एउटा कालखण्डमा डाक्टर सुधा शर्मा र मैले अस्कल क्याम्पसमा सँगै आइएससी पढ्यौं। ऊ त्यहीँबाट डाक्टर पढ्न गई, म आइएससीमा फेल भएँ। पछि यहीँ बसेर बीएससी पढ्न थालेँ।
निकै लामो समयपछि ऊ पुन: भेटिई। त्यतिखेर ऊ डाक्टर भइसकेकी थिई। मेरो एमएससीको पढाइ पनि बीचमै छुटेको थियो। परिवार नियोजन संघमा जागिरे थिएँ। ऊ कन्सल्टेन्सीहरूमा गर्दै थिई। यही सन्दर्भमा प्रजनन स्वास्थ्यका केही तालिमहरूमा हामीले सँगै काम गर्यौं।
प्रजनन स्वास्थ्यलाई समग्रमा सम्बोधन गर्नुपर्ने कुरा स्वास्थ्यका क्षेत्रमा चलिरहेको समय थियो त्यो। हामी संलग्न भएका तालिम त्यसै विषयका हुन्थे। केही जिल्लाहरूमा सँगै गयौं, सँगै पनि बस्यौं केही समय।
ऊ हक्की थिई, परिश्रम गर्ने, खट्ने स्वभावकी। आफूमाथि निकै विश्वास थियो उसलाई। चित्त नबुझेको कुरा मनमा लिएर बसिरहने बानी थिएन। प्रश्न उठाइहाल्थी, प्रतिवाद गरिहाल्थी। सम्भवत: नेतृत्वकारी गुण भएकैले होला, पछि ऊ नेपाल चिकित्सक संघमा अध्यक्ष निर्वाचित भई। त्यही हैसियतमा जनआन्दोलनमा पनि निकै सक्रिय भएर लागी, प्रजातन्त्रको पक्षमा संघर्षरत थिई। म समाचार सुन्थेँ, खुसी लाग्थ्यो।
समयक्रममा ऊ स्वास्थ्य सचिव बनी। नेपालको प्रशासनिक क्षेत्रमा सचिवस्तरमा नारीहरू पुग्ने स्थिति प्राय: नभइरहेको बेलामा ऊ एउटी योग्य सचिव थिई - मेरी साथी। गर्व लाग्थ्यो।
स्वास्थ्य सचिवका रूपमा गंगालाल हृदयरोग अस्पतालका बैठकहरूमा आउँदा उसको पूर्व तयारी र चुस्त प्रस्तुतिका बारेमा नरहरिजी (मेरा श्रीमान) मसँग उसको चर्चा गर्नुहुन्थ्यो, प्रशंसा गर्नुहुन्थ्यो। नरहरिजी त्यतिखेर मन्त्री हुनुहुन्थ्यो। यसै क्षेत्रको प्रतिनिधिका रूपमा सदस्य पनि हुनुहुन्थ्यो अस्पतालको बोर्डमा।
पछि पत्रपत्रिका बाटै थाहा पाएँ, त्यतिखेरका स्वास्थ्य मन्त्रीसँग सुधाको ठूलै टक्कर पर्यो। ऊ हटी सचिवबाट। यिनै कुनै प्रसङ्गमा अदालत अपहेलना मुद्दा पनि लगाइदिएछन् उसलाई। निकै समय दु:ख दिएछ त्यसले। बहसमा कुन वकिल राख्ता उपयुक्त होला भनेर सल्लाह गर्न आएकी थिई एकपल्ट हाम्रो घरमा। पछि अदालतबाट सफाई पाई भनेको सुन्दा खुसी लाग्यो।
सचिवबाट हटेपछि ऊ काम गर्न भनेर केही समय तान्जानिया गई। यो ताका भने छिमेकी हुन आइपुगेकी थिई। नजिकै धुम्बाराहीको प्रेस्टिज अपार्टमेन्टमा बस्थी। बेला बेला नेपाल आउँथी। मर्निङ वाकमा प्रायः भेट हुन्थ्यो हाम्रो।
