साहित्यकार गीता रेग्मीको नियात्रा विधाको तेस्रो सन्तान 'प्रशान्तको तीरैतीर' प्रकाशन भएको छ। यो नियात्रा पढ्ने अवसर मिल्यो। हुन त पुस्तक विमर्शका बहुआयामिक दृष्टिकोण हुन्छन्। यहाँ स्रष्टासापेक्ष कृतिको केही सन्दर्भ र कृतिप्रतिको अन्तर्मन्थन प्रस्तुत गरिएको छ।
एक देश एक महादेश रहेको अस्ट्रेलिया भ्रमण सन्दर्भका विषय, प्रसङ्ग र अनुभूतिलाई 'प्रशान्तको तीरैतीर'मा समेटिएको छ। नेपालबाट विभिन्न प्रयोजनमा अस्ट्रेलिया गएकाहरूको जीवनदर्शन यो कृतिमा पाइन्छ। विदेश गएर सुन्दर सपना साकार बनाउनेहरूले देखेजस्तो नभई भोगेजस्तो जीवनको प्रस्तुति पाइन्छ। प्रशान्तको तीरैतीरमा अस्ट्रेलियाको सांस्कृतिक, प्राकृतिक, धार्मिक एवम् भौगोलिक सन्दर्भका विषय उठान गरिएको छ। त्यसैगरी यात्रा क्रममा देखेका र भोगेका कतिपय विषयहरूको नेपाल सान्दर्भिक फ्ल्यासब्याक र परिचर्चा पाइन्छ।
यो नियात्रा लेखनको नवीन प्रवृत्ति हो। यस नियात्रामा प्रतिभाहरूको दैनिक पलायन र अस्ट्रेलिया प्रवेश गर्दैगर्दा उनीहरूका सपनाहरूको समीचीन विषय समेटिएको छ। प्रेम प्रतिको धारणा, मृत्यु प्रतिको मानव चेतना, उपभोत्तावादी संस्कृतिका बहुआयाम आदि आधारमा प्रशान्तको तीरैतीरको पाठकीय यात्रा सम्भव देखिन्छ। नियात्रामा प्रस्तुत गज्जबका छुस्के दर्शनहरू पठन यात्राका उत्प्रेरक हुन भन्ने मेरो अनुभूति हो।
कङ्गारुको देशमा मान्छे किन स्थानान्तरण हुन्छन्? सायद विकसित देश, परिस्कृत चिन्तन र सुखमय जीवनयापन प्रमुख अभीष्ट हुनुपर्छ। तर त्यो सर्वमान्य यथार्थ नभएको तथ्य नियात्रामा सार्वजनिक छ। हुन त समाज विकासको आदिम चरणमा पुनलुवा परिवार वा कविला संस्कृतिमा पनि उत्तेजनाभन्दा भावना नै प्रमुख बन्थ्यो।
नेपाली परिवार र समाजको संरचना र लोक संस्कृतिलाई हेर्दा खण्डकाव्य मुनामदनका मुना र मदन आदर्श पात्र हुन्। त्यो पृष्ठभूमि अर्थात् संस्कृतिबाट विमुख भएर सम्बन्ध, स्थान र धर्म समेत परिवर्तन गर्ने संस्कृति मौलाएको पाइन्छ। यो भिन्न संस्कृतिप्रति नियात्रामार्फत् खबरदारी गरिएको छ। अर्कोतर्फ लिभिङ टुगेदर संस्कृति र त्यसले निम्त्याएको जटिलतासम्बद्ध बहुदर्शन पाठकीय खबरदारी वा चेतना हो। यो नै कृतिको विश्वदृष्टि पनि हो।
अस्ट्रेलियामा श्रीमान-श्रीमतीहरूको सम्बन्ध अर्थ/वर्गीयताले नभएर भावनाले विभक्त भएका तथ्य सार्वजनिक गरिएको छ। यो संस्कृति नेपालमा पनि मौलाउँदो छ। अभावमा पनि मुना र मदन बन्ने हाम्रो दाम्पत्य संस्कति धरापमा परेको छ। सम्पन्नता भएर पनि हिउँको डल्लाजस्तो चिसो सम्बन्धले जीवन जीउन बाध्य हुनु उपभोक्तावादी संस्कृतिको एउटा रुप हो। यो प्रशान्तको तीरैतीर नियात्राको वैशिष्ट्यता हो।
'मन आधा आधा भो'बाट 'बिदाइ'सम्मका ३३ शीर्षकहरूलाई नियाल्दा समग्र अस्ट्रेलियाको विकसित अवस्थाको परिचर्चा पाइन्छ। शिक्षाप्रति भरोसा, स्वास्थ्य सेवाप्रति पूर्ण विश्वास, श्रमप्रतिको मूल्य आदि अनुकरणीय रहेको दृष्टान्त दिँदै नेपालसापेक्ष चर्चा गरिएको छ। यसले समग्र नेपालको व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नुहँदा विश्वका सामु नतमस्तक बन्नुपरेको तितो यथार्थ सार्वजनिक गरिएको छ। यसर्थ यात्रावर्णन अस्ट्रेलियाको र फ्ल्यासब्याक नेपालको गरिएको प्रशान्तको तीरैतीर नियात्रा साहित्यमा नवीन प्रयोग हो भन्न सकिन्छ। यो यात्रा संस्मरणको नेपाली सन्दर्भसापेक्षता नै कृतिको मौलिकता हो।
