दक्षिण भारतीय अभिनेता अल्लू अर्जुन अभिनीत फिल्म 'पुष्पाः द राइज' मा जुन मोडमा कहानी छोडिएको थियो, त्यसले दर्शकमाझ कौतूहलता बढाएको छ। फिल्म 'पुष्पाः द राइज' को सफलता भएदेखि नै यसको सिक्वेलको चर्चा भइरहेको छ।
यो फिल्मको मागलाई मध्यनजर गर्दै निर्माताले महँगो मूल्यमा डिजिटल राइट्स बेचेका छन्। भारतीय सञ्चारमाध्यम हिन्दुस्तान टाइम्सका अनुसार नेटफ्लिक्सले २७० करोड भारूमा 'पुष्पा २' को डिजिटल राइट्स किनेको हो।
योसँगै 'पुष्पा २' डिजिटल राइट्सको मामलामा सबैभन्दा महँगो भारतीय फिल्मको सूचीमा सामेल भएको छ। 'पुष्पा २' ओटिटीमा करोडौंमा बिक्ने भारतीय फिल्मको चौथो नम्बरमा छ।
पहिलो नम्बरमा 'आरआरआर' छ। जसलाई नेटफ्लिक्स, जी५ र हटस्टारले ३८५ करोड भारूमा किनेका थिए। दोस्रो नम्बरमा 'कल्की २८९८ एडी' छ। जसलाई नेटफ्लिक्स र प्राइम भिडिओले ३७५ करोड भारूमा किनेका थिए। तेस्रो नम्बरमा 'केजीएफ च्याप्टर २' छ। जसलाई प्राइम भिडिओले ३२० करोड भारूमा किनेका थिए।
यो फिल्मको बजेट ५०० करोड भारू बताइएको छ। फिल्ममा अल्लू अर्जुन र रश्मिका मन्दनासँगै फहद फासिलको पनि मुख्य भूमिका छ।
यो फिल्म डिसेम्बर ६ देखि प्रदर्शन हुनेछ।