संसारमा धेरै मान्छेहरू जन्मन्छन् अनि मर्छन्। यो त प्रकृतिको नियमै हो। आफ्ना लागि मात्र होइन, सिँगो समाजका लागि काम गर्नेहरू मरेर पनि अमर रहन्छन्। त्यस्तै एक जना हाम्रा अगुवा हुनुुहुन्थ्यो, हर्कजङ गुरुङ ।
गाउँलाई नै अमूल्य जीवन समर्पण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो, हर्कजङ अर्थात् बहिदार बा। उहाँको जन्म वि.सं. १९८२ साल पुस ३० गतेका दिन मादी गाउँपालिका वडा नं. २, कास्कीको ताङतिङमा भएको हो। उहाँको शिक्षादिक्षा गाउँमै पण्डित राखेर भएको थियो। हुने विरुवाको चिल्लो पात भने झै उहाँ बाल्यावस्थादेखि नै अति मेहनती हुनुहुन्थ्यो। गाउँलाई माया गर्नु हुन्थ्यो। उहाँले आफ्नो गाउँ ताङतिङ, रोही गाउँ, सेतीखोला र आसपासका गाउँहरूको विकासमा बिताउनुभयो।
आफ्ना दौतरीहरू सुन्दर भविष्यको खोजीमा मलायाको लाहुरे हुनलाई ताँती लगाएर लाहोर पस्दा उहाँ भने गाउँमै बसी अरूको चिठी पत्र लेख्ने र गाउँलेहरूलाई लेखापढी गरेर सहयोग गर्ने गर्नुहुन्थ्यो। त्यसैले गाउँमा उहाँको नाम नै ‘बहिदार बा’ भनेर रहन गयो।
उहाँले करिब दुई दशक नामार्जुङ देउराली ग्राम पञ्चायत (हालको मादी गाउँपालिका वडा नं. २, कास्कीमा प्रधानपञ्चको पदमा रही निःस्वार्थ भएर गाउँको सेवा गर्नुभयो। कास्कीको ताङतिङ सेतीखोला, रोहीगाउँ, घ्याम्राङमा विद्यालयहरू स्थापना गर्ने, शैक्षिक विकास, खानेपानी, खोलानालामा झोलुङ्गे पुल निर्माण, बाटोघाटो निर्माण तथा सामाजिक विकासमा उहाँ अहोरात्र खट्नु भयो।
तत्कालीन समयमा कास्कीको ताङतिङ, रोहीगाउँ, सेतीखोला, नामार्जुङ, घ्याम्राङ, भालुगौँडा हालको मादी गाउँपालिका वडा नं. २ पनि लमजुङ जिल्लामा पर्ने थियो। उहाँ गाउँलेहरूको खेतको तिरो तिर्ने र अन्य सरकारी प्रशासनिक कामहरू, गाउँमा हुने विकास निर्माणको कार्य सम्बन्धी कागजपत्रहरू बोकेर ३, ४ दिन लगाएर ताङतिङ गाउँबाट हिँडेर तत्कालीन समयको लमजुङको सदरमुकाम कुन्छा आउने जाने गर्दथे।
आफ्नो साथीसँगीहरू जीवनलाई सुखी बनाउन लाहुर गए पनि उहाँले आफ्नो सारा जीवन गाउँलेहरूको सेवा गर्न स्वयम् सेवक भई गाउँमै बिताउनुभयो। त्यसैले उहाँ ताङतिङ क्षेत्रमा ‘प्रधान बा’का नामले प्रख्यात हुनुहुन्थ्यो।
हर्कजङ गुरुङ र उहाँको सहपाठीहरूको पहलमा २०१३ सालमा भारत सरकार डिस्ट्रिक सोल्जर बोर्डमार्फत कास्कीको ताङतिङमा हिमालय मिलन प्राथमिक विद्यालयको स्थापना गर्नुभयो। वि.सं. २०३१ सालमा निम्न माध्यमिक तह र वि.सं. २०५७ सालमा उहाँको विशेष पहलमा पाहार ट्रस्ट नेपालको आर्थिक सहयोग र गाउँलेहरूले जनश्रमदान गरी नयाँ विद्यालय भवन बनेको थियो।
