पत्रकार उन्नती चौधरीको लेख संग्रह ‘निसाफ’ सार्वजनिक गरिएको छ।
बुधबार धनगढीमा एक समारोहको आयोजना गरी चौधरीको पहिलो कृतिका रूपमा सो लेख संग्रह सार्वजनिक गरिएको हो।
२०६४ सालदेखि समाचार लेख्दै आएकी उनले आफ्ना अनुभव, थारु समुदायका मुद्दा, महिला, संस्कृति र विकृति, टीकापुर घटना लगायतका विषयमा यो पुस्तकमा लेखेकी छन्।
कैलारी गाउँपालिका–८ मा कृषकको परिवारमा जन्मेकी चौधरी उच्च माध्यमिक तह पढ्दै गर्दा भूमिगत भइन्।
२०६३ सालमा घरमा उनको बिहे गरिदिने कुरा चलेपछि उनी घर छोडेर हिँडेकी थिइन्।
उनले तत्कालीन समयमा भएका माओवादी जनयुद्धकालमा जिल्ला जनअदालतमा मुद्दा लेख्ने काम गरिन्। पछि विद्रोहमा रहेको माओवादीको सेती महाकाली आवाज पत्रिका बाँड्ने काम गरिन्।
शान्ति सम्झौतापछि उनले पत्रिका वितरण, बजार व्यवस्थापनको काम गर्न थालिन्। उनी अहिले मूलधारका पत्रिकामा उदाउने प्रयासमा रहेकी पत्रकार हुन्।
चौधरीको यो पहिलो लेख संग्रह हो। १६९ पृष्ठको उक्त संग्रहको मूल्य पाँच सय रुपैयाँ छ।