मनोवैज्ञानिक थ्रिलर फिल्म 'द ब्लु लाइट' को टिजर सार्वजनिक भएको छ।
बिहीबार क्रिसमसको अवसर पारेर सार्वजनिक टिजर अभिनेता महेश त्रिपाठी र अभिनेत्री बेनिशा हमालको संवादसँगै सुरू हुन्छ।
पात्रहरूको मनोवैज्ञानिक तनाव, प्रेम, रोमान्स, आक्रमण, प्रतिशोध, हत्या, त्रास र कानुनी फन्दालगायतललाई टिजरमा देखाउने प्रयास गरिएको छ।
प्रहरीले बयान लिइरहेको दृश्यसँगै अपराधका श्रृंखलाबद्ध घटना टिजरमा समावेश छन्। दृश्यमा निलो प्रकाश प्रयोग गरिएको छ।
निर्माण टिमले टिजर रिलिजसँगै फिल्म प्रदर्शनको नयाँ मिति पनि सार्वजनिक गरेको छ। यसअघि पुस १० गते रिलिज हुने भनिएको फिल्म अब माघ १६ गतेदेखि प्रदर्शनमा आउने भएको हो।
बलिराम चौहानको निर्देशन रहेको 'द ब्लु लाइट' को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, आयुष्मान देशराज जोशी, सृष्टि श्रेष्ठ, महेश त्रिपाठी र सुरक्षा इटानी छन्। फिल्ममा बाल कलाकारमा ग्रिस्मा कटुवाल र सहारा शर्माको अभिनय छ।
स्काइफल पिक्चर्सले प्रस्तुत गरेको फिल्मको सह-निर्मातामा भोलानाथ कटुवाल र रमन ग्रे छन्। कार्यकारी निर्माता छायाँकार नरेन्द्र मैनाली र अभिनेत्री बेनिशा हमाल हुन्।
यस्तो छ टिजर