सिनेमाको संसार कसरी निर्माण हुन्छ? त्यो संसार कल्पना हो कि यथार्थ? वा कुनै नयाँ यथार्थ?
आधा दर्जन फिल्म निर्देशन गरिसक्दा पनि निर्देशक मनोज पण्डितले चित्तबुझ्दो जवाफ भेटेका थिएनन्। उनीसँग मनमा सिनेमा, मान्छे र समाजबीचको अन्तर्सम्बन्धबारे अरू कयौं जिज्ञासा र प्रश्न थिए।
यसैबारे करिब दुई वर्षको मन्थनपछि उनले किताब तयार गरेका छन्— 'सिनेमा मन्थन'।
निर्देशकले लेखेको र नाममा सिनेमा जोडिएकाले पाठकले यसमा फिल्मको इतिहास, निर्देशनका तौरतरिका, अभिनय, लाइट-क्यामेरा-एक्सनबारे चर्चा गरिएको अनुमान लगाउन सक्छन्। तर किताब अलि बेग्लै छ।
इन्डिगो इन्कबाट प्रकाशित यस किताबमा सिनेमाको इतिहास, घटना वा विवरण छैन। फिल्मको प्राविधिक ज्ञान दिने त झनै होइन। त्यसो भए सिनेमा मन्थनभित्र के छ?
निर्देशक मनोजको भनाइमा, 'कुनै पनि फिल्ममेकरलाई फिल्मबारे सोच्ने बेलाको प्रक्रियालाई सघाउने आधारभूत खुराक छ।'
कथ्य, पात्र, द्वन्द्व, संरचना, दृश्य आदि फिल्मको कथाका लागि चाहिने आधारभूत तत्व हुन्। ३४ शीर्षकको किताबमा मनोजको सोच र खोज यिनै तत्वबारे समेटिएका छन्।
उनले भने, 'यी सबै कुराको केन्द्रमा मानिस र समाजलाई राखेर सिनेमाबारे चर्चा गरिएको छ।'
मनोज फिल्म क्षेत्रमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय छन्। उनले यो अवधिमा सिनेमा बनाउँदा सोचे-भोगेका आधारमा मथेका कुरा किताबमा अभिव्यक्त गरेका हुन्।
धेरै शीर्षक भए पनि हाते किताब भन्न सुहाउने छोटो काँतको पुस्तक हो सिनेमा मन्थन। यसमा मनोजले एकपछि अर्का छोटा आलेख जोडेर सुरूदेखि अन्तसम्मका सामग्रीबीच सिलसिला कायम राख्ने प्रयास गरेका छन्।
सिनेमाबारे हरेक निर्देशकको आफ्नै परिभाषा वा धारणा हुन्छ। मनोजले पनि यो किताबमा सिनेमासम्बन्धी आफ्ना धारणा पोखेका छन्। सिनेमा बुझ्न मान्छेको मनोविज्ञान र विचार निर्माण प्रक्रिया बुझ्नुपर्नेमा उनको जोड छ।
'संसारको जुनसुकै ठाउँका मानिसको सोच्ने प्रक्रिया र मनोविज्ञान निर्माण कसरी हुन्छ? उनीहरूको सोच र व्यवहारमा तिनले कसरी काम गर्छन्? किताबमा यसबारे सोधखोज गरिएको छ,' उनले भने।
यो खोजले सिनेमाका पात्रको पृष्ठभूमि बुझ्न र उसको जीवनका आरोह-अवरोह 'न्यारेट' गर्न आधार दिने उनको तर्क छ। त्यसैले सिनेमा मन्थन नाम दिए पनि यसमा मान्छेलाई केन्द्रमा राखिएको उनको भनाइ छ। भन्छन्, 'सिनेमाको अध्ययन भनेको मानिसकै अध्ययन रहेछ।'
सिनेमाबारे मन्थन लेख्दा केही रमाइला र महत्वपूर्ण निष्कर्षमा पुगेको मनोजको दाबी छ। तीमध्ये उनको प्रिय दाबी यस्तो छ, 'संसारका राम्रा सिनेमाले मानिस कति असन्तुलित र कुरूप छन्, मानिसकै लागि मानिस कति हानिकारक र घातक रूपमा प्रस्तुत भएको छ भन्ने देखाउँछ र हाम्रै कृत्यमा प्रश्न गर्छ, आरोप लगाउँछ। हाम्रो घृणित मनोविज्ञान र यथार्थ देखाउँछन्।'
यसलाई उनी बफ्नो किताबको सम्भवतः ठूलो 'इन्भेन्सन' मान्छन्।
यो तर्क सुन्नेलाई उनकै फिल्म 'बधशाला', 'दासढुंगा' र 'छाया' का कुरूप पात्रहरू याद आउन सक्छन्। उनको निचोड नकारात्मकजस्तो पनि लाग्न सक्छ। तर उनको कुरा निराशामा सकिँदैन।
'राम्रो सिनेमाले सम्पूर्ण कुरूपताभित्र जीवनमा आशाको खोजी सम्भव छ पनि भन्छ,' उनले भने, 'यो आशा देखाएर सिनेमाले हामीलाई बेग्लै ठाउँमा पुर्याउँछ। कुरूपताभित्र आशा र जीवन खोज्ने उत्प्रेरणा दिन्छ।'
फिल्म र वास्तविक जीवनबीचको समानता र विरोधाभाषबारे किताबमा उनी धेरै घोत्लिएका छन्। पुस्तकभित्रको 'खलल' शीर्षक यसको एउटा उदाहरण हो। मनोजकै नजरमा पनि किताबभित्रको महत्वपूर्ण आलेख हो यो।
मनोजका अनुसार, हाम्रो जीवन एकखाले सन्तुलनमा चलिरहेको हुन्छ। हाम्रो जीवन कुनै व्यक्ति वा कुनै कारणले खलल नहोस् भन्ने चाहन्छौं। 'यथार्थ के भने, जीवनमा अरू पक्षले हाम्रो जीवनमा खलल पुर्याइरहन्छ। हामी सधैं त्यो रोक्न वा त्यसको प्रभाव न्यूनीकरण गर्न प्रयास गरिरहन्छौं,' उनले भने।
सिनेमाका पात्रको जीवनमा यस्तै खलल पैदा गर्नु अनिवार्य हुन्छ। यसैका लागि मान्छेको जीवनका हरेक आयामलाई निर्देशक वा कथाकारले बुझ्नुपर्ने र त्यसका लागि अध्ययनको खाँचो पर्ने उनी बताउँछन्। राम्रो फिल्म बनाउने हो भने चरित्रको जीवनमा बढीभन्दा बढी खलल आवश्यक हुन्छ। मनोजको भनाइमा कथाको स्रोत यही हो।
उनले भने, 'जीवनमा मान्छेले जे चाहन्छ, त्यो पाउँदैन। जीवनमा जे चाहन्नौं, त्यही कुरा सिनेमाका लागि अनिवार्य भइदिन्छ। मान्छेले जे चाहँदैन, त्यो हुनु कथा हाे।'
हामीले वास्तविक जीवनमा नचाहेकाे कुरा सिनेमाको कथामा सिर्जना गर्नुपर्ने उनको मत छ।
मानिसको जीवन र कथामा विरोधाभाष देख्ने उनी भन्छन्, 'मान्छेको दैनिकी द्वन्द्वबाट उन्मुक्त हुनेतर्फको प्रयास हो। मानिसको कथाचाहिँ द्वन्द्वसँग आत्मसात गर्नेतर्फको यात्रा।'
हाम्रो दैनिकी र कथाबीच आधारभूत रूपमै मूल्यगत भिन्नता हुन्छ। राम्रो सिनेमाले त्यो विशेषता हासिल गर्नुपर्ने बताउँछन्। उनी किताबले सिनेमा हेर्ने-बुझ्ने दर्शकको सोच्ने प्रणालीमाथि पनि खलल पुर्याओस् भन्ने चाहन्छन्।
फिल्ममा खलल खोजी हिँड्ने मनोज आफ्नो यो मोहले पारिवारिक जीवनमा पनि खलल ल्याएको बताउँछन्। उनको परिवारमा आमा, बुवा, श्रीमती र आठ वर्षका छोरा छन्।
'सिनेमाप्रतिको लगावले मेरो परिवारलाई सबभन्दा बढी पीडा दिएको छ। उनीहरूको अपेक्षा र चाहनामा सन्तुलन नभएर खलल पैदा भएको छ,' उनले भने, 'मैले परिवारलाई समय दिन सकेको छुइनँ। आर्थिक मुनाफा मात्र ध्यानमा राखेर फिल्म बनाइनँ। पैसा र भावनात्मक पक्षबाट हेर्दा पारिवारिक समय लथालिंग छ।'
तर यस्तै परिस्थिति भोगाइबाट आफ्ना फिल्महरू र यो किताब जन्मेको बताउँछन्। भविष्यमा अझै केही राम्रा कथा र सिनेमा जन्मने सम्भावना देख्छन्।
किताबमा 'समस्या' शीर्षकको आलेख पनि छ। प्रायः मानिस वास्तविक जीवनमा सधैं समस्याबाट भाग्न खोज्ने उनी बताउँछन्। तर मनोज भने यसको उल्टो, सिनेमाका लागि समस्यालाई सबभन्दा आवश्यक मान्छन्।
भने, 'समस्या छैन भने सिनेमा नै समस्यामा पर्छ। सिनेमामा समस्या आउनु भनेको मानिसका आफ्नै समस्या बुझ्ने अवसर हो। सिनेमामा मान्छेका समस्या बढीभन्दा बढी प्रभावकारी ढंगले ल्याइनु जरुरी छ।'
यही विशेषताका कारण राम्रा फिल्मले मान्छे र समाजका समस्या बुझ्न योगदान दिने उनको तर्क छ। त्यसैले सायद, मनोजका फिल्म समाजका कुनै न कुनै समस्यामा केन्द्रित छन्।
सशस्त्र युद्धको चेपुवा परेका पात्रहरूको समस्या चित्रण गरिएको 'बधशाला', मदन भण्डारीको रहस्यमयी हत्या प्रकरणमा बनेको 'दासढुंगा', बाल यौनशोषणको विषय देखाइएको 'छाया' उदाहरण हुन्। समस्या केन्द्रित उनका यी फिल्म राम्राको सूचीमा पर्दै आएका छन्।
सिनेमा बहुविधागत विषय हो। त्यसैले सिनेमा र मान्छेको अन्तर्सम्बन्ध बुझ्न राजनीति, मनोविज्ञान धर्म, समाजशास्त्र लगायत विधा अध्ययनलाई आफूले महत्व दिएको उनी जोड दिन्छन्। भने, 'मैले किताबमा यही बहुविधागत कोणबाट विश्लेषण—संश्लेषण गर्ने कोसिस गरेको छु।'
सिनेमाबारे निरन्तर पत्रपत्रिकामा लेख्दै आएका मनोजले किताब नै लेख्न भनेर टिपोट गर्न थालेको दुई वर्षअघिदेखि हो। लकडाउन सदुपयोग गर्दै उनले तेस्रो ड्राफ्टमा किताब सकेका हुन्।
पहिलो ड्राफ्ट फिल्म समीक्षकहरू अनुप सुवेदी र यज्ञशलाई देखाएर सुझाव लिएका थिए। चिया गफमा निर्देशक नवीन सुब्बासँग सिनेमासम्बन्धी गफगाफबाट पनि किताबभित्रका आफ्ना विचार माझ्न सघाएको उनले बताए। यसबाहेक श्रीमती सोफियाको सुझावले पनि महत्वपूर्ण साथ दिएको उनले बताए।
यो किताब लेख्न मनोजले धेरै फिल्म भने हेरेनन्। उनको खास रूचि मानव सभ्यतामा कथा कहिलेदेखि भन्न थालियो भन्ने कुरामा थियो। इतिहासदेखि नायक वा खलनायक कसरी निर्माण भए भन्ने सोधखोजमा बढी समय दिएका उनले एक दर्जनजति वृत्तचित्रको सहारा भने लिए।
सिनेमा बनाउने र यसबारे लेख्ने काममा आफ्नै सामाजिक सन्दर्भमा धेरै काम नभएको महसुस भएर किताब निकालेको उनको तर्क छ। निर्देशन र लेखन दुवै विधाको अनुभव सँगालेका मनोज सिनेमा र किताब दुवैलाई बौद्धिक उत्पादनका रूपमा हेर्छन्। तर नेपालमा अझै पनि किताब र सिनेमालाई अलग राखेर हेर्ने गल्ती भइरहेको उनको टिप्पणी छ।
'खासमा दुवै ज्ञानकै उपज र उत्पादन हुन्। सिनेमा बनाउँदा जुन ज्ञान खपत हुन्छ, मैले त्यसलाई किताबमा ढालेको मात्र हुँ,' उनले भने, 'सिनेमालाई बौद्धिक मन्थनको विषय बनाउनेतर्फ यो किताबले पाठकलाई प्रेरित गर्यो भने मेरो प्रयास सफल हुनेछ।'