सेयर बजार विश्लेषण
सेयर बजारमा लगानी गर्नेहरूका लागि कतिखेर कुन कम्पनीको सेयर किन्ने र कुन कम्पनीको बेच्ने भनेर निर्णय लिनु साह्रै चुनौतीपूर्ण कुरा हो।
बजारका हल्ला वा ट्रेन्डले धेरैलाई छिटो निर्णय गर्न बाध्य बनाउँछ। तर सेयरमा सुरक्षित लगानी गर्ने हो भने नियमित बजार विश्लेषण र तथ्यमा आधारित समीक्षा आवश्यक हुन्छ। सोचेर गरेको लगानी नै अन्ततः सुरक्षित र फाइदाजनक हुनेछ।
यसका लागि लगानीकर्ताहरूले बजारको मनोविज्ञान, कम्पनीको नाफा–नोक्सान र सरकारका नीतिगत निर्णय मिहिन रूपमा केलाउनुपर्छ।
बजारको मनोविज्ञान बुझ्ने एउटा तरिका अघिल्लो दिनको सेयर बजारको अवस्था हेर्ने हो।
मंगलबारको कारोबार हेर्दा सेयर बजारका सबै समूहमा सुधार देखिएको थियो। तीमध्ये जलविद्युत समूह पनि वृद्धि हुनेमा पर्छ।
विकास बैंकपछि सबभन्दा धेरै उछाल आएको क्षेत्र यही हो। जलविद्युत समूहको परिसूचक मंगलबार ३.९ प्रतिशत बढेर ३२८२ अंक पुगेको थियो।
किन बढे जलविद्युत् कम्पनीका सेयर?
सेयर ब्रोकरहरूका अनुसार यो क्षेत्रमा सुधार आउने चार मुख्य कारण छन् —
१. आन्दोलनको कम प्रभाव
भदौ २३ र २४ को जेन–जी आन्दोलनले अन्य क्षेत्रका व्यवसायमा असर पारे पनि अधिकांश जलविद्युत परियोजनामा त्यसको प्रत्यक्ष प्रभाव कम रह्यो। उत्पादन निरन्तर भइरहेकाले लगानीकर्ताको विश्वास टिकेको छ।
२. बाढीको सीमित असर
असोज मध्यमा आएको बाढीले केही आयोजनामा क्षति पुगे पनि सेयर बजारमा सूचीकृत कम्पनीहरूमा त्यसको हिस्सा एकदमै थोरै छ।
सेयर बजारमा ९० वटा जलविद्युत कम्पनीको कारोबार हुन्छ। तीमध्ये करिब एक दर्जन कम्पनीमा मात्र बाढीले असर पारेको छ। बाँकी कम्पनीमा केही असर परेको छैन। सञ्चालन सामान्य ढंगले भइरहेको छ।
३. ब्याजदर घट्दा राहत
हाल बैंकहरूको ब्याजदर घट्दो क्रममा छ। कतिपय जलविद्युत कम्पनीले बैंकको ऋण तिर्न बाँकी नै छ। ऋण लिएका त्यस्ता कम्पनीले ब्याज घटेपछि वित्तीय दबाब कम भएको महसुस गरेका छन्।
४. उत्पादन सिजन सुरू
अहिले जलविद्युत कम्पनीहरूको उत्पादन बढ्ने सिजन हो। त्यसैले जलविद्युत कम्पनीहरूको साउनदेखि असोजसम्मको वित्तीय विवरण राम्रो हुने देखिन्छ।
यसपालि कात्तिकमा समेत पानी पर्ने मौसमविदहरूले बताइरहेका छन्। त्यसैले कात्तिकदेखि पुससम्म उत्पादनमा कमी नआउने सम्भावना छ। यसले बिजुली उत्पादन र कम्पनीको आम्दानीमा सकारात्मक प्रभाव पार्न सक्छ।
लगानीका लागि कुन कम्पनी छान्ने?
सेयर लगानीकर्ताहरूलाई चिन्तित बनाउने मुख्य प्रश्न यही हो। यसका लागि हामीले केही ब्रोकरसँग कुरा गरेका छौं।
उनीहरूका अनुसार बजार बढ्दा सबै कम्पनीको सेयर मूल्य बढ्नु स्वाभाविक हो। तर लगानीकर्ताहरूले सेयर किन्दा लाभांश दिने क्षमता भएका र वित्तीय रूपले सुदृढ कम्पनी छान्नुपर्ने ब्रोकरहरू बताउँछन्।
सामान्यतया सञ्चित मुनाफा धेरै भएका कम्पनीको लाभांश दिने क्षमता बढी हुन्छ। यस्ता कम्पनी छान्दा लगानीकर्ताहरू कम नोक्सानमा पर्छन्।
त्यस्तै, हकप्रद सेयर दिने तयारीमा रहेका कम्पनी पनि आकर्षक हुन सक्छन्। तर ती कम्पनीले उठाएको पुँजी कुन प्रयोजनमा प्रयोग गर्छन् भन्ने बुझ्न जरूरी छ। कम्पनीहरूले ऋण तिर्ने वा आयोजना विस्तार गर्ने उद्देश्यले हकप्रद सेयरबाट पुँजी उठाउँछन्। यदि नयाँ आयोजना विस्तारका लागि पुँजी जुटाइँदै छ भने त्यसले भविष्यमा आम्दानीको नयाँ बाटा खोल्ने सम्भावना बढ्छ।
अहिले धितोपत्र बोर्डमा आधा दर्जन जलविद्युत कम्पनी हकप्रद सेयरको अनुमति मागेर बसेका छन्। केही कम्पनी विद्युत नियमन अयोगबाट हकप्रदको स्वीकृति पाएर धितोपत्र बोर्डमा अनुमतिका लागि जाने प्रक्रियामा छन्।
यस आधारमा हामीले कुरा गरेका ब्रोकरहरूले अहिलेको समय जलविद्युत कम्पनीहरूको सेयर आकर्षक रहेको बताएका छन्।
तर लगानी गर्नुअघि कम्पनीको वित्तीय विवरण, सेयर मूल्यको ट्रेन्ड र बजारको जोखिम राम्ररी अध्ययन गर्नुपर्ने उनीहरूको सुझाव छ। सेयर लगानीको निर्णय व्यक्तिगत विवेक र जोखिम सहने क्षमतामा आधारित हुने उनीहरू बताउँछन्।
***