प्रियना आचार्य (मुन्नी) टेलिसिरियलबाट दर्शकमाझ चिनिएकी कलाकार हुन्। त्यसअघि नाटकमा अभिनय गरे पनि 'भद्रगोल' र 'सक्किगोनि' खेलेपछि उनी चर्चामा आएकी थिइन्।
अहिले भने प्रियना फिल्म अभिनयमा डेब्यु गरिसकेकी छिन्। अभिनयसँगै नृत्यमा पनि रूचि राख्ने प्रियनाले दर्जनौं म्युजिक भिडिओमा मोडलिङ गरेकी छन्।
यद्यपि, म्युजिक भिडिओको सन्दर्भमा आफूलाई अलि 'लक्की' नभएको महसुस हुने गरेको उनी बताउँछिन्।
सेतोपाटीसँगको भिडिओ कुराकानीमा उनले भनिन्, 'मैले म्युजिक भिडिओ पनि धेरै खेलेँ। कुनै समय त हरेक दिनजसो सुटिङ हुन्थ्यो। त्यो समय पनि आफैमा रमाइलो थियो। म्युजिक भिडिओमा धेरै समय पनि दिनु पर्दैनथ्यो।'
यो पनिः अभिनेत्री बन्न बेलायत छाडेकी प्रियना उर्फ 'मुन्नी'
धेरै गीतमा मोडलिङ गरे पनि अडिओ अपेक्षित हिट नभएको उनको भनाइ छ।
उनले अगाडि थपिन् 'म म्युजिक भिडिओमा लक्की छु जस्तो लाग्दैन। प्रोजेक्ट धेरै आउँथे, तर अडिओ क्लिक भएको धेरै भएन। काम त गरेँ, तर 'लक' भन्ने कुरा पनि हुँदोरहेछ जस्तो लाग्छ।'
उनका अनुसार कामको अफरका हिसाबले म्युजिक भिडिओ फापे पनि अडिओ पक्षमा भने अझै लोभ लाग्ने उनले बताइन्।
'भिजुअल त फाप्यो, तर अडिओवाइज मलाई अहिले पनि लोभ लाग्छ। त्यसैले निर्देशक वा साथीहरूलाई भन्ने गर्छु-एउटा राम्रो अडियो भएको गीत आयो भने मलाई सम्झिनु है,' प्रियनाले भनिन्।
प्रियना अभिनीत फिल्म 'झरीपछिको इन्द्रेणी' यतिबेला देशभरका सिनेमा हलमा प्रदर्शनरत छ।