अभिनेत्री कंगना रनावत आगामी फिल्म 'इमरजेन्सी' लाई लिएर चर्चामा छिन्।
फिल्ममा उनी भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखिँदैछिन्। प्रदर्शन मिति नजिकिएसँगै फिल्मलाई लिएर विवाद आइरहेको छ। शिरोमणि अकाली दलको दिल्ली इकाइले कंगनाको फिल्म 'इमरजेन्सी' विरूद्ध जुलुस निकालेको थियो। दलले सेन्सर बोर्ड र कंगनाको प्रोडक्सन हाउसलाई नोटिस समेत पठाएको थियो।
योसँगै उनको फिल्मलाई सेन्सर सर्टिफिकेट दिइएको छैन। कंगनाले सामाजिक सञ्जालमार्फत फिल्मलाई सर्टिफिकेट नदिइएको गुनासो गरेकी हुन्।
'हाम्रो फिल्मले सेन्सर बोर्ड सर्टिफिकेट पाएको छ भन्ने हल्ला चलिरहेको छ, यो सत्य होइन। हाम्रो फिल्म सेन्सर बोर्डले पास गरेको थियो तर यसको सर्टिफिकेट रोकिएको छ। हामीलाई धेरै ठाउँबाट ज्यान मार्ने धम्की आएको थियो। सेन्सर बोर्डलाई पनि धम्की दिइएको थियो,' उनले भनेकी छन्।
उनले थप्दै भनिन्, 'हामीलाई इन्दिरा गान्धीको हत्या, भिन्डरवाले, पन्जाबको दंगा नदेखाउन दबाब दिइएको छ। यो मेरा लागि अविश्वासनीय कुरा हो, देशको यस्तो अवस्थाप्रति म खेद व्यक्त गर्छु।'
कंगनाले निर्देशन गरेको फिल्म ६ सेक्टेम्बरदेखि हलमा रिलिज हुँदैछ।