सुपरहिट फिल्म 'जारी' को दोस्रो शृंङ्खला 'जारी २' को प्रदर्शन मिति घोषणा गरिएको छ।
निर्माताले शुक्रबार तीनवटा पोस्टर ल्याउँदै फिल्म असोज ३ गतेदेखि प्रदर्शनमा आउने घोषणा गरेका हुन्।
कवि उपेन्द्र सुब्बाको लेखन तथा निर्देशनमा बनेको यो फिल्ममा दयाहाङ राई, मिरूना मगर, विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरूङ, प्रेम सुब्बा, माओत्से गुरूङलगायत कलाकारहरूको अभिनय छ।
बाँसुरी फिल्मसले कबड्डी फिल्मसँगको सहकार्यमा निर्माण गरेको यो फिल्मलाई 'जारी २ः संङ अफ च्याब्रुङ' भनिएको छ। फिल्मको निर्माता रामबाबु गुरूङ, मधु मिजार र जिवन गुरूङ हुन्।
उपेन्द्र सुब्बाको डेब्यु निर्देशन रहेको फिल्म 'जारी' ले नेपाली बक्सअफिसमा १७ करोडमाथिको व्यापार गरेको थियो। सोहीकारण पनि 'जारी २' लाई प्रतीक्षित फिल्म मानिएको छ।
सार्वजनिक भएका तीन पोस्टरले लिम्बु समुदाय र उनीहरूको संस्कृतिको अभिन्न पाटो 'च्याब्रुङ' बाजाको सेरोफेरोमा फिल्मले कथा पस्कने बुझ्न सकिन्छ।

