साहित्यकार ईश्वर दाहालको उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधूली’ सार्वजनिक भएको छ। राजधानीको भृकुटीमण्डपस्थित पर्यटन बोर्डमा एक कार्यक्रमकाबीच उपन्यास सार्वजनिक भएको हो।
उपन्यासलाई साहित्यकार बुद्धिसागर, पत्रकार बसन्त बस्नेत, समाजशास्त्री नारायणी देवकोटा र लेखक दाहालले संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। ‘मध्यान्ह झुल्के घाम र गोधुली’ राजनीति र पत्रकारिता सेरोफेरोमा केन्द्रित छ।
कृतिमाथि टिप्पणी गर्दै साहित्यकार बुद्धिसागरले उपन्यासले सुरु देखि अन्त्यसम्मै पाठकलाई आकर्षित गर्न सफल भएको बताए।‘कथा सुरु भएदेखि अन्त्यसम्मै पाठकलाई आकर्षण गर्ने कथा वस्तु रहेको छ,’ उनले भने।
पत्रकार बस्नेतले उपन्यासले नेपाली पत्रकारिताको स्थिति र राजनीतिक घटनाक्रमको सजिब चित्रण गरेको बताए।‘सिन्धुली सुनकोशी आसपासको मुख्यपात्र यदुमार्फत नेपाली पत्रकारिताको सजिब चित्रण गरिएको छ। सर्वसाधरणले राजनीतिक भोगेका राजनीतिक घटनाक्रमको चित्रण रहेको छ,’ उनले भने।
समाजशास्त्री नारायणी देवकोटाले राजनीतिक खेल समाजसँग कसरी जोडिन्छ भन्ने विषय उपन्यासमा प्रस्तुत गरिएको बताइन्। आफ्नो उपन्यासबारे लेखक दाहालले भने, ‘नेपाली राजनीतिमा विभेद र दमनको विरोध गर्नेहरु कालान्तरमा जवाफदेही नभएका विषय उठान भएको छ। माओवादी द्वन्द्वमा सहभागीहरु पछि कसरी परिवर्तन भए भन्ने विषय पनि समावेश छ,’दाहालले भने।
उपन्यास ‘मध्यान्ह झुल्के घाम र गोधूली’ सांग्रिला बुक्सले प्रकाशित गरेको हो।