फिल्म 'परिवर्तन' मा समावेश गीत 'पाकेको चिउरी' सार्वजनिक गरिएको छ।
बिहीबार क्रिसमसको अवसर पारेर यो गीत युट्युबमा सार्वजनिक गरिएको हो।
लोकलयको गीतमा एसडी योगी र रेश्मा पुनको स्वर छ। मौसम अर्यालको शब्द रहेको गीतको संगीत निर्देशक एसडी योगी हुन्।
गीतको भिडिओमा फिल्मका मुख्य कलाकार अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री अञ्जना बराईलीको नृत्य छ। भिडिओमा प्रेमकथा देख्न सकिन्छ।
निर्देशक विजय केरूङले फिल्मको गीतलाई दर्शकहरूले मन पराउने विश्वास रहेको बताए।
उनले भने, 'फिल्मको कथा अनुसारकै गीतलाई रोजेका छौं। गाउँघरको टिपिकल शब्दलाई गीतमा बुनिएको हुनाले दर्शकहरूलाई छुने विश्वास छ।'
भिडिओका नृत्य निर्देशक रामजी लामिछाने हुन् भने शिव ढकालले खिचेका छन्।
दिब्यासी फिल्म्सको ब्यानरमा निर्माण भएको 'परिवर्तन' मा सुशील र अञ्जनासहित सरोज खनाल, करिश्मा मानन्धर, बुद्धि तामाङ, हेमन्त बुढाथोकी र सुवास मेचेलगायतको मुख्य अभिनय छ।
एक्सन-सस्पेन्स विधामा निर्माण गरिएको फिल्ममा दीपक सिवाकोटीको कथा तथा निर्माण, शिवम् अधिकारीको पटकथा तथा संवाद छ। श्री श्रेष्ठको द्धन्द्ध निर्देशन रहेको फिल्म बन्दे प्रसादले सम्पादन गर्नेछन्।
'परिवर्तन' माघ ९ गतेदेखि प्रदर्शनमा आउने तालिका छ।