बलिउड अभिनेत्री उर्मिला मातोन्डकरले श्रीमान मोहसिन अख्तर मीरसँग डिभोर्स गर्ने निर्णय लिएकी छन्।
भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार उनीहरूले विवाहको ८ वर्षपछि डिभोर्स गर्न लागेका हुन्। उनीहरू दुवैले आपसी सम्झदारीमा उक्त निर्णय लिएका हुन्। उनीहरूले डिभोर्स गर्नुको कारण भने खुलाएका छैनन्।
मोहसिन व्यवसायी र मोडल हुन्। उनीहरूको भेट फेसन डिजाइनर मनिष मल्होत्राको माध्यमबाट भएको थियो। सन् २०१४ मा मनिष मल्होत्राको भतिजीको विवाहमा उनीहरूको पहिलो भेट भएको थियो। त्यसपछि उनीहरूले सन् २०१६ मा विवाह गरेका थिए।
मोहसिन २१ वर्षमा कश्मीरबाट मुम्बई आएका थिए। सन् २००९ मा उनले फिल्म 'इट्स अ मेन्स वर्ल्ड' बाट अभिनयमा डेब्यू गरेका थिए। त्यसपछि उनले 'बाय चान्स', 'मुम्बई मस्त कलन्दर' र 'बिए पास' जस्ता फिल्ममा काम गरेका थिए। त्यसपछि उनी व्यवसायमा लागेका थिए।
उर्मिला मातोन्डकर छिट्टै वेब सिरिज 'तिवारी' मा देखिनेछिन्।