तान्जानियाबाट फर्केको केही समयपछि उसले लेखेको पुस्तक हात पर्यो- सिंहदरबारको घुम्ने मेच। घरमै पठाइदिएकी थिई।
त्यो पुस्तक पढेर मैले उसलाई थप चिनेँ। उसको पारिवारिक पृष्ठभूमि, उसको व्यक्तित्वको निर्माण लगायत गलत कुरामा सम्झौता गर्न तयार नहुने एक किसिमको विद्रोही स्वभाव। शासन यन्त्रका कमजोरी तथा तिनले नागरिकलाई दिइरहेका अनावश्यक हैरानी र अन्यायका प्रसङ्गहरू आफ्ना सन्दर्भसँग जोडेर उठाएकी छ उसले त्यस पुस्तकमा। सिंहदरबारको घुम्ने मेचको बिम्बमा उसले नेपालको प्रशासनका बेथितिलाई निर्वस्त्र गरेकी छ।
यतिखेर सुधाको अर्को पुस्तक निस्केको छ- अप्रमेय।
मलाई विमोचनमा बोलिदिनू भनेकी थिई। ऊ सधैं अगाडि आउनुपर्ने स्वभावकी- बहिर्मुखी। म सधैं छेलिएर बस्न रूचाउने। मैले क्षमा मागेँ, उसले कर गरिन।
उसकै शब्दमा अप्रमेयको अर्थ हो- विद्यमान औजारहरूले नाप्न नसकिने। हामी दुवैजना अनेकन परियोजनाहरूमा काम गरेका मान्छे। परियोजना बनाउँदा तिनको प्रभाव नाप्न, मूल्यांकन गर्न सूचकहरू निर्धारण गरिन्थ्यो सुरूमै। तर जीवनमा सबै कुरा सूचकले नाप्न सकिन्नन् भन्ने बुझ्न निकै समय लाग्यो मलाई पनि। सुधाले पनि बुझिछ। पुस्तकको शीर्षकको अभिप्राय सम्भवत: यही नै हो।
पुस्तक, उसका लेख रचनाहरूको संकलन रहेछ। विविध विषयहरू छन्। पुस्ताहरूबीचको तनाव, राजनीति, रोग-ब्याधदेखि अद्वैत दर्शनका कुरासम्म। देशी विदेशी विभिन्न साहित्यकारका रचनाको उद्धरण पनि प्रसङ्गात बीचबीचमा छन्।
कतिपय रचना मैले पत्रिकामा छापिएको पढेकी थिएँ। पुस्तकाकारमा एकैपल्ट हेर्दा दुई प्रकारका विषय टड्कारो देखेँ। एकथरी सांसारिक कार्यव्यापार सम्बन्धी प्राविधिक विषय र अर्कोथरी जीवनको रहस्यमयता र त्यसको खोजीसँग जोडिएका विषय। दुवैथरी विषयलाई एकअर्काको पूरक बनाएर सँगसँगै प्रयोग गर्न सके त्यसबाट मानव जीवन र जगतको कल्याण हुनसक्ने लेखकको मान्यता देखिन्छ।
कोभिडको बन्दाबन्दीले लेखकको अध्यात्म चिन्तनलाई उत्प्रेरित गरेको रहेछ। जीवनको सारबारे चिन्तन गरेकी छ उसले। स्वाध्यायद्वारा अध्यात्म बारे सूचना निकै संगालिछ। पूर्वीय सन्त र पश्चिमी दार्शनिकहरूका भनाइहरू पनि प्रशस्त उल्लेख गरेकी छ। वेद, उपनिषद, गीता लगायत बुद्ध वचनका सन्दर्भहरू छन्। युट्यूब, गुगल, पुस्तकहरू मार्फत अध्यात्म विषयमा आफूले बटुलेको जानकारी सरल तरिकाले सबैलाई संक्षिप्त रुपमा बुझाउन खोजेकी छ।
