मानिसका हरेक गतिविधि प्रथमतः जीविकासँग निकट हुन्छन्। त्यसपछि क्रियाकलाप अस्तित्वसँग जोडिएको हुन्छ। सुरुमा उसलाई आवश्यकता पूर्ति गर्न समर्थ हुनु सफलता जस्तो लाग्छ, सुन्दर लाग्छ।
त्यसपछि विस्तारै बाँच्नुको अर्को परिभाषा खोज्न थाल्छ। 'म फलानो हुँ' भन्ने अस्तित्व कायम गर्न, अझ भनौँ अहंको वृद्धि गर्न र प्रतिष्ठा आर्जनको उपाय खोजी गर्न थाल्छ। कला, साहित्य, गीत, संगीतका क्षेत्रमा अभिप्रेरित हुनु पनि एक किसिमले अस्तित्वकै लाडाइँ हो। लडाइँ नै अस्तित्वको अर्को परिभाषा हो।
कति व्यक्तिहरू प्रतिष्ठा कायम गर्नुभन्दा पनि अन्तरप्रेरणाले अभिप्रेरित हुन्छन्। देवकोटाको धाराप्रवाह लेखनमा अस्तित्वको लडाइँ जोडिएको थिएन। उच्च प्रतिभा आफैँ स्फुरित थियो। उनी भित्रको कविता हमेसा प्रस्फुरणको मार्ग खोजिरहन्थ्यो।
केही जान्न, केही लेख्न नित्य अभिप्रेरित भएको मेरो वाञ्छा पनि, त्यही अहंको आदेश हो। यो युगको कसैले आफ्नो कर्म निष्काम भन्छ भने, ऊ झुट बोल्दै छ।
हाम्रो सामान्य चेतनाले निष्काम कर्म चिताउनै सक्दैन। कार्य सम्पादन हुनुअघि नै लाभको कल्पना गरेका हुन्छौँ। फलको अपेक्षारहित कर्म हाम्रा लागि सहज छैन। धेरथोर केही पाउने अपेक्षामा कर्महरू घटित हुन्छन्।
म केही वर्षदेखि डायास्पोरिक स्रष्टा र तिनका कृतिहरू अध्ययन गर्दै आएकी छु। सर्जकको मनोविज्ञानमा प्रत्यक्ष-परोक्ष त्यही अस्तित्वको लडाइँ ध्वनित भएको सुन्छु।
नवभूमिमा एउटा सम्मानित जीवन र 'म पनि केही विशेष हुँ' भन्नको लागि निरन्तर संघर्ष चलिरहन्छ।
परदेशमा चुनौती त्यसकारणले पनि ज्यादा थपिएको हुन्छ। नयाँ भोगाइ र उकुसमुकुसले स्रष्टा जन्मिरहेका हुन्छन्। डायास्पोरिक साहित्यको यो एउटा मनोविज्ञान हो।
उनीहरू गृहभूमिबाट टाढा थिएनन् ती स्रष्टा कलाकार नहुन पनि सक्थे। यसरी नै प्रवासभूमिले स्रष्टा जन्माउँछ।
प्रवासी नभए स्रष्टा जन्मिने थिएन भन्ने पनि होइन। किन्तु कारक चाहिँ निश्चय नै हो। ब्याडबाट उखेलिएर जरा अर्को ठाउँमा सार्दा अस्तित्वको लागि भिड्नु पर्ने अवस्था स्वाभाविक र प्राकृतिक क्रिया हो।
चुनौतीले सिर्जना गरेका कठिनाइ र विपदका तिक्त अनुभूतिबाट हलुंगो हुन कला साहित्य उपयोगी हुने गर्छ।
अहिले म डायास्पोरिक स्रष्टाबारे केही लेख्दैछु। मेरो अघिल्लो लेखन पनि डायास्पोरिक स्रष्टासँगै सम्बन्धित थियो।
'फूलको मुस्कान' गीत संग्रहका सर्जक घनबहादुर थापा मगरका सम्बन्धमा म केही अध्ययनमा छु।
स्याङ्जाको क्याक्मी गाउँमा जन्मिएका उनी धेरै अघिदेखि बेलायत छन्। उदार हृदयका स्रष्टा व्यक्तित्वबाट म जति प्रभावित भएँ, त्यति नै उनको समाजसेवी व्यक्तित्वबाट पनि भएँ। कवि, गीतकार र कलाकार त स्वास्थ्यसेवी पनि हुन्।
देशप्रेमी, गाउँप्रेमी थापाको सामाजिक कार्य स्तुत्य छ। उनको समाजसेवामा अहंको लेश पाउँदिनँ। कुनै मोहभावले उनी अभिप्रेरित भएको लाग्दैन। पवित्र लाग्छ उनको त्यो सेवा।
