फिल्म 'हर्ष' को शिवरात्रिको अवसर पारेर काठमाडौंको ठमेलस्थिति त्रिदेवी मन्दिरमा शुभमूहूर्त गरिएको छ।
डेब्यु निर्देशक एकता पौडेलको निर्देशन रहने यो फिल्ममा खगेन्द्र लामिछाने र वर्षा राउतको प्रमुख अभिनय रहनेछ। साथमा सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहारी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापित समेतको अभिनय रहनेछ।
एकता पौडेल दिवंगत निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म मेकिङ अध्ययन गरेकी उनले केही छोटा फिल्महरू बनाएकी छन्।
'हर्ष' को कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन्। पारिवारिक तथा सामाजिक कथामा फिल्म बन्नेछ।
फागुन १७ गते (शनिबार)देखि छायांकनमा जाने फिल्म आलोक शुक्लाले खिच्नेछन्।
ई–प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सन ब्यानरमा बन्ने फिल्ममा संगीत वसन्त सापकोटा र एलिश कार्कीको रहनेछ भने सुनील क्षेत्री कोरियोग्राफर रहनेछन्। फिल्म लोकेश बज्राचार्यले सम्पादन गर्नेछन्।
प्रशन्न पौडेल र विकास पौडेल फिल्मका निर्माता हुन् भने कार्यकारी निर्मातामा हिक्मत चोखल छन्। कुलदिप शर्मा मुख्य सहायक निर्देशक तथा ईश्वर घिमिरेले निर्माण नियन्त्रकका रूपमा काम गर्दैछन्।
फिल्म २०८२ सालमा रिलिज हुने जनाइएको छ।
