एसएलसी पास भएपछि कालिका क्याम्पस भर्ना भएका कर्णदासको स्वर जनप्रिय क्याम्पस पढ्ने कुमार गुरूङले सुनेछन्।
कुमारले क्याम्पस पढ्दा नै मध्याह्न ब्याण्ड खोलिसकेका थिए। ब्याण्डका भोकलिष्ट थिए, कुमार। उनले आफ्नो ठाउँ कर्णदासलाई दिएर ब्याण्डमा भित्राए।
स्कुल पढ्दा विवेक श्रेष्ठ कक्षामै गीत गाउँथे। संगीतकार सुनिल थापा डेस्कलाई ड्रम वा मादल बजाएझैं बजाउँथे। उनीहरूलाई कन्दरा ब्याण्डले लग्यो।
रामबजारको देउराली युवा क्लबलाई युवाहरूले ब्याण्डमा रूपान्तरण गरे। श्यामसुङ तामाङको भागाबोण्ड ब्याण्डले त २०४७ सालमै भारतको सिलगुडी पुगेर ड्रम सेट, गितार र एम्लिफायर किने। रानीपौवामा बसेर गीत संगीतको अभ्यास गरे।
त्यतिबेला पोखराको टोलटोलमा सांगीतिक ब्याण्ड थियो। गीतमा गाउँका सुर र शब्द थिए। प्रकृति र संस्कृति मिसाएका थिए। बाजामा परम्परागत मादल, बाँसुरी, सारङ्गी त छँदै थिए। उनीहरूले इलेक्ट्रिक गितार र ड्रम सेट मिसाए।
![Vegabond-Band-ka-ShyamSung-Tamang-Perform-Gardai-1739196845.jpg](https://www.setopati.com/uploads/posts/Vegabond-Band-ka-ShyamSung-Tamang-Perform-Gardai-1739196845.jpg)
कन्दराका गायक विवेक श्रेष्ठका अनुसार त्यतिबेला पाका बुढाबुढीहरू उरन्ठेउला केटाहरू बर्खाको भेलझैं आएको भनेर गाली गर्थे। नेपाली गीत संगीत बिगारेको आरोप लगाउँथे। उनीहरूलाई हौसला दिनेहरूको पनि कमी थिएन।
टोलटोलमा बनेका ब्याण्डले रचेका गीत रेकर्ड गर्न पैसा हुन्थेन। तिहारमा देउँसी भैलो खेलेको पैसाले काठमाडौं पुगेर गीत रेकर्ड गराए।
सन् १९९० को दशक पोखरेली संगीतको स्वर्णकाल थियो। पोखराले नेपाली संगीतको आकाश थामेको थियो। त्यतिबेला पोखरामा जन्मिएका चर्चित ७ वटा ब्याण्ड शनिबार एउटै स्टेज सेयर गरे।
अन्तिममा गाएका कन्दराका गायक श्रेष्ठले भने, ‘९० को दशकको विरासत हामी नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहन्छौं। पोखरा, फेरि जुर्मुराउनेछ।’
शनिबार मध्यरातसम्म पोखरा लोक पप संगीतले गुञ्जयमान भयो। त्यो साँझ, पुराना गीतहरूमा झुमेको थियो। जुन गीतले नेपाली लोक पप संगीतलाई स्थापित मात्र गराएन, त्यसको नेतृत्व पनि पोखराका ब्याण्डहरूले गरेका थिए।
पोखरामा जन्मिएर हुर्किएका ब्याण्डहरूले दर्शकलाई नचाएनन् मात्र दर्शकका गहभरि आँसु रसाए। पुराना दिनहरूको याद दिलाए। अनि नयाँ पुस्तालाई संगीतको त्यो विरासत फर्काउन आह्वान पनि गरे।
निर्धारित समयभन्दा झण्डै डेढ घण्टा ढिलो सुरूआत गर्दा पनि दर्शक पुराना दिनका गीतहरू पर्खेर बसेका थिए।
![Kanda-Band-ka-Bibek-Shrestha-Perform-Gardai-1739196844.jpg](https://www.setopati.com/uploads/posts/Kanda-Band-ka-Bibek-Shrestha-Perform-Gardai-1739196844.jpg)