आफ्नो गाउँठाउँलाई उद्धार गर्न खटिएका उनी एक पहरेदारजस्ता लाग्छन्। दक्षिणी बेलायतको क्यान्टर्बरीमा बसेर यता क्याक्मीको सुसिन डाँडामा विद्यालयलाई सहयोग गर्छन्। पक्की पुल र खानेपानीका लागि आर्थिक सहयोग गर्छन्। गरिब तथा जेहेनदार विद्यार्थीलाई पनि पढाइमा सहयोग गर्छन्।
आफूले विद्या आर्जन गरेको स्कूल अस्ताउने स्थितिमा पुग्दा त्यसलाई जीवित राख्न घनबहादुरले ठूलो पहल गरेका छन्। आफ्नो मातृभूमिका लागि उनको योगदान प्रशंसनीय छ,नमनीय छ।
गाउँमा शिक्षाको ज्योति चहकिलो बनाउन त्यसरी मरिमेट्ने घनबहादुर स्वयंमा एउटा दीपक जस्ता लाग्छन्। विदेशी भूमिमा रहेर मातृभूमिका लागि उनको जस्तो त्याग र समर्पण विरलैमा भेटिन्छ।
साहित्यमा उनको जुन परिचय छ मातृभूमिको सेवामा पनि उही परिचय बनेको छ। वाङ्मयसेवा र समाजसेवा करिब विपरीत पथ हुन्। परन्तु उनी दुवै पथमा छन्। दुवैमा उनको हृदय बराबर प्रज्ज्वलित छ।
'फूलको मुस्कान' घनबहादुरको आठौँ कृति हो। यसअघि 'देशको माटोमा मेरो फूल (२०७०)', 'मेरो चिनो मेरो देश (२०७२), 'क्याक्मीको कोसेली (२०७३)' कविता संग्रह प्रकाशित छन्।
'मायाको संसार (२०७३)', 'बस्ती (२०७४)', 'नबिर्स (२०७५)' गीतिएल्बमबाट उनी परिचित छन्।
कविता संग्रहका शीर्षकले पनि उनीभित्रको देश प्रेमको परिचय दिन्छ।
घनबहादुर संस्थागत संलग्नतामा पनि निकै सक्रिय छन्। आजीवन सदस्य, संस्थापक अध्यक्ष, सल्लाहकार तथा संरक्षकका रूपमा अनेक संस्थामा आबद्ध छन्। विभिन्न पुरस्कार र पदकहरूले सम्मानित भएका छन्।
राष्ट्रभक्तिको गीत गाउने, मनभरि देशको माया भर्ने घनबहादुरका गीतमा हार्दिक पक्ष सधैँ प्रबल देखिन्छ–
बिदा भयो माछापुच्छ्रे उतै छुट्यो धौलागिरि
आँसु पुछ्दै उड्दै आएँ फर्की जाने वाचा गरी
जति रात बढ्दै आयो टाढा भयो धौलागिरि
अँध्यारो यो रातमा पनि सेतो हिमाल आँखैभरि
ठूलो संख्यामा नेपाली युवायुवती प्रवासमा छन्। उल्लिखित गीत वर्तमान समयको एउटा ध्वनि हो, साझा अनुभूति हो।
संयुक्त अधिराज्य (बेलायत) नेपाली राजदूत रहेका डा. दुर्गाबहादुर सुवेदी क्षेत्रीले शुभकामनाले डायास्पोरिक समयलाई सम्बोधन गरेको छ–
'हामी जहाँ बसे पनि नेपाली भएर रहेका छौँ। हामी जहाँ रहे पनि नेपाली भएर बाँचेका छौँ। हामी जहाँ भए पनि नपाली पन र नेपाली मन जगाएर बसेका छौँ।'
घनबहादुर माया प्रीतिका गीत गाएर किञ्चित थाक्दैनन्। फूलको मुस्कान गीत संग्रहमा प्रमेको आधिक्य छ। देश प्रेम, संस्कृति प्रेम, प्रकृति प्रेम, वात्सल्य प्रेम, मातृत्व प्रेम अझ धेरै शृंगारिक प्रेम छ। कुल ११४ गीतको यो संग्रहमा युगल गीत पनि छन्।
संलो खोलाजस्तै शान्त छ, धैर्य छ र शालीन प्रेमी हृदय छ। प्रेमिका पार्श्वमा छिन्। उनैलाई सम्झेर प्रेमी गीत गाइरहन्छन्। उनकै सम्बोधनमा अतीत सम्झिन्छन्।
गीतमा आशा छ, प्रतीक्षा छ। घनबहादुर आशावादी, जीवनवादी गीतकार हुन्। प्रेमि-प्रमिकाको मिलनको चाहना त सदाबहार हुने नै भयो।
विनोदप्रिय कवि जिन्दगी उत्सव जस्तै मनाऔँ भन्छन्। उनका प्रायः गीत रुमानी भावका छन्–
तिम्रो मनको धागोले नै रुमाल बुनियोस्
तिम्रै धड्कन चाल भाव त्यसमै सुनियोस्
तिमीसँग जुनी काट्ने दायाँ हात देऊ न
