पुनः प्रदर्शन गरिएको हरर थ्रिलर फिल्म 'तुम्बाड' ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरिरहेको छ।
भारतीय सञ्चारमाध्यम आजतकका अनुसार फिल्मले तीन दिनमा ७ करोड ३४ लाख भारू कमाएको छ। १ करोड ६५ लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन २ करोड ६५ र तेस्रो दिन ३ करोड ४ लाख भारू कमाएको हो। सन् २०१८ मा प्रदर्शन भएको फिल्म १५ करोड भारू बजेटमा बनेको हो।
यसले पहिला रिलिज हुँदाभन्दा बढी कमाइ गरेको छ। फिल्मले फर्स्ट विकेन्डमा ३ करोड २५ लाख भारू कमाएको थियो।
राही अनिल बर्भे निर्देशित फिल्ममा सोहम शाह, ज्योति मल्से, धुन्दिराज प्रभाकर, मोहम्मद समाद, रूद्र सोनी, रोन्जीनी चक्रवर्तीलगायत कलाकारको अभिनय छ।
फिल्मले राम्रो प्रदर्शन गरेपछि यसको सिक्वेल निर्माण घोषणा गरिएको छ।