बुधबार एकैदिन तीनवटा फिल्म प्रदर्शनमा आएका छन्।
महाशिवरात्रि पर्वको अवसर पारेर 'लाज शरणम्', 'फेरि रेशम फिलिली' र 'मायावी' देशभरका हलमा रिलिज भएका हुन्।
नेपालमा शुक्रबार फिल्म रिलिज गर्ने परम्परा रहे पनि यो साता पर्वको अवसर पार्दै बुधबारै रिलिज गरिएको हो।
'लाज शरणम्' चर्चित हास्य सिरियल सक्किगोनिको टिमले बताएको फिल्म हो। कुमार कट्टेलको निर्देशनमा बनेको फिल्ममा सीताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्पण थापा, हरि निरौला, मुकुन्द श्रेष्ठ, विजय लामा, अर्जुन घिमिरे, सागर लम्साल, कमलमणि नेपाल, महेश त्रिपाठी, रेणुनाथ योगी, प्रियाना आचार्य, बबिन राई लगायतको अभिनय छ। सामाजिक कथामा बनेको यस फिल्मको रनटाइम २ घण्टा ४१ मिनेट तय छ।
निरोज महर्जन निर्देशित 'फेरि रेशम फिलिली' २०७२ सालमा रिलिज फिल्म 'रेशम फिलिली' को सिक्वेल हो।
'फेरि रेशम फिलिली' मा विनय श्रेष्ठ र सुपुष्पा भट्टले मुख्य भूमिकामा अभिनय गरेका छन्। साथमा कामेश्वर चौरासिया, नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, रविन्द्र झा लगायतको अभिनय छ। यसमा अमेरिका सपनाको कथा उठाइएको छ। कमेडी र मनोरञ्जनात्मक यो फिल्मको रनटाइम २ घण्टा २२ मिनेट तय छ।
दिवाकर भट्टराई निर्देशित 'मायावी' भने लभस्टोरी विधाको फिल्म हो। यसमा पल शाह, दीपिका प्रसाईं, प्रशान्त ताम्राकार, करिश्मा श्रेष्ठ, समिम खान, सुशील सिटौला लगायतले शीर्ष भूमिकामा अभिनय गरेका छन्। यो फिल्मको रनटाइम २ घण्टा २१ मिनेट छ।
फिल्म बजार चलायमान बनाउने अपेक्षा
यसवर्ष तिहारमा रिलिज फिल्म 'पूर्णबहादुरको सारंगी' कीर्तिमानी कमाइ गर्यो। यो फिल्मले घरेलु बक्सअफिसबाट ५० करोड हाराहारी कमायो।
कात्तिक ३० मा रिलिज 'ह्स्व दीर्घ' र मंसिर ७ मा रिलिज 'तेल भिसा' को व्यापार औसत रह्यो। यसपछि थुप्रै फिल्म रिलिज भए पनि व्यापार राम्रो गर्न सकेनन्। कति फिल्म आएको/गएको दर्शकलाई पत्तो समेत भएन्। तीन महिना फिल्मको व्यापार सुस्तायो।
अब भने सुस्ताएको व्यापार चलायमान हुने संकेत देखिएको छ। आज (बुधबार) रिलिज फिल्मले बजार चलायमान बनाउने देखिएको हो। अग्रिम बुकिङमा 'लाज शरणम्' को कतिपय शो मंगलबार बेलुकै हाउसफुल भएका छन्। बुकिङ राम्रो हुँदा कतिपय मल्टिप्लेक्सले शो समेत थपेका छन्।
'फेरि रेशम फिलिली' र 'मायावी' ले प्रिमियरमा राम्रो प्रतिक्रिया पाएका छन्। यी फिल्मको व्यापार पनि राम्रो हुने अपेक्षा गरिएको छ।