अन्धकारलाई बिर्साउन एउटा रात देऊ न।
कर्ममा विश्वास राख्ने उनका गीतमा हार्दिकतासँगै विचारका झिल्का पनि आइरहन्छन्। जीवनलाई फूलसँग दाँज्न कवि मान्दैनन्। फूल क्षणभंगुर छ। फूल झरे पनि बिउ नझर्ने भन्ने उनको विश्वास छ–
ओइलिएर फूल झर्ला बिउ झर्ने छैन
उनले छोडी गए पनि मन मर्ने छैन।
फूलको मुस्कान, गीतकार थापाको मात्र ऊहापोह होइन। त्यो त हामी सबैको मानवीय संवेदना र भावनाहरूको संकलन हो। हाम्रै मनका भाका हुन्। हाम्रै मनका माया र प्रेम हुन्। घात प्रतिघात हुन्। दुःख र करुणा हुन्। आशा र प्रतीक्षा हुन्। हाम्रै अभाव र गरिबी हुन्
परदेश गएको छोरो घर फर्केको छैन। आमा उसैको दीर्घ प्रतीक्षामा छिन्। घर गाउँको सम्झनाले परदेशीको मन भरिएको छ। मेला पर्वमा माया साटेको अतीत आज पनि कविलाई उस्तै लाग्छ।
बाध्यताले मुगलान जानु परेको पीडा छ कवि घनबहादुरमा। आफूलाई विदेशी भनेको उनलाई स्वीकार्य छैन। नेपाली युवाहरूलाई स्वदेश फर्किन उनले आह्वान छ। जति नै रमाए पनि पराई भूमि आफ्नो नहुने रहेछ–
के हुन्थ्यो खुसी पराईको भूमि दिनदिनै सिँचेर
बिहानी घाममा देशले डाक्छ नगर अबेर
कोभिड–१९ को सन्त्रास र आतंकबारे पनि थापाका गीतले बोलेका छन्। विश्वलाई क्षतविक्षत बनाएको महाव्याधिले भोलि एउटा कालविभाजनको काम गर्नेछ। उनको गीतमा पनि कोभिडको त्रास पसेको छ–
बुद्ध जिसस अल्लाहको शक्ति हरायो
अति सूक्ष्म कोरोनाले बर्बाद गरायो
हाम्रो समाजमा आमाबाबुलाई वृद्धाश्रममा पठाउने एउटा परम्परा नै बस्न लागेको समय छ। कवि त्यसको विरोधमा छन्–
देखाउने संस्कार के राम्रो हुनु दुःखलाई छोपेर
मिल्दैन धर्म नुनिलो आँसु चितामा पोखेएर
के भन्नु छ र बाहिर रोई मनमनै हाँस्नेलाई
मिल्दैन शान्ति स्वार्थको लागि सम्पत्ति साँच्नेलाई
साहित्य स्रष्टाकै मनको प्रतिविम्ब हो, उसकै विचारको मूर्तरूप हो। गीतकार थापाको समाजसेवी व्यक्तित्व उनको गीतमा आइरहन्छ। धन सञ्चयमा उनको रुचि छैन। असल मार्गमा लाग्न उनको अपिल छ। नेपालको देशको शिर विश्वका सामु उच्च राख्ने अपेक्षा छ–
बनाऔँ देशलाई समृद्धशाली भएर सच्चा नेपाली
बाँच्न पाऔँ सब नेपाली संसारमा शिर उचाली
एउटा गीतमा उनले शान्तिका दूत गौतम बुद्धलाई फर्किएर आउन आह्वान गरेका छन्।
गीतकार बडो स्वच्छन्दप्रेमी छन्। लेखनमा उदार मंगोलियन संस्कृति र परम्पराको प्रभाव प्रष्ट देखिन्छ।
मायाप्रीतिको शृंगारिकता पनि कम छैन–
तरुनी फकाउने ज्याकेट यही हो
सुटुक्क मन चोर्ने हिरो मै हो।
साली भेनाबीचको विनोदप्रियता झन् रोचक छ। फकाउने र फकिने संवाद उस्तै निस्फिक्री लाग्छ।
गीत संग्रहको अन्त्यमा जातीय भाषा संस्कृतिप्रतिको झुकाव र प्रेमले अभिप्रेरित भएर मगर भाषाका दुइटा गीत पनि समावेश छ।
फूलको मुस्कान जस्तै छन् धनबहादुर गीत– संवेद्य, हार्दिकर कोमल। यस संग्रहका केही गीत रेकर्ड पनि भएका छन्।
मानवताको वकालत गर्ने कविका गीतमा देशको, समाजको सेवा गर्ने दृढता छ ।
यस संग्रहका अरू गीतले पनि संगीत पाऊन्। आगमी दिनमा अझ परिष्कृत र शक्तिशाली भएर आऊन्। शुभकामना!