बलिउड अभिनेता आमिर खानले भारतीय बक्स अफिसमा विभिन्न रेकर्ड राखेका छन्। १००० करोड कमाउने पहिलो बलिउड फिल्मसँगै उनले विदेशमा धेरै कमाउने फिल्मको पनि कीर्तिमान राखेका छन्।
'दंगल, गजनी, पिके, ३ इडियट्स' जस्ता फिल्ममा काम गरेका आमिरले कुनै अवार्ड लिएका छैनन्। यदि उनलाई अवार्ड दिइयो भने पनि अवार्ड अस्वीकार गर्छन्।
बलिउड कलाकारहरू अवार्ड समारोहमा आफ्नो प्रस्तुति दिएर महँगो पारिश्रमिक लिन्छन् तर आमिर भने कुनै अवार्ड समारोहमा सहभागी हुँदैनन्। पछिल्लो समय उनी सन् १९९५ मा फिल्मफेयर अवार्ड समारोहमा सहभागी भएका थिए।
सन् १९९२ मा आमिरको फिल्म 'जो जीता वही सिकंदर' प्रदर्शन भएको थियो। यस फिल्ममा उनको अभिनयको तारिफ भयो। यसै फिल्मबाट उनी फिल्मफेयर अवार्डमा मनोनीत भएका थिए।
उक्त वर्ष माधुरी दीक्षित र अनिल कपूरको फिल्म 'बेटा' पनि सुपरहिट भएको थियो। यसै फिल्मबाट अनिल कपूर मनोनयनमा परेका थिए। भारतीय सञ्चारमाध्यम न्युज १८ का अनुसार अभिनेता अमिर अवार्ड पाउनेमा आशावादी थिए। तर अनिल कपूरले फिल्मफेयर अवार्ड हात पारे।
सन् १९९५ मा आमिर फिल्म 'रंगीला' बाट फिल्मफेयर अवार्डमा मनोनीत भए। यसैवर्ष शाहरूख खानको फिल्म 'दिलवाले दुल्हनिया ले जाएंगे' प्रदर्शन भएको थियो। सन् १९९५ को फिल्मफेयर अवार्ड पनि शाहरूखले हात पारे।
दुई पटक खाली हात फर्किनु परेपछि उनले कुनै अवार्ड समारोहमा सहभागी नहुने निर्णय लिएका हुन्। त्यसपछि उनी कुनै फिल्मको लागि मनोनीत भए पनि अवार्ड समारोहमा जाँदैनन्।
पछिल्लो समय उनी अद्वैत चन्दनले निर्देशन गरेको फिल्म 'लाल सिंह चड्ढा' मा देखिएका थिए। फिल्ममा उनीसँगै करीना कपूर खानको मुख्य भूमिका थियो। तर फिल्मले बक्स अफिसमा राम्रो कमाइ गर्न सकेन।