लैजाने मेरो योजना छ।'
भरतबन्धुको पहिलो किताब ‘वाइल्ड वेस्ट नेपाल’ सन् २०१३ मा प्रकाशन भएको थियो। उक्त किताबमा उनले सुदूर र मध्यपश्चिम क्षेत्रको जनजीवन, संस्कार, संस्कृति र प्रकृति तस्बिरमा उतारेका छन्। यसमा शैपाल, अपी, कञ्चनजंघा हिमाल, दूधकुण्डली, गुरिल्ला ट्रेल, यार्चागुम्बा ट्रेल, डोल्पो, हुम्ला, खप्तड, शुक्लाफाँटा, दैलेखको अखण्ड ज्वाला, रारा, स्वर्गद्वारी लगायत ठाउँका तस्बिर समेटिएका छन्।
बर्दियाको पर्यटकीय नक्सा प्रकाशनमा पनि भरतबन्धुको भूमिका छ। तस्बिरमार्फत् मूर्त र अमूर्त दुवै खालका संस्कृति र सम्पदा प्रवर्द्धन गरिरहेका उनले ‘गन्तव्य कर्णाली’ किताब पनि निकाले जसमा कर्णाली प्रदेशका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक विविधताको विवरण तस्बिरसहित समावेश छ।
उनले भक्तपुरको मध्यपुर थिमि क्षेत्रका पुरातात्विक तथा पर्यटकीय स्थलहरूको तस्बिर पुस्तक ‘गन्तव्य मध्यपुर थिमि’ केही समयअगाडि प्रकाशन गरे। मध्यपुर थिमि नगरपालिकाभित्रका सांस्कृतिक, धार्मिक एवं जीवनशैलीबारे १० महिना लगाएर उक्त पुस्तक तयार पारेको उनी बताउँछन्।
हार्ड कमभरमा रहेको ३ सय ३० पृष्ठ रहेको पुस्तकको मूल्य २ हजार ३ सय ९५ रूपैया रहेको छ।
यो पनि हेर्नुहोस्
मुलुक छिचोल्ने भरतबन्धुका २८ तस्बिरमा नेपाल