नियात्रामा सकस पर्दा प्रभु पुकार्ने तथा स्वार्थमा धर्म परिवर्तन गर्ने नेपालीहरूको प्रवृत्तिको उदाङ्गो चित्र उतारिएको छ। मातृत्व, जिम्मेवारी र प्रविधिको दुरुपयोगले प्राकृतिकभन्दा कृत्रिम बन्दै गएको जीवनशैलीको चित्र पाइन्छ। मेला र सम्बन्ध शीर्षकको नियात्रामा मेला संस्कृति समानता र भिन्नताको चर्चा गरिएको छ। आइ लभ अस्ट्रेलिया भन्दै गर्दा त्यो चाकडी प्रथाले मातृभूमि प्रतिको जिम्मेवारीबाट च्युत भएको आभास हुन्छ। राष्ट्रियता धर्मराएको भान हुन्छ।
यो कथा होइन, वेदना हो। शीर्षकको नियात्राले पाठकलाई संवेदनशील बनाउँछ। एउटा फरक समाजको स्वरुप निमार्ण गर्दछ। पेपर म्यारिजको सन्दर्भ र दुइटा लोग्नेको श्रीमती हुनुपर्ने बाध्यता सायदै कल्पनाभन्दा बहिरको कुरा हो। अर्कोतर्फ मातृत्वको संवेदनशीलतालाई भुल्नु पर्ने, आफ्नै बहिनी सौता बन्न पुगेका सन्दर्भ आदि नेपाली संस्कृतिभन्दा भिन्न परिघटनाले एकपटक अस्ट्रेलिया जाँदा तीन पटक सोच्न बाध्य बनाउँछ। हाम्रो समाजमा विदेश गएका पुरुषहरू श्रीमतीहरूबाट उत्पीडनमा पर्ने सर्वव्यापक समस्या विपरीत सन्दर्भ सार्वजनिक गरिएको छ। यसले लैङ्गिकतासम्बन्धी फरक बहस प्रारम्भ गरेको देखिन्छ।
अस्ट्रेलियाको ब्लु माउन्टेन घुम्दाका सन्दर्भ नेपालको नीलगीरि सापेक्षतामा अन्तरङ्ग चर्चा गरिएको छ। यसले प्रकृति प्रतिको संवहन र प्रकृति प्रेमको चित्र उतारेको छ। त्यसैगरी वृद्धावस्थामा प्रकृतितर्फको मोहलाई आमामार्फत् प्रतीकात्मक रुपमा प्रस्तुत गरिएको छ। अर्कोतर्फ प्रशान्तको तीर अर्थात् समुद्रको बिचमा रमाउने बहानामा देखिने नग्न प्रर्दशन विकासको सूचक वा विकृत मानसिकताको उपज के हो स्वमूल्याङ्कन गर्नुपर्ने देखिन्छ।
'साङ्ग्रिलाको छेदन'जस्ता शीर्षकको नियात्राले नेपालीहरूमा विकसित पुँजीवादी चिन्तनको प्रभावलाई देखाएको छ। दुलही पहिरनको सन्दर्भ र नेपालीहरूमा विकसित मानसिकता यसै कुराको साक्ष्य हो। त्यसैगरी बेलायती सैनिकका ज्यादतीका सन्दर्भ मानवीय संवेदनाको पराकाष्ठा हो। फिल्मको सन्दर्भले गोरा जाति र काला जाति बीचको रङ्गभेदको ऐतिहासिक प्रभुत्व संस्कृतिलाई उजागर गरेको छ। शरीर भोग गर्न घिन नलाग्ने तर सँगै जिउन नहुने चिन्तन प्रजातीय उत्पीडनको ऐतिहासिक तथ्य हो।
समग्रमा नियात्राकारको यात्रासन्दर्भका घटनाक्रमलाई नियाल्दा स्वयम् ब्राइटन बिचमा पुग्नु, डे क्याम्पहरू हेर्नु जस्ता सन्दर्भमा दृश्यपान छ, स्वयम भोगाइ छैन। यसले पाठकको पठन उत्सुकतालाई बीचैमा निरास बनाउँछ। यसको क्षतीपूर्तिको जिम्मेवार स्वयम् लेखक हो। स्याउको रस/वाइन सन्दर्भ, जुवा खेल, लैङ्गिक विलासी सम्बन्ध आदिमा नियात्रा पात्रको उत्साहजनक सहभागिता नरहनुले नारीवादी चिन्तनको अग्रमोर्चामा दबेको रुढ संस्कृति हो भन्न सकिन्छ। यद्यपि अस्ट्रेलिया प्रवासहरूको जीवनप्रति विधेयवादी दृष्टिकोण प्रस्तुत भएको सफल नियात्रा कृतिका रुपमा प्रशान्तको तीरैतीर सर्वस्वीकर्य हुनेमा द्विमत छैन।
गोरखाको अर्याल घरानाकी बुहारी रेग्मी प्रभुत्व संस्कृति भत्काउन अस्त्रका साथ उपस्थित हुने स्रष्टा हुन्। उनको एउटा अस्त्र नियात्रा हो। नियात्रा प्रवृत्तिका हिसाबले उनलाई अर्गानिक इन्टलेक्चुअल वर्गको प्रतिनिधिको रुपमा देख्न सकिन्छ। नेपाली समाजमा विद्यमान नश्ल परम्परा र संस्कृति विरुद्धको अन्दोलनको रुपमा रेग्मीलाई हेर्न सकिन्छ। पुरुषवादी हर्कतका पराकम्पहरूमा नारी अस्तित्वका खातिर रेक्टोफिटिङ गर्नु उनको साहित्यिक वैशिष्ट्य हो। अर्थात् गीता नारीवादी सर्जक हुन्। यो कुराको निरन्तरता 'प्रशान्तको तीरैतीर'मा भेटिन्छ।