अभिनेत्री स्वस्तिमा खड्काले अभिनय करिअर थालेको १० वर्ष पूरा भएको छ। एक दशकको यात्रा पूरा भएको अवसरमा उनले मंगलबार सामाजिक सञ्जालमा एक भावनात्मक सन्देश सार्वजनिक गरेकी छन्। जहाँ उनले अभिनय यात्राको सुरूआतदेखि हालसम्मको अनुभवनलाई शब्दमा उतारेकी छन्।
पहिलो फिल्मको अनुभवलाई सम्झँदै स्वस्तिमाले लेखेकी छिन्, 'पहिलोपटक आफूलाई सेतो पर्दामा देख्दा अलिकता लाज थियो, अलिकता उत्साह र अलिकता गर्वानुभूति थियो। समयको सुइँ खट्खट खट्खट् दौडिएर १० वर्षको किशोर भइसकेछ। म अहिले १० वर्षकी कलिली स्वस्तिमालाई हेरिरहेकी छु।'
आफूले प्रायः पछाडि फर्किएर जीवनलाई नहेर्ने बताउँदै उनले यसपटक पर्दाको जीवनले १० वर्षे खुड्किलो उक्लिएपछि भने विगतलाई फर्किएर हेरेको र यसमा आनन्द महसुस भएको उल्लेख गरेकी छिन्।
उनले लेखेकी छन्, 'म प्रायः पछाडि फर्किएर जीवनलाई हेर्दिनँ। यसले कहिलेकाहीँ मानिसलाई विचलित बनाउँछ। ओहो! यति धेरै गरिसकें भन्ने भावले अहंकारी बनाउँछ। 'हत्तेरी! केही गर्नै सकिनँ' भन्ने अनुभूतिले वैराग्यको बाटोमा हिँडाउँछ। म अहंकारी र वैरागी दुवै हुन चाहन्नँ।'
उनले अगाडि लेखेकी छन्, 'त्यसैले यतिका वर्ष म पैतालाका छाप नहेरी अघिअघि हिँडिरहें। तर, पर्दाको जीवनले १० वर्षको खुड्किलो उक्लिएपछि मलाई एकपटक टक्क अडिएर पछाडि फर्किन मन लाग्यो। फर्किएर हेर्दा मलाई आनन्द लाग्यो।'
१० वर्षमा सिकेका कुरा, भेटेका मान्छे र भोगेका क्षणले अब आउने आफ्नो दसौं वर्षलाई डोर्याउने उनको बुझाइ छ।
स्वस्तिमा अभिनयको कुनै औपचारिक ज्ञानबिना नै फिल्म क्षेत्रमा प्रवेश गरेकी थिइन्। काम गर्दै जाँदा र अग्रजहरूको मार्गदर्शनले आफूलाई फिल्मको 'कखरा' सिकाएको उनले बताएकी छिन्।
उनले थपेकी छिन्, 'म अहिले सिनेमाको वर्णमाला सिक्दै छु। यो ज्ञानले मलाई अब आउने अनेकौं दशकमा परिपक्व बनाउँदै लैजानेछ। यो यात्रा सम्झेर म रोमाञ्चित भइरहन्छु।'
उनले यो यात्रामा साथ दिने, अवसर दिने, अस्वीकार गर्ने र लड्दा उठाउने सबैप्रति कृतज्ञता समेत व्यक्त गरेकी छन्।
आगामी दिनमा पनि दर्शकको माया पाउने अपेक्षासहित उनले लेखेकी छन्, 'म प्रेमले सधैं यसैगरी भिजिरहन पाऊँ!'
सन् २०१५ मा 'होस्टेल रिटन्र्स’ बाट अभिनय यात्रा थालेकी स्वस्तिमाले 'छक्का पञ्जा' शृंखला, 'बुलबुल', 'पशुपति प्रसाद २ः भस्मे डन', 'दिमाग खराब' लगायतका फिल्ममा अभिनय गरेकी छन्।
'बुलबुल' बाट उनले राष्ट्रिय चलचित्र पुरस्कारमा 'सर्वोत्कृष्ट अभिनेत्री' को अवार्ड समेत जितेकी थिइन्। उनको आगामी फिल्म 'हरिबहादुरको जुत्ता' दसैंको फूलपातीमा प्रदर्शनमा आउँदैछ।