गत बुधबारदेखि प्रदर्शनमा आएको फिल्म 'लाज शरणम्' को मर्मस्पर्शी गीत 'च्यातिएको चोली' सार्वजनिक गरिएको छ।
निर्माण टिमले फिल्म रिलिजको केही दिनपछि सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर छ।
गीतमा वसन्त उदासको शब्द र संगीत छ। भिडिओमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ।
एक दम्पतीको दुःखसुख र संघर्षलाई भिडिओमा मार्मीक ढंगले प्रस्तुत गरिएको छ।
फिल्मका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड रहेको यस गीतले फिल्मको मुख्य कथावस्तु झल्काएको छ।
'च्यातिएको चोली' गीतमार्फत दर्शकलाई कर्णालीसँग भावनात्मक रूपमा जोड्ने प्रयास गरिएको छ। यस गीतले दुई मुख्य पात्रबीचको प्रेमकथा तथा उनीहरूको संघर्ष र अभावलाई उजागर गरेको छ।
फिल्म 'लाज शरणम्' कुमार कट्टेलको निर्देशनमा बनेको हो। लोकप्रिय हास्य टेलिश्रृंखला 'सक्किगोनि' को टिमले निर्माण गरेको 'लाज शरणम्' मा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, महेश त्रिपाठी, रेणु योगी, अर्जुन घिमिरे, अर्पण थापा, मुकुन्द श्रेष्ठ, सागर लम्साल, हरिष निरौलालगायतका कलाकारहरूको अभिनय छ।