माइक्रोसफ्टका संस्थापक बिल गेट्स यतिबेला प्रेमका कारण चर्चामा छन्।
उनी हालै विश्वका धनाढ्यमध्ये एक मुकेश अम्बानीको छोरा अनन्त अम्बानीको प्रि-वेडिङमा पुगेका थिए। त्यहाँ उनी आफ्नी प्रेमिका पाउला हर्डसँग पुगेका थिए।
३० वर्षको विवाह र माइक्रोसफ्टकी एक कर्मचारीसँग प्रेम सम्बन्ध टुटेपछि उनी पाउलाको प्रेममा परेका हुन्। बिल गेट्सले सन् २०२१ मा मेलिन्डा फ्रेन्च गेट्ससँग सम्बन्ध विच्छेद गरेका थिए। यसपछि उनी पाउलाको प्रेममा परेका हुन्। उनीहरूका तीन सन्तान जेनिफर गेट्स, फोबी गेट्स र रोरी गेट्स छन्।
पाउला ओरेकल कम्पनीका सिईओ मार्क हर्डकी पत्नी हुन्। मार्क हर्डको सन् २०१९ मा क्यान्सरका कारण मृत्यु भएको थियो। उनीहरूको दुई छोरी क्याथरीन र केली छिन्।
पाउलाले टेक्सस युनिभर्सिटीबाट डिग्री गरेकी छन्। उनी एक टेक कम्पनीमा काम गर्छिन्। साथै उनी इभेन्ट प्लानर पनि हुन्।
पिपुल डटकमका अनुसार सन् २०१५ मा बिल गेट्स र पाउलाको भेट एक टेनिस म्याचमा भएको थियो। उनीहरू दुवै टेनिसमा रूचि राख्थे। उनीहरूको बेलाबेलामा भेट भइरहन्थ्यो।
बिल गेट्स विश्वका छैटौं धनी व्यक्ति हुन्। उनको कुल सम्पत्ति १०५ अर्ब डलर छ। सन् १९७५ मा उनले माइक्रोसफ्ट नामको कम्पनी खोलेका थिए।