पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको आत्मकथा 'मेरा नौ दशक : पाँच व्यवस्था, पाँच राजा र पाँचपटक प्रधानमन्त्री'को आवरण सार्वजनिक भएको छ। आज राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सूर्यबहादुर थापाका सुपुत्र सुनीलबहादुर थापा र पुस्तकका सम्पादक हरिबहादुर थापाले पुस्तकको आवरण लोकार्पण गरेका हुन्। पुस्तकको आवरण सचिन यगोल श्रेष्ठ र उमेश काफ्लेले डिजाइन गरेका हुन्।
वि.सं. २०६५ सालबाट करिब चार वर्ष ३१० घण्टा कुराकानी गरी पुस्तक तयार पारिएको पुस्तकका ट्रान्स्क्राइबर गणेश पौडेलले बताए। पत्रकार केदार शर्मासँग सहकार्य गर्दै पुस्तक लेखनको काम गर्दाका समयलाई स्मरण गर्दै उनले भने, "राणाकालको अन्तिम दशकदेखि दोश्रो संविधानसभाको सभाध्यक्षसम्मको नेपाली राजनीतिको लामो कालखण्डलाई यस पुस्तकमा सूर्यबहादुर थापाको दृष्टिकोणबाट भन्ने कोसिस गरिएको छ।"
नेपाली राजनीतिको अति महत्त्वपूर्ण कालखण्ड मानिने पन्चायतकालका छुटेका र महत्त्वपूर्ण विषयहरू पुस्तकमा समावेश भएको सम्पादक हरिबहादुर थापाले बताए। "२०१७ साल पुस १ गतेको राजा महेन्द्रको पन्चायत घोषणाको भाषणको ड्राफ्ट गरेका कुरादेखि राजा, दरबार र सत्ता दाउपेचका पहिला कतै नसुनिएका कुराहरू यस पुस्तकमा छन्।", थापाले भने, "यति इमानदारीपूर्वक आत्मकथा कमै मात्रामा लेखिएका छन् र यो पुस्तक नै नेपाली राजनीतिको लामो कालखण्डको बयान भएको पहिलो पुस्तक हो।"
सूर्यबहादुर थापाकी बुहारी एवम् प्रसिद्ध चित्रकार सङ्गीता थापाले सूर्यबहादुर थापा र मदन पुस्तकालयका संस्थापक कमलमणि दीक्षितको गुरुयोजनाअन्तर्गत किताब लेखनको काम शुरु भए पनि देशमा भएको राजनीतिक परिवर्तन तथा उहाँहरू दुवै जनाको देहवसानका कारण पुस्तक प्रकाशनमा ढिला भएको बताइन्।
पुस्तक लेखनको करिब १४ वर्षपछि बुबाको आत्मकथा प्रकाशन हुन लागेकोमा सुनीलबहादुर थापाले खुशी व्यक्त गरे। "विगतमा धेरै सम्पादक, पत्रकार, लेखक, राजनीतिकर्मी तथा परिवारका सदस्यहरूले पुस्तक चाँडो प्रकाशन गर्न सल्लाह दिए पनि यसको सम्पादनमा लागेको समयका कारण पुस्तक प्रकाशन गर्न ढिला भएको हो। मलाई लाग्छ, सूर्यबहादुर थापाको साङ्गोपाङ्गो जीवनीलाई यस पुस्तकले इमानदारीपूर्वक भन्नेछ।"
कलिलो उमेरमा सल्लाहकार सभाको अध्यक्ष भई राजनीतिमा प्रवेश गरेका सूर्यबहादुर थापामाथि लगाइएका विविध आरोपलाई पनि उनले पुस्तकमा खण्डन गर्दै तथ्यहरू प्रस्तुत गरेका छन्।
पाँच व्यवस्था र पाँच राजाको शासन भोगेका र पाँचपटक प्रधानमन्त्री भएका सूर्यबहादुर थापाको जीवन भोगाइका विविध आयामहरूलाई पुस्तकमा ८ खण्डमा प्रस्तुत गरिएको छ।
यही भदौको अन्तिम साता प्रकाशन हुने ५ सय पृष्ठको पुस्तक 'पेपरब्याक' र 'हार्डकभर-स्लिभकेस' संस्करणमा बजारमा आउने बुकहिलका अध्यक्ष भूपेन्द्र खड्काले बताए।