टेलिसिरियल (टेलिफिल्म) 'बाचा बन्धन' दर्शकमाझ आउने भएको छ।
यही जेठ ३१ गते (शनिबार) देखि दर्शकमाझ आउन लागेको सिरियलको आइतबार ट्रेलर सार्वजनिक गरिएको छ।
सार्वजनिक ट्रेलरमा नयाँ/पुराना एक दर्जन हाराहारी कलाकारहरूलाई देख्न सकिन्छ। यसअघि 'जुठे' सिरियलमा देखिँदै आएकी सरिता ढुंगाना 'बाचा बन्धन' मा शीर्ष भूमिकामा देखिँदैछिन्। म्युजिक भिडिओ मोडल समेत रहेकी उनी सिरियलका दर्शकमाझ चर्चित छिन्।
त्यस्तै, प्रकाश सपुतको गीत 'सकम्बरी' बाट चर्चामा आएकी मोडल तथा अभिनेत्री कुसुम शर्माले यो सिरियलमा अभिनय गरेकी छन्। 'वर एन्ड वधु' बाट फिल्ममा डेब्यु गरेकी कुसुम अभिनीत 'जन्ते बाख्रो' यतिबेला देशभरका हलमा प्रदर्शनरत छ।
सिरियलमा सरिता र कुसुमका साथमा प्रशान्त बुढाथोकी, हेमराज घर्ती, विशाल पहाडी, रश्मी भट्ट, सुभाष गजुरेल, प्रेमदेव गिरी, प्रिया रिजाललगायत थुप्रै कलाकारहरूको अभिनय रहनेछ।
३० वर्ष पहिले र अहिलेको दुई पुस्ताको रोचक ऐतिहासिक प्रेम कथामा यो टेलिसिरियल आउन लागेको निर्माणपक्षले जनाएको छ। टेलिसिरियलको लेखक तथा निर्देशक यज्ञजंग विक (आयुष) हुन्। कमल बुढाथोकी र दीपा बुढाथोकीले सिरियल निर्माण गरेका हुन्।
यो टेलिसिरियल शनिबार बेलुका ७ बजे ओएसआर डिजिटल युट्युबमार्फत पहिलो भाग सार्वजनिक हुने र प्रत्येक शनिबार साँझ ७ बजे नै दर्शहरूले 'बाचा बन्धन' हेर्न सक्ने निर्माणपक्षले जनाएको छ।
बनिरहेका अन्य टेलिसिरियल भन्दा फरक कथामा आउन लागेको र दर्शकहरूले रूचाउने विश्वास निर्माण पक्षको छ। सिरियलमा शिव वि.क.को छायांकन र उमेश थापा मगरको सम्पादन रहनेछ।