उद्घाटन सत्रका निरसिलो समय व्यतित गर्न उनीहरू आत्तिएनन्। जब पोखराको पुरानो ब्याण्ड द भागाबोण्डका भोकलिष्ट श्यामसुङ तामाङ स्टेजमा देखिए। दर्शकले हुटिङ गर्न थाले।
गायक तामाङले स्टेजमा चढ्ने बित्तिकै गाउन थाले– यो जिन्दागानी।
गीत गाइसकेपछि उनले यो गीत झण्डै ३५ वर्ष अघि निकालेको पनि उद्घोष गरे। भागाब्याण्डको यो गीतपछि पोखराकै अर्को लोकप्रिय ब्याण्ड नेपथ्यले पनि गाएको छ। जुन गीत अहिले पनि उत्तिकै हिट छ।
‘तपाईंहरूले धेरै धेरै धेरै धन्यवाद है। यो ओरिजिनल हो, मैले गाएको,’ उनले गीत गाएर स्टेजबाट भने, ‘आज भन्दा ३४/३५ वर्ष अघि बनेको हो यो गीत। जस्ताको तस्तै गाएको है।’
कन्सर्टमा पहिलो गीत गाएका तामाङलाई दर्शकले फेरि गाउन अनुरोध गरे। वर्षौंपछि स्टेज उक्लिएका तामाङले दर्शकका अनुरोध अनदेखा गर्न सकेनन्। उनले दोहोर्याए– जीवन हो घाम छाया।
सुखदु:ख दुबै हुन्छ।
यो जिन्दगानी। यो जिन्दगानी। यो जिन्दगानी।
भागाब्याण्डले २ वटा गीत गाएर स्टेजबाट ओझेल परे। लगत्तै देखिए, लेकाली ब्याण्डका शान्त बज्राचार्य। उनले ढुङ्गे साँघुको मेलैमा गीत गाउँदा दर्शक छमछमी नाचे। जुन मेला पोखराको ढुङ्गेसाँघुमा बर्सेनि माघ १ गते लाग्छ। परापूर्वकालदेखि लाग्दै आएको मेला देखेर नै उनले उक्त गीत बनाएका थिए।
‘स्कुल पढ्दादेखि नै ढुङ्गे साँघुको मेलाबारे गीत बनाउने सोच आयो। त्यतिबेला नै शब्द लेखेर राखेको थिएँ,’ भोकलिष्ट शान्तले भने, ‘कलेज पढ्ने बेला शब्दहरू हेराफेरी गरेर गीत बनाएँ।’
साहित्यकार सरूभक्तले पोखरामा चिनियाँ कम्पनीले मोटरबाटो बनाउँदै गरेको दृश्य शब्दमा उनेर चाइना कम्पनी गीत लेखेका थिए। त्यही गीत लिएर स्टेजमा उक्लिए, ब्रो–सिस ब्याण्डका भोकलिष्ट प्रकाश राना।
उनका स्वरमा स्वर मिलाएर दर्शकले पनि गाउन थाले। पुराना दिनहरू याद गर्न थाले। नयाँ पुस्ताका युवा पनि पुराना गीतमा उत्तिकै रमाए।
पोखराका लोकप्रिय अर्का गायक कर्णदासले पनि ३० को दशकमा मध्याह्न ब्याण्ड बनाएका थिए। पहिले उनलाई मध्याह्नका कर्णदास भनेर मान्छेले चिन्थे। पछि कर्णदासको मध्याह्न भन्न थाले।
मध्याह्न ब्याण्डले निकालेको पहिलो एल्बम मध्याह्न भाग– १ मा राखिएको गीत जिन्दगीको के भरोसा अझै पुरानो भएको रहेनछ। शब्द– शब्द नबिराई दर्शकले पनि साथ दिए।
स्टेजमा लेकाली ब्याण्डका भोकलिष्टद्वय हर्कराज गुरूङ र नवीन गुरूङले पालैपालो यो मुटुमा, समपनीमा, कहाँबाट र पहिलो नजर अनि पहिलो भेटमा गीत गाए। लेकाली ब्याण्डको ‘यो मुटुमा माया धेरै धड्कन बढ्दै आयो, तर आज मायालुको धेरै याद आयो’ बोलको गीतको संगीतले नै दर्शकलाई पुरानो सांगीतिक युगको याद दिलाइदियो। जसले आँखाभरी टिलपिल आँसु बनाइदियो।
