एउटा राम्रो कविता मेरा निमित्त घना अन्धकारका बेला उज्यालो देखाउने फ्ल्यासलाइट हो, उज्यालोको बेला जीवन र जगतलाई हेर्ने प्राकृतिक लेन्स हो, दु:खका बेला त्यो मेरा लागि साहस हो भने सुखका बेला त्यो अरू मानसिसँग संवाद गर्ने सबभन्दा विश्वासिलो उपकरण हो।
फेरि कविता कहिलेकाहीं झुल्किने प्रियसीको यादजस्तो कुनै प्रिय वस्तु हो।
– कवि श्यामल
युरोपले पटक पटक वैचारिक क्रान्ति देखेको छ। फ्रेन्च दार्शनिकहरू त्यसमा अगाडि छन्। अचानक नयाँ लेखनले तीव्रता प्राप्त गर्छ। त्यो लेखनले विश्वलाई क्रमशः प्रभावित गर्छ। हामीमा बेजोड प्रतिभा पनि पुरानो बाटोमा छरिएर सकिन्छ। युवा लेखक अरबिन्द अडिगा हाम्रोजस्तो चरित्रलाई ‘फर्स्ट गियर टाइप’ भनेर लेख्छन् ‘ह्वाइट टाइगर’ पुस्तकमा। प्रारम्भमै तुहिने प्रत्येक प्रयासको अर्को नाम हो त्यो।
विचारको धेरै तह उक्लिसकेपछि अर्को क्षितिज देखिने हो। हामीलाई प्रत्येक विचारको क्षितिज नयाँ छ। विश्वविद्यालयले अलिअलि प्रयास गर्छ नवीन बाटो के र कहाँनेर देखियो भनेर। त्यो बुझ्दाबुझ्दै पश्चिमाहरू अर्को क्षितिजको खोज गरिसक्छन्। नवीनता नै नेतृत्वको पहिलो गुण हो। त्यो नभएपछि हामीतिर अरूले फर्केर हेर्दैनन्। महत्व दिँदैनन्। हाम्रा प्रत्येकजसो नवीन आन्दोलन पश्चिमको फाटेको भोटोमात्रै हो। पछि त्यसरी परिन्छ।
– कवि मनु मञ्जिल (हाम्रो लेखन नै पछि परेको हो कि अनुवादका कारणले त्यसो भएको भन्ने प्रश्नमा।)
यो (बिसे नगर्चीको बयान) कविता लेखिनु दुई वर्ष अघि म गोरखा गएको थिएँ। गोरखा दरबार पुग्नुअघि गोरखा बजार आउँछ, त्यही बजारको एउटा चिया पसलमा चिया खाँदै मैले चिया पसले दाइलाई सोधें- बिसे नगर्चीको गाउँ कता पर्छ होला? उनले औंलाले देखाउँदै भने उत्तापट्टि हो, तर अहिले सरकारले दरबारलाई संरक्षण गर्न त्यो गाउँलाई विस्थापित गराउँदै छ। म पग्लिएँ। मलाई संरक्षणकर्ताहरूप्रति टिठ लाग्यो। पृथ्वीनारायण शाहको दरबार त्यो ढुंगा–माटोको थोत्रो घरमात्रै हो त?
– कवि श्रवण मुकारुङ
हाम्रो मुख्य समस्या भनेको कलालाई परख गर्ने क्षमताको अभाव हो। यो समस्या हामी लेखक र पाठकको दुवै मोर्चामा पाइन्छ। हामीभन्दा पछि ब्युँझेका अफ्रिकाका कैयौं देशका लेखकहरू गतिला लेखकको श्रृंखलामा जोडिइसके तर हामी कुवाको कुवामै छौं। बंगलादेश र पाकिस्तान पनि धेरै अगाडि भइसके। ल्याटिन अमेरिका त अहिले कला र विचारको उध्र्वगामी अवस्थामा छ। तर हामी आफ्नै कमजोरीको संसारमा आत्ममुग्ध छौं। यो अवस्थाबाट मुक्त हुन सर्वप्रथम झूटो आत्ममुग्धताबाट जोगिनुपर्छ।
– नारायण ढकाल
साहित्यमा समसामयिकता हुन्छ तर समसामयिकता समसामयिक मात्र हुनु हुँदैन। जुन रचना समसामयिक भएर समसामयिकतामै रुमल्लिन्छ, त्यो दीर्घजीवी बन्न सक्दैन। रामायण, महाभारत, इलियड, ओडिसी, डिभाइन कमेडी, युद्ध र शान्ति, एण्ड होम द बेल टोल्स, वन हन्ड्रेड यर्स अफ सोलिच्युड, दि साइलेन्ट क्राइ आदि रचना समसामयिक छन् तर कालजयी छन्। जसलाई हामी समसामयिक र शाश्वत साहित्य भन्छौं, त्यसलाई हिमाल आरोहणसित प्रतिकात्मक तुलना गर्न सक्छौं। समसामयिकता हिमाल आरोहणमा पर्ने बेसक्याम्प हो, शाश्वतता शिखरभूमि हो। बेसक्याम्प नपुगी शिखर टेक्ने कल्पना गर्न सकिन्न।
