ऋषभ शेट्टीको फिल्म 'कान्तारा च्याप्टर १' घरेलु बक्स अफिसमा ५०० करोडको आँकडा नजिक पुगेको छ।
शानदार ओपनिङका साथ घरेलु बक्स अफिसमा उत्कृष्ट प्रदर्शन गरेको फिल्मले बिहीबारसम्म भारतमा ४८५.४० करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्।
फिल्मले दोस्रो सप्ताहन्तमा राम्रो प्रदर्शन गर्दै दुई दिनमा ७८.७५ करोड भारू कमाएको थियो। तर, दोस्रो सोमबार फिल्मको कमाईमा तीव्र गिरावट आयो र १३.३५ करोड मात्र संकलन गर्यो।
दोस्रो बुधबार फिल्मले १०.५ करोड कमायो। दोस्रो बिहिबार यसको कमाई अझै घट्दै ९ करोडमा झरेको छ। योसँगै फिल्मको कमाइ ४८५.४० करोड भारू पुगेको हो। यसको विश्वव्यापी कमाइ भने यसअघि नै ५ सय करोड नाघिसकेको छ।
'कान्तारा च्याप्टर १' ठूला फिल्महरूलाई पछि पार्दै यस वर्षको दोस्रो सर्वाधिक कमाई गर्ने भारतीय फिल्म बनेको छ। यद्यपि, यो फिल्म अझै विक्की कौशलको 'छावा' भन्दा पछि छ। उक्त फिल्मले भारतमा ६०१.५४ करोड नेट र विश्वव्यापी ८०७.९१ करोड भारू कमाएर यस वर्षको अहिलेसम्मको सबभन्दा धेरै कमाई गर्ने फिल्म बनेको छ।
'कान्ताराः च्याप्टर १' ऋषभ शेट्टीद्वारा निर्देशित र अभिनीत एक पौराणिक एक्सन ड्रामा हो। यो २०२२ को ब्लकबस्टर 'कान्तारा' को प्रिक्वेल हो। यसमा रूक्मिणी वसन्त, गुलशन देवैया र जयराम लगायतको पनि महत्वपूर्ण अभिनय छ।