जागरण मिडिया सेन्टरले 'न्यायको पहुँचमा दलित?' नामक पुस्तक विमाेचन गरेकाे छ।
शुक्रबार काठमाडाैंमा एक कार्यक्रम गर्दै पुस्तक विमाेचन गरिएको हो। कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले पुस्तक विमाेचन गरेका हुन्।
पुस्तकमा दलित तथा सीमान्तकृत समुदायको मानवअधिकार उल्लंघनका घटनामा, घटनाको प्रकृति न्यायमा पहुँचको अवस्था, संघर्ष र प्रक्रियासम्बन्धी विषय समावेश गरिएको छ। नेपालभरका दलित मानवअधिकार उल्लंघनका १२ वटा घटनाहरू पुस्तकमा समावेश छ।
सभापति पाेखरेलले सामाजिक मूल्य मान्यताकै कारण दलित समुदायमाथि जातकै आधारमा विभेद र हिंसा भइरहेकाे बताए।
'समाजमा जति पनि निर्ममतापूर्वक विभेदहरू हुने गर्छन्, त्यसलाई दण्ड, सजायको कठघरामा नउभ्याएसम्म दलित माथिको विभेद कम हुँदैन,' उनले भने।
राज्यका निर्देशक, सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन समितिका सभापति निरादेवी जैरुले नेपालको संविधान कार्यान्वयनको अवस्था फितलो भएका कारण दिन प्रतिदिन जातकै कारण हत्याको घटना बढिरहेको बताइन्।
राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले अन्याय र अत्याचारको विरुद्ध सबै एकजुट हुनुपर्ने बताए। दलित सांसदले समेत जातकै कारण कोठा नपाएको भन्दै न्यायिक पक्ष जातीय विभेदका मुद्दामा संवेदनशील हुनुपर्नेमा राष्ट्रिय सभा सदस्य सिंहबहादुर विकले जोड दिए।
यस्तै कार्यक्रममा बोल्दै उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष जितु गौतमले दलित समुदायको उत्थानका लागि उचित खालको बजेट नभएका कारण पछाडि परेको बताए।
लेखक जेबी विश्वकर्माले पुस्तकमा नेपालको दलित समुदायले जातकै आधारमा भोग्नुपरेको विभेद र अत्याचारका घटनामा नेपालको न्याय सम्पादन प्रणाली, न्याय प्रशासनले जिम्मेवारीपूर्ण व्यवहार गर्न नसकेको बताए।
यसैगरी जागरण मिडिया सेन्टरकी अध्यक्ष कमला विश्वकर्माले पुस्तकमा देशका सबै प्रदेशको प्रतिनिधित्व गरेर जातीय विभेदको घटना समेटिएको जानकारी दिइन्। पुस्तकको सम्पादन भीमबहादुर विश्वकर्मा, वीरबहादुर नेपाली र कृष्ण दर्नालले गरेका हुन्।