नेपाली सर्टफिल्म 'पाउलो' (द शुज) अमेरिकाको अथेन्टिक ग्लोबल फिल्म फेस्टिभलको फाइनलमा पुगेको छ।
विश्वभरबाट सहभागी १७० देशका ३,५०० भन्दा बढी फिल्महरूबाट ३८ फिल्म छनोट गरिएको छ। अमेरिकाको लस एन्जलसको बेभर्ली हिल्स, फाइन आर्ट थिएटरमा जुन १२ र १३ मा फेस्टिभल आयोजना हुँदैछ। अथेन्टिक ग्लोबल फिल्म फेस्टिभलका संस्थापक गेर्शोम सिकाला, दक्षिणी अफ्रिकाको जाम्बियाका एक हलिउड सेलिब्रेटी, मार्गदर्शक र राजकुमार हुन्।
सर्टफिल्म 'पाउलो' यसअघि भारतको इन्टरनेशनल सिने अवार्डमा बेस्ट सर्ट फिल्म, बेस्ट स्टोरी वरीजिनल, बेस्ट डिरेक्टर फेस्टभल मेन्सन अवार्ड प्राप्त गरिसकेको छ। 'पाउलो' चीनको स्मलरीग अवार्ड र भारतको सीएमएस इन्टरनेशनल चील्ड्रेन्स फिल्म फेस्टिभलमा पनि नोमिनेशनमा परेको थियो। रसियाको किनो फेस्टिभल 'लाईट अफ द वर्ल्ड', जिम्वावेको भर्सिटी फिल्म एक्स्पो, भारतको विजाग इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल, बेलायतको लिफ्ट अफ ग्लोबल नेटवर्क सेसन लगायतका थुप्रै चलचित्र महोत्सवहरूमा 'पाउलो' छनोटसमेत भएको थियो। छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको (एनसिआईएफ) मा स्पेशल स्क्रिनिङ गरिएको थियो।
जुत्ताको कथावस्तु रहेको लघुचलचित्र 'पाउलो' मा प्रशान्त हुमागाईं, सुवास सिलवाल, मोहन श्रेष्ठ, उद्धव दंगाल, नरेन भट्टराई, निश्चल कार्की, सम्पन्न दाहाल, लिजेश थापा, सन्देश थापा, नारायणराज चौलागाईंले अभिनय गरेका छन्। काठमाडौंमा छायांकन गरिएको पाउलोमा रेनुका कार्कीको कास्टिङ डिरेक्सन रहेको छ भने प्रोडक्सन म्यानेजमेन्ट चक्र प्रसाद पोख्रेलले गरेका छन्। आर्ट डिरेक्सन सुरेन्द्र क्षेत्रीको रहेको छ र सहायक निर्देशन करन साउदले गरेका छन्। लघुचलचित्रको छायांकन नारायण जिसीले गरेका हुन् र सम्पादन अनिल कुमार महर्जनले गरेका छन्।
लघुचलचित्र 'पाउलो' पशुपति परिसरमा बस्ने परिवारविहिन एक सडक बालकको कथा हो। जसमा सुरूदेखि अन्त्यसम्म मुख्य पात्र जुत्तालाई नै बनाइएको छ। यहाँ कलाकार वा पात्रले जुत्तालाई हैन, जुत्ताले कथाका पात्रहरूलाई घुमाइरहन्छ। त्यही जुत्ताले कसैलाई खुसी थपिदिन्छ त कसैलाई रूवाउँछ वा समयअनुसार उही मानिसलाई दुःखी बनाइदिन्छ। जुत्ता एउटा सामाग्री मात्र हैन, मानवीय अनुभुतिहरू पनि हुन् भन्ने यस लघुचलचित्रको मुख्य सार रहेको छ। जुत्ताको कथा रहेको 'पाउलो' लाई ब्ल्याक हर्स जुत्ता कम्पनीले प्रायोजन गरेको छ। ब्ल्याक हर्सले नेपालमा विभित्र ब्राण्डेड जुत्ता तथा चप्पलहरूको उत्पादन तथा वितरण गर्दै आइरहेको छ।
ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र पाउलोको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन्। अन्य चलचित्रहरूमा व्यक्तिलाई पात्रको रूपमा उभ्याउने गरिएतापनि यस लघुचलचित्रमा भने जुत्तालाई नै मुख्य पात्र र जीवनको रूपमा उतार्ने प्रयास गरिएको उनी बताउँछन्। उनले निर्माण गरेको घुर्रा, भाउ, द स्कूल वाल, एक जोर जुत्ता, दृश्य लगायतका लघुचलचिहरू विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो।