बलिउड फिल्म 'सनम तेरी कसम' बाट चर्चा कमाएकी पाकिस्तानी अभिनेत्री मावरा होकानेले बिहे गरेकी छन्।
बुधबार आफ्नो बिहे भएको घोषणा गर्दै उनले सामाजिक सञ्जालमा तस्बिरहरू राखेकी हुन्।
मावराले पाकिस्तानी अभिनेता आमिर गिलानीसँग बिहे गरेकी हुन्।
मावरा र आमिरले टेलिभिजन सिरियल 'सबात' र 'नीम' मा एकसाथ काम गरेका थिए। उनीहरूको अन-स्क्रिन केमेस्ट्री दर्शकले धेरै रूचाएका थिए। लामो समयदेखि उनीहरूको प्रेम सम्बन्धको चर्चा पनि चलिरहेको थियो। तर दुवैले कहिल्यै आफ्नो सम्बन्धबारे औपचारिक पुष्टि गरेका थिएनन्।
प्रशंसकहरूले उनीहरूलाई शुभकामना दिएका छन्।
मावराले 'सनम तेरी कसम' मार्फत भारतीय फिल्ममा डेब्यु गरेर दर्शकहरूको मन जितेकी थिइन्। हर्षवर्धन राणेसँग उनको अनस्क्रिन केमेस्ट्री दर्शकले खुबै रूचाएका थिए।
सुरूमा बक्सअफिसमा नचले पनि पछि यो फिल्मले खुब चर्चा पायो। राधिका राव र विनय सप्रुद्वारा निर्देशित यो रोमान्टिक ड्रामा ओटिटी प्लेटफर्महरूमा राम्रो चल्यो। अब यो फिल्म फेब्रुअरी ७ मा पुनः प्रदर्शनका लागि सिनेमा हलमा रिलिज हुँदैछ।
त्यस्तै निर्माण टिमले यसको सिक्वेल बनाउने कुरा पनि गरेका छन्।