त्यसपछि ताङतिङमा हिमालय मिलनमा माध्यमिक तहको पढाइ सञ्चालन हुन सफल भएको थियो। ताङतिङमा माध्यमिक विद्यालय सञ्चालनमा आएपछि पोखरा तथा छिमेकी गाउँ सोंधामा पढ्न जानबाट विद्यार्थीहरूले छुटकारा पाए। आफ्नै गाउँमा सुविधा सम्पन्न एसएलसी छात्रावासमा बसी माध्यमिक तहको पढाइ अध्ययन गर्न पाएका छन्। उक्त विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरू सेना, शिक्षक, स्वास्थ्य, बैकिङ क्षेत्र, राजनीति, समाजसेवा, उद्योगी व्यवसायी र विभिन्न पेशामा सफल भएका छन्।
उहाँ पोखरास्थित ताङतिङ दुधपोखरी तमु गुरुङ समाजको पनि संस्थापक अध्यक्ष हुनुहुन्छ। उहाँको पहलमा नै पोखरामा ताङतिङ, रोहीगाउँ, घ्याम्राङ र सेती खोलाबाट पोखरा झरेका गाउँलेहरू मिलेर ताङतिङ दुधपोखरी, तमु समाज गठन भएको थियो।
उहाँ र उहाँको परिवारले ताङतिङ गाउँको बाटोहरूमा चौतारीहरू निर्माण गर्नुभएको छ। मनाङ, कास्की र लमजुङ जिल्लाको सिमानामा रहेको धार्मिक स्थल दुधपोखरी ४५८१ मिटरमा जाने बाटो चिन्ग्रे देउराली, ४५०० मिटरमा त्यस्तो उच्च हिमाली क्षेत्रमा समेत चौतारी निर्माण गर्नुभएको थियो। जुन चौतारीलाई बैदारको चौतारीका नामले चिनिन्छ।
उहाँको मनमुटुमा सधैँ गाउँ र देशको मायाले ओतप्रोत थियो। नेपाली सेनामा कालीबहादुर गणमा दुई वर्ष सेवा गरेर बिस वर्षको उमेरमा आफ्नो गाउँ ताङतिङमा फर्किएर समाजसेवामा लाग्नुभएको थियो। साथी सँगी सबै विदेशी पल्टनमा गएका थिए। उहाँ एक जना मात्र नेपाली सेनामा भर्ती हुनु भएको थियो। यसबाट पनि उहाँको देशप्रतिको माया र सेवा प्रष्ट हुन्छ।
संक्षेपमा भन्नुपर्दा हर्कजङ गुरुङ बहिदार बाले आफ्नो जीवनको अमूल्य कालखण्ड आफ्नो गाउँ तथा मातृभूमिको शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पुलपुलेसो, सामाजिक कार्यहरू तथा गाउँलेहरूको सुखदुःखमा बिताउनुभयो। उहाँको मृत्यु वि.सं. २०५२ जेठ २८ गते ७० वर्षको उमेरमा भएको थियो ।
उहाँको स्मृतिमा जेठा छोरा क्याप्टेन गौबहादुर गुरुङ, छोरीहरु तथा परिवार, नाति नातिनीहरूले ताङतिङ दुधपोखरी तमु समाज पोखरा, हिमालय मिलन माध्यमिक विद्यालय ताङतिङ र मादी गाउँपालिका वडा नं. २ को कार्यालयमा विभिन्न अक्षय कोषको स्थापना गरेका छन्। उक्त अक्षयकोषबाट ताङतिङ, रोही गाउँ, सेतीखोला, घ्याम्राङ र अन्य ठाउँका युवाहरुलाई समाज सेवामा लागी आफ्नो गाउँ र ठाउँको विकासमा लाग्नलाई ठूलो उत्प्रेरणा मिलेको छ।
वास्तवमा बहिदार बाले झैं सबैले गाउँलाई माया गर्नुपर्छ। आफ्नै गाउँठाउँ र पाखापखेरुमा बसेर विकासका ढोका खोल्नु पर्छ।
अन्त्यमा बहिदार बाले गाउँ र समाजका लागि गर्नुभएका सामाजिक कामहरू प्रशंसनीय र दिगो रहिरहने छ। उहाँ हाम्रो स्मृतिमा सधैं बाँचिरहनु हुनेछ।
(कास्कीको ताङतिङस्थित हिमालय मिलन माविका प्रधानाध्यापक प्रकाश गुरूङले लेखेको ‘हर्कजङ गुरुङ जीवन र समाजसेवा’ पुस्तक आज सोमबार पोखरामा लोकापर्ण हुँदैछ।)