– सरुभक्त
उही मानिस हो। भैंसीमाथि चढेर जीवन आरम्भ गर्नु र जेटमा चढ्नु वा सानो केटो अग्लो हुनु अनि लुगा लाउने शैलीमा पश्चिमी सहरमा पढेको अनि यतै पनि अलि फ्रिक किसिमको जीवन भएको मानिस भएको कारणले त्यस्तो देखिनु सबै एउटा जीवनका स्वभाविक गति हुन्। त्यो केटो र अहिले म जे छु त्यसको बीचमा प्रवाहित नदी मेरो जीवन हो।
–अभि सुवेदी (‘तेह्रथुमको कुनै अनकण्टार ठाउँमा भैंसीमाथि चढेर किताब पढिरहेको एउटा सानो फुच्चे र छ फिटभन्दा अग्लो कन्सर्ट टुरमा हिँडिरहेको रक स्टारजस्तो देखिने प्लेन चढिरहेको अभि सुवेदीमा केही समानता पाउनुहुन्छ?’ भन्ने प्रश्नको उत्तरमा।
नेपालका ‘रकस्टार’ पाठक उदय अधिकारीको नयाँ किताब ‘प्रश्न’बारे के लेख्नु? म असमञ्जसमै थिएँ। किताब पढिसक्दा यसमाथि टिप्पणी गर्नैपर्छ भन्ने लागेको हो तर के टिप्पणी गर्नु भन्ने धर्म संकट बाँकी नै थियो।
कारणः नेपालका उम्दा साहित्यकारहरूले आफ्ना कुरामा जति निखार ल्याएर बोल्नुपर्ने हो, ती पुस्तकमा संलग्न अन्तर्वार्तामा बोलिसकेका थिए। त्यसमा के थप्नु?
‘अन राइटिङ वेल’मा मेरो लेखनका प्रशिक्षक विलियम जिन्सर भन्छन्ः अरूको कुरा बोल्नु छ भने उनीहरूकै मुखबाट बोलाऊ। जे हो त्यो, जस्ताको तस्तै। त्यसलाई प्याकेज गरेर, काटछाँट गरेर आफ्ना शब्दमा राख्ने अनावश्यक मेहनत नगर। त्यसो गर्दा मौलिकता मर्छ र मूल कर्ताको अभिव्यक्ति बोधो हुन्छ।
जिन्सरको यो मन्त्र सम्झेर म दोस्रोपल्ट ‘प्रश्न’ पढ्न बसें। अनि माथि उल्लिखित हिस्साहरूलाई छानें र यहाँ उतारें। त्यस पछाडिको मेरो नियत प्रष्ट छः समाजलाई, संसारलाई, साहित्य र कलालाई अनि जीवनलाई नेपालका छ स्रष्टाले कसरी हेर्छन् त भनेर जान्न मन छ भने किताब किन्नुस् र पढ्नुस्।
पुस्तक पढ्नका लागि त्यति प्रयोजन काफी छ। तर त्यसको थप एउटा फाइदा पनि छ। छ जनाले नै आफूलाई मन परेका एकाध दर्जन उत्कृष्ट किताबहरूबारे यी अन्तर्वार्ताहरूमा खुलेर बोलेका छन्। अथवा भनौं, प्रश्नकर्ता अधिकारीले उनीहरूलाई बोलाएका छन्।
त्यसैले साहित्यका पाठक र साहित्य लेखनका विद्यार्थीहरू दुवैका लागि ‘प्रश्न’का अन्तर्वार्ताहरूले धेरै जीवनोपयोगी जवाफहरू दिएका छन्।
अन्तर्वार्तालाई गहिराइमा कसरी पुर्याउने? अप्ठ्यारा र असुविधाजनक प्रश्नहरूलाई कसरी ग्राह्य बनाउने? त्यस्ता प्रश्नबाट लेखक तर्केर निस्कन सक्ने बाटोहरू कसरी थुन्ने? अधिकारीका यस्ता शिल्पका लागि पनि पुस्तक पठनीय छ।
अन्तमा, यो पुस्तक पढेपछि मलाई लाग्यो नेपालको पत्रकारिता र साहित्यको अन्तर्वार्ता विधामा धेरै काम हुन बाँकी छ। यो पुस्तक त्यो कामको राम्रो सुरूआत भने पक्कै हो।