साहित्यकार तथा निर्देशक प्रकाश आङदेम्बेको अंग्रेजी भाषाको नाट्यकृति 'लेप्मुहाङ' र गजलकार थुक्तेन डुक्पाको गजलकृति 'फर्केर पूर्व' डेनमार्कमा विमोचन भएको छ।
केही दिन अगाडि एक भव्य कार्यक्रम गर्दै मिडलफर्ट, डेनमार्कमा दुई कृति एकसाथ विमोचन गरिएको हो।
एसोसिएसन अफ भुटनिज कम्युनिटिज इन डेनमार्क र अन्तर्राष्ट्रिय साहित्य समाज डेनमार्क च्याप्टरको संयुक्त आयोजनामा गरिएको कार्यक्रममा आफ्नो मन्तव्य राख्दै कृतिकार प्रकाश आङदेम्बेले भने, 'हामी अहिले यस्तो देशमा उभिएर हाम्रो कृति विमोचन गरिरहेका छौं, जहाँ संसारको जुनै भूगोलबाट ल्याएको सामान, ढुंगा, रुखहरूको समेत रेकर्ड, इतिहास राखिन्छ। त्यस्तो देशमा उभिइरहँदा हामीले सम्झनु पर्छ हामीले रुख र ढुंगा जति पनि आफ्नो पहिचान जोगाउन सकेका छौं कि छैनौ?’
त्यस्तै गजलकार डुक्पाले भने, 'नेपाली भाषामा मेरो ठूलो ज्ञान छैन तर यो भाषाको असाध्यै माया लाग्छ। यी सृजनाहरू ज्ञानले होइन सायद मनले लेखें।'
कार्यक्रमका प्रमुख अतिथि एनआरएन डेनमार्कका अध्यक्ष शैलेन्द्र अधिकारीले पनि दुवै कृतिकारलाई बधाई दिए।
'लेप्मुहाङ' लिम्बू जातिको मिथकीय पात्र हुन्। वर्तमान संसारको सृष्टि उनले गरेको कथ्य मुन्धुममा उल्लेख छ। तर आज मानिसहरू अह्म, स्वार्थको चंगुलमा यति निकृष्ट भइसके कि लेप्मुहाङ स्वयम् सम्झाउनलाई प्रकट भए पनि उसैलाई लखेट्न सक्छन् भन्ने व्यङ्ग्य छ।
त्यसैगरी 'फर्केर पूर्व'मा गजलकारले आफैले भुटानी शरणार्थी अवस्थामा भोगेका कथा, व्यथा, भुटानी निरङ्कुश शासनप्रतिको विद्रोह, डेनमार्क पुर्नवास भएपछिको मानसिक अवस्था र केही प्रेम प्रसङ्गका गजलहरू समावेश गरेका छन्।
'लेप्मुहाङ' कृतिलाई द नेशन्स फ्यालङस् अमेरिका र 'फर्केर पूर्व'लाई गजल मञ्च भुटानले प्रकाशन गरेको हो।