अध्यात्म ज्ञान शीर्षकको लेखमा त वेद र उपनिषदलाई अगाडि सारेर आत्मा, परमात्मा र ब्रह्मका बारेमा प्रश्न उत्तर शैलीमा बृहत विवेचना नै छ। आफ्नी चिकित्सक साथीको यो अद्वैत वेदान्ती रूप थाहा पाएर छक्क पनि लाग्यो एकफेरा।
रचनाहरूमा सुधाले जीवनको समग्रता र सन्तुलनको कुरा गर्छे। पुस्तकको आवरणमै दशवटा पक्षको तस्वीर छ- अध्यात्म, विज्ञान, दर्शन, गणित, अधिकार, पोषण, लैंगिकता, स्वास्थ्य, खुसी र प्रेम।
नि:सन्देह, सबै विषय एक अर्कोसँग जोडिएका छन्, सबै उत्तिकै महत्वपूर्ण छन् मानव जीवनमा।
आधुनिक समाजमा व्याप्त रोग व्याधि, दु:ख, भौतिक बेथिति र तिनकै सम्बोधनमा केन्द्रित छन् रचनाहरू। तर ती बेथितिको सम्बोधन आध्यात्मिक पक्षको उपेक्षा गरेर गर्न सकिँदैन, यो बोध साथसाथै छ। खासगरी युवाहरूलाई लक्षित समूह मानेर लेखिएको यस पुस्तकले तिनका विविध प्रकारका, स्वास्थ्य-समस्या, मानसिक, मनोवैज्ञानिक द्वन्द्व, लगायत व्यावहारिक तथा बौद्धिक रूचिको पनि ख्याल गरेको छ। नकारात्मक परिवेशभित्रै आशा र सकारात्मकताको सन्देश दिन खोजेको छ।
हुन पनि जीवनलाई समग्रमा सम्बोधन गर्न नसक्ने सबै आयोजनाहरू अपूर्ण हुन्। ती चाहे प्रजनन स्वास्थ्यका हुन् वा अन्य कुनै पनि पक्षका। मानव जीवनको पूर्णता उसका भौतिक आध्यात्मिक पक्षहरूको समान र स्वस्थ विकासबाट मात्र सम्भव छ। जीवन बाहिरी र भित्री सन्तुलनकै अर्को नाम हो।
सुधाको लेखनमा मस्तिष्क हावी छ। ऊ भावुक भेटिन्न लेखनमा। जिन्दगीभर स्वास्थ्य सेवामा खटेकी एउटी अब्बल चिकित्सक, वस्तुपरक अनुसन्धाता, ऊ मूलत: तर्क गर्ने, प्रमाण खोज्ने प्राविधिक मान्छे नै हो। प्रस्तुत पुस्तकमा भने तर्कातीत कुराहरूमा पनि उसको जिज्ञासा बढेको देखिन्छ। भौतिक विषयसँगसँगै आत्मिक शुद्धता र नैतिक दायित्वको आवश्यकताका कुरा पनि पुस्तकमा छन्। सिंहदरबारको बेथितिबाट लेख्न सुरू गरेकी सुधा, यतिखेर जीवनका रहस्यतर्फ उत्सुक देखिएकी छ। शायद बाहिरबाट भित्रतर्फ लाग्दैछ उसको यात्रा।
मान्छे मूलत: उसको मन र मष्तिष्कको गतिशीलताले चिनिने हो। गतिशीलता नै हो मान्छेलाई ज्यूँदो राख्ने तत्व। यसैले दिन्छ हामीलाई आत्मबोध। सबैसामु आफ्नो उपस्थितिको भान गराउँछ।
लामो समय सक्रिय र उतारचढावपूर्ण जीवन बिताएपछि सुधा अर्कै तरिकाले चलायमान छ यतिखेर। ऊ लेखिरहेकी छ। गहिरा कुरा लेखिरहेकी छ। जीवनभरका अनुभवको सार सबैलाई बताइरहेकी छ।