बलिउड अभिनेता नवाजुद्दीन सिद्दिकी र उनकी श्रीमती आलियाको सम्बन्ध लामो समयदेखि चर्चाको विषय बनेको छ।
सन् २०२० मा दुवै बीचको सम्बन्धमा खटपट भएको खबर बाहिरिएको थियो। उनीहरूको विवाद अदालतसम्म पुग्यो। आलियाले नवाज र उनको परिवारमाथि दुर्व्यवहारको आरोप लगाएकी थिइन्। उनले आफ्नो छोरा र नवाजको डिएनए परीक्षण गराउन मागसमेत गरेकी थिइन्। तर उनीहरू आफ्नो बच्चाका लागि पुनः सम्बन्ध जोडिएका छन्।
यस खबरलाई आलियाले पुष्टी गरेकी हुन्। उनले इटाइम्ससँग कुराकानी गर्दै भनेकी छन्, 'एकसाथ र शान्तिसँग बस्ने निर्णय लिएका छौं। पछिल्लो समय मेरो जीवनमा धेरै परिवर्तन आयो। हामी दुनियाँमा नराम्रो चिज बाढ्न सक्छौं भने राम्रो चिज पनि बाढ्नु पर्छ। मलाई लाग्छ जुन राम्रो कुरा हो त्यो हुनुपर्छ।'
उनले अगाडि भनेकी छन्, 'मलाई लाग्छ कि हाम्रो सम्बन्धमा जुन समस्या आयो, त्यो जहिल्यै तेस्रो व्यक्तिको कारणले भयो। तर अब त्यो गलत बुझाई हटिसकेको छ। हामीले आफ्नो बच्चाको कारण आत्मसमर्पण गरिसक्यौं। अब जिन्दगीमा अलग रहनुको कुनै विकल्प छैन। किनकी सन्तान पनि ठूला भइसकेका छन्। साथै नवाज शोराको नजिक छ र जे जति भयो त्यो कुराले ऊ निकै चिन्तामा थिई। त्यस कारण हामी अब एकापसमा नलड्ने र शान्तिका साथ बस्ने निर्णय लिएका छौं।'
हालै आलियाले विवाहको १४ औं वर्षगाँठ मनाउँदै एउटा पारिवारिक भिडिओ सामाजिक सञ्जालमा राखेकी थिइन्।
नवाज र आलियाको भेट सन् २००४ मा भएको थियो। केही समयपछि उनीहरू लिभिङ टुगेदरमा बसेका थिए। उनीहरूले सन् २०१० मा विवाह गरेका थिए। उनीहरूको दुई सन्तान छन्।