नितेश तिवारी निर्देशित फिल्म 'रामायण' मा दक्षिण भारतीय अभिनेता यश रावणको भूमिकामा देखिनेछन्।
भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनी फिल्मको छायांकन डिसेम्बरबाट सुरू गर्नेछन्। यशले फिल्मको लागि लुक टेस्ट पनि गराएका छन्।
'टक्सिक' को छायांकन सकेपछि यश 'रामायण' को छायांकनको तयारीमा जुटेका हुन्। यश चार महिनासम्म रामायणको छायांकनमा व्यस्त हुनेछन्।
फिल्ममा अभिनेता रणवीर कपूर रामको भूमिकामा देखिनेछन् भने साई पल्लवी सीताको। त्यस्तै हनुमानको भूमिकामा सनी देओल र कुम्भकर्णको भूमिकामा बबी देओल देखिने चर्चा छ। रावणका भाइ विभीषणको भूमिकामा अभिनेता विजय सेतुपति देखिने बताइएको छ।
निर्देशक नितेश, मधु मन्टेना, नमित मल्होत्रा र अल्लू अरविन्दको लगानी रहने फिल्म तीन भागमा बन्ने बताइएको छ। पहिलो भागमा राम र सीताको कहानी समावेश गरिनेछ।
प्यान इन्डियाको फिल्म सन् २०२५ प्रदर्शन हुनेछ।