विजय बरालले वर्षको उत्कृष्ट अभिनेताको अवार्ड पाएपछि पुराना संघर्षका दिन सम्झिएका छन्।
सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित 'राष्ट्रिय चलचित्र पुरस्कार २०८१' मा फिल्म 'पूर्णबहादुरको सारंगी' बाट विजय उत्कृष्ट अभिनेता घोषित भए। चलचित्र विकास बोर्डले प्रदान गर्दै आएको यो अवार्ड पाएपछि विजयले मण्डला थिएटरको पुरानो मञ्चदेखि फिल्ममा पहिलोपटक क्यामेराअगाडि उभिदाको क्षण सम्झँदै खुसी साटेका छन्। उनले यो आफ्नो पहिलो अवार्ड भएको बताउँदै लामो स्टाटसमा लेखेका छन्–
यसबेला म सम्झिरहेको छु, मण्डलाको त्यो पुरानो मञ्च। जहाँ अभिनयको पहिलो पाइला चालेको थिएँ। डराउँदै, अत्तालिदै र आफैभित्र उत्साह संगालेर गरेको त्यो यात्रामा, जब 'छड्के' फिल्मको लागि पहिलोपटक क्यामेराअगाडि उभिएको थिएँ, म भावुकताको एउटा सिंगो नदी बगेको थिए।
आज ती सबै क्षणहरू एकैचोटि मानसपटलमा सम्झना बनेर आइरहेका छन। मन नै त्यो यस्तो ठाउँ रहेछ, जहाँ सबैको सम्झना र याद एकैपटक संगाल्न सकिनेरहेछ। ताते गर्दादेखि आजसम्मको यात्रामा भेटिनुभएका सबैलाई म एकैपटक सम्झिरहेको छु।
यो मेरो जीवनकै पहिलो अवार्ड, राष्ट्रियस्तरको उच्च अवार्ड। तर यो अवार्ड मेरो मात्रै अवार्ड भएको छैन। यो तपाइहरू सबैको अवार्ड हो, जो मेरो मनको कुनामा हुनुहुन्छ र मसँगै खुसी भइरहनुभएको छ। यहाँसम्म म एक्लै आएको हैन। यो लामो यात्राको हिस्सामा तपाइहरू सबै हुनुहुन्छ। तपाइहरू सबैको हिस्सा संगालेर आफ्नो छातीमाझमा यो अवार्ड राखिरहेको छु।
यतिखेर मनभरि खुसी छ, आँखा रसाएका छन्, मुस्कुराउदा मुस्कुराउदै रोकिएर भावुक बनेको छु- यो म मात्र होइन, तपाईंहरूको माया, उत्प्रेरणा, र साथको विजय हो।
म तपाईंहरू सबैलाई एकमुष्ठ धन्यवाद भन्न चाहन्छु।
–मण्डलाका ती साँघुरा गल्लीहरू, जसले मलाई अभिनयको फराकिलो बाटो हिँडायो। आफ्नो सपना संगाल्दै आफू भएर बाँच्न सिकायो।
–साथीहरू, जसले कहिल्यै साथ छाडेनन्। उकालोमा हात दिए, ओरालोमा सहारा बनिदिए र समथरमा अंगालो हालिदिए।
–परिवार, जसको विश्वास मेरो मूल शक्ति रह्यो। जसको भरोषा सधैं मेरो आत्मबल बनिरह्यो।
–अग्रजहरू, जसले मलाई लड्खडाउन दिएनन्। असल यात्राका लागि पाठशाला बनिरहे।
–सहकर्मी कलाकारहरू, जो सँगै मेरो कला निखारियो। मञ्च र पर्दामा मलाई साथ दिनुभयो। तपाइहरूको असल भूमिकाकै कारण, मैले सफल चरित्र निर्वाह गर्न सके।
–पूर्णबहादुरको सारंगी टिम, जसले मलाई पूर्णबहादुरको पूर्ण भूमिकामा विश्वास गर्नुभयो। त्यो सारंगी मेरो हातमा थमाइदिएर, त्यसको धुनलाई सबैमाझ पुर्याइदिनुभयो।
–र तपाईंहरू, जसले मप्रतिको माया कहिल्यै घट्न दिनुभएन। यो अनवरत लामो यात्राको साक्षी बस्नुभयो। मलाई हौसला र प्रेरणा दिइरहनुभयो।
'अभिनय मेरो धर्म, संघर्ष र साधना मेरो कर्म'
र यो अवार्ड त्यसैको पहिचान हो। तपाईहरूको विश्वासको प्रतिफल हो।
अब यो अवार्ड केवल एउटा अवार्ड मात्र होइन्, तपाइहरूको मायाको चिनो हो। एउटा जिम्मेवार कलाकार बन्नको लागि तपाइहरूले गर्नुभएको प्रेमको प्रतीक हो। म तपाइहरूको प्रेम र प्रेरणाको लागि आभारी छु।
सपना संगाल्दै, थिएटरको मन्चदेखि सिनेमाको पर्दासम्मको यो यात्रामाझ— यो अवार्ड तपाइहरू सबैप्रति समर्पित गर्दै, यसलाई आफ्नो हृदय छेउमै राख्ने वाचा गर्दछु।
म कृतज्ञ छु। भावुक छु। झनै प्रतिबद्ध छु। आभारी पनि।