प्राध्यापक डा. पराशर कोइरालाद्वारा लिखित पुस्तक ‘उद्यमी’ सार्वजनिक भएको छ।
आवरण प्रकाशनको आयोजनामा भएको सो समारोहमा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति एवं पूर्वराजदूत केदारभक्त माथेमा लगायतले पुस्तकको लोकार्पण गरेका थिए।
प्रमुख अतिथि माथेमाले देशको सामयिक समस्याका विषयमा पुस्तक लेखेर प्राध्यापक डा. कोइरालले समाधानको बाटो समेत देखाएको बताए।
पुस्तकको समीक्षा गर्दै प्राध्यापक डा. पुष्कर बज्राचार्यले पुस्तकमा उठाइएका विषयलाई अझ विस्तारित रूप दिन सके अझ राम्रो हुने तर्क गरे।
सिटिइभिटीका पूर्व निर्देशक दीपक पौडेलले ‘उद्यमी’को समीक्षा गर्दै पुस्तकमा समेटिएका उद्यमीका कथाहरूले नयाँ पुस्तालाई दृढ आत्मबल र सकारात्मक सोच दिनसक्ने बताए।
कृतिकार प्राध्यापक डा. कोइरालाले लेखकीय मन्तव्य दिँदै हरेक मान्छेमा केही गर्ने उद्धेश्य राख्ने नै सफल उद्यमी बन्न सक्ने बताए।
आयोजक संस्था आवरण प्रकाशनका प्रबन्ध निर्देशक रमेश पौडेलले देमा अहिले 'उधुमी'हरूको जगजगी भएको बेलामा प्रा. कोइरालले 'उद्यमी' पुस्तक लेखेर सराहनीय काम गरेको बताए।
समारोहका सभाध्यक्ष तथा पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.डा. पुरुषोत्तम बाँस्कोटाले पुस्तकलाई उद्यमशीलता प्रवर्द्धन गर्ने महत्वपूर्ण दस्तावेज भएको विचार राखेका थिए।
पाँच अध्यायमा विभक्त सो पुस्तकमा हामी र हम्रो बसाइ,प्रतिभा, सक्छु, बिक्री वितरण र युवा सोचाइ रहेका छन्। पुस्तकले वैदेशिक रोजगारीलाई निरुत्साहित गर्दै देशमै उद्यम गरी आत्मनिर्भरताको बाटोमा लाग्न युवाहरूलाई प्रेरित गर्ने सन्देश दिएको छ ।
पुस्तक भित्रकै पात्र सफल उद्यमी नरेन्द्रराज गिरीलाई सम्मान समेत गरिएको सो समारोहमा प्राध्यपन र पत्रकारिता क्षेत्रका विशिष्ट व्यक्तित्त्वहरूको उपस्थिति थियो।