चलचित्र विकास बोर्डले बक्स अफिस एपमा प्राविधिक समस्या देखिएको जनाएको छ।
शुक्रबार एक सूचना जारी गर्दै बोर्डले सर्भर अस्थायी रूपमा प्रभावित भई विगत ४३ घण्टादेखि समस्या देखिएको स्पष्ट पारेको छ।
केन्द्रीय चलचित्र व्यवस्थापन प्रणालीमा उत्पन्न प्राविधिक समस्याका कारण बक्स अफिस एप सञ्चालनमा बाधा पुगेको बोर्डको भनाइ छ। यद्यपि, सर्भरमा समस्या आएको यस अवधिमा पनि नेपालभर प्रदर्शनमा रहेका चलचित्रहरूको सम्पूर्ण रियल टाइम बक्स अफिस डाटा तीनवटा ब्याकअप सर्भरहरूमा सुरक्षित रहेको बोर्डले जानकारी दिएको छ।
सूचनामा भनिएको छ, 'प्राविधिक टोली निरन्तर मर्मत कार्यमा जुटिरहेको छ। यथासम्भव छिटो प्रणाली पुनः सञ्चालनमा ल्याई बक्स अफिस@सिनेपा: एपमार्फत रियल टाइम रिपोर्ट हेर्न मिल्ने व्यवस्था गरिनेछ।'
बक्स अफिस एप नचलेपछि 'जेरी अन टप' का निर्माता सरोज न्यौपानेले शुक्रबार नै चलचित्र विकास बोर्डलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए।
