लेखक जीवनकुमार प्रसाईंको पुस्तक 'धेरैको धपेडी' सार्वजनिक भएको छ।
नजिकिँदै गरेको नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै लेखक प्रसाईंले पुस्तक सार्वजनिक गरेका हुन्।
उनले स्वास्थ्य र जीवनशैलीका अन्तरवस्तुलाई केलाएर सुखमय तरिकाले बाँच्ने सुत्र पस्कँदै आएका छन्।
'धेरैको धपेडी'मा उनले बढ्दो उपभोक्तावादले जनस्वास्थ्य, सामाजिक जीवन र वातावरणमा के कस्तो प्रभाव पारिरहेको छ भन्ने विषयलाई उठाएर यस विषयमा वैज्ञानिक तथ्यहरूलाई सबैले बुझ्ने गरी सरल भाषामा व्याख्या गरेका छन्।
दसैं नजिकिँदै गर्दा यतिबेला हामी खानपीनदेखि लिएर वस्तुको संकलनमा असाध्यै केन्द्रित हुन्छौं। त्यसमाथि पछिल्लो समय हामीले 'के' र 'कति' भन्दा पनि 'सकेसम्म धेरै' भन्न थालेका छौं। यो 'धेरै'ले उत्पन्न गर्ने 'धपेडी' र त्यसले खोस्दै लगेको हाम्रो सुखमय जीवनकै सेरोफेरोमा पुस्तक प्रवेश गरेको छ।
'मानव समाज यतिबेला धेरैभन्दा धेरै उत्पादन र उपभोग गरेर जीवन सम्पन्न र सुखी हुन सक्छ भन्ने उपभोक्तावादी सोचतर्फ अग्रसर हुँदै गएको देखेपछि यस विषयमा आफूले जानेका कुरा पाठक समक्ष राख्न चाहेको हुँ,' लेखक प्रसाईंले भने।
उनका अनुसार यो प्रवृत्तिले नै आज मानिस र वातावरण बीचको सन्तुलन पनि खल्बल्याउँदै लगेको छ। यसको परिणाम मधुमेह, हृदयरोग, क्यान्सरजस्ता दीर्घरोगहरू दिन प्रतिदिन महामारीको रुपमा फैलँदै छन्। त्यसैगरि प्रदुषण, वैश्विक उष्णीकरण अनि वातावरणीय विनाशले संक्रामक रोगहरूमा नियन्त्रण पाउन कठिन हुँदै गइरहेको छ।
पुस्तकमा यिनै कुराहरू वैज्ञानिक तथ्यका आधारमा आम पाठकलाई चार अध्याय 'कम हुँदैन थोरै', 'जीवनको जतन', 'शरीरको सामर्थ्य' र 'परम्परा, सम्पदा र स्वास्थ्य' मार्फत् पस्किने प्रयत्न गरिएको छ।
लेखक प्रसाईंका 'जीवन जिउने काइदा', 'सधैँ तन्नेरी' र 'वरिपरि नै सर्वोपरी' गरेर तीन वटा पुस्तक पब्लिकेशन नेपालयबाट प्रकाशित भइसकेका छन्।
दुई सय २८ पृष्ठ लामो 'धेरैको धपेडी' पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ। पुस्तक देशका सबै प्रमुख पुस्तक पसलहरूमा उपलब्ध रहने छ। ईबुकको प्रतिलिपि 'थुप्रै डट कम'बाट पनि किन्न सकिन्छ। यो पुस्तक विश्वव्यापी रूपमा भने 'अमेजन'मार्फत् उपलब्ध हुनेछ।