उक्त गीतको क्लिप सामाजिक संजालमा राख्दै एक प्रयोगकर्ताले लेखेका छन्, 'समय त हाम्रै बेलाको राम्रो। गीत पनि कति मिठो।'
पोखराका पुराना ब्याण्डहरूलाई एउटै स्टेजमा उतार्दा डिमर्चा र कन्दरा ब्याण्डले मात्र आफ्नै सांगीतिक टोली उतार्न सक्यो। बाँकी ब्याण्डका सदस्यहरू लाखापाखा लागिसकेका रहेछन्। केहीका भोकलिष्ट मात्र बाँकी। उनीहरूमध्ये पनि कतिपय त लामो समय विदेश बसेर फर्किएका।
‘साथीभाइ सबै बाहिर छन्। म मात्र यहीँ छु। मियो मात्र भएर भएन नि। खम्बाहरू पनि चाहियो,’ ब्रोसिस ब्याण्डका भोकलिष्ट प्रकाश राना भन्छन्, ‘मियोले काम गरिराखेको छ। संगीत छाडेको छैन। नयाँ गीतहरू पनि पस्किएको छु।’
![Lekali-Band-ka-Harka-Raj-Gurung-Bhai-Perform-Gardai-1739196845.jpg](https://www.setopati.com/uploads/posts/Lekali-Band-ka-Harka-Raj-Gurung-Bhai-Perform-Gardai-1739196845.jpg)
डिमर्चा ब्याण्ड अहिले पनि पोखरामा सक्रिय छ। ब्याण्डले आफ्नो चर्चित गीतहरू कैलाशैमा, झ्याम्म झ्याम्म र झ्याम्मै चौतारी गीत पस्किए। कैलाशैमा गीत प्रस्तुत गर्दा शंखको धुनले दर्शकलाई उल्लास छरिदियो।
गीत प्रस्तुत गर्दै गर्दा डिमर्चाका भोकलिष्ट भाष्करध्वज श्रेष्ठले ब्याण्डको नामको अर्थ पनि खुलाइदिए।
उनका अनुसार डि भनेको डेन्जर। मर्चा भनेको रक्सी बनाउने मर्चा। डेन्जर मर्चाले बनेको रक्सी। उनले आफ्नो ब्याण्डका गीतहहरू पनि त्यस्तै डेन्जर मर्चाले बनेको रक्सीले जस्तै लागोस् भनेर ब्याण्डको नाम डिमर्चा राखेका रहेछन्।
‘तपाईंहरूलाई थाहा छ मर्चा को भनेको के हो। रक्सी बनाउने मर्चा। मर्चाले बनाएको रक्सी लाग्छ। डि बनेको डेन्जर। डेन्जर मर्चाले बनाएको रक्सीले जस्तै हाम्रो संगीतले डेन्जर लागोस् भनेर ब्याण्डको नाम नै डिमर्चा,’ उनले भने।
सन् १९९० को दशकमा जन्मिएका ब्याण्डहरूलाई एउटै स्टेजमा उतार्दा अन्तिम प्रस्तुति थियो, कन्दरा ब्याण्डको। यतिबेला रातको साढे १० बजिसकेको थियो। ब्याण्डका भोकलिष्ट विवेक श्रेष्ठ स्टेजमा देखिएपछि दर्शकले हुटिङ गर्न थाले।
उनले सुरूआतमा 'तगारोमा रुमाल राखी बाटो छेक्यौ तिमीले' गीत गाए। अनि 'लेककी हे माया र हङकङ पोखरा'। जुन कन्दरा ब्याण्डलाई विश्वभर चिनाउने गीतहरू थिए। पोखरेली दर्शकका मुखमा झुण्डिएका गीतहरू।
मध्यरातसम्म दर्शकले साथ दिएकोमा भोकलिष्ट श्रेष्ठ दंग परे। झण्डै एक वर्षअघि नयाँ बजारको सोही प्रदर्शनी केन्द्रमा एकल कन्सर्ट आयोजना गर्दा पनि कन्दरालाई दर्शकले उत्तिकै साथ दिएको थियो। सोही कन्सर्टबाट ‘पहिले घरदेश अनि परदेश’ नारा दिएर सांगीतिक अभियानमा जुटेको कन्दरा अहिले विभिन्न देशमा सांगीतिक कन्सर्ट गर्दैछ। नेपालका पनि विभिन्न ठाउँमा कन्दराले कन्सर्ट गरिसकेको छ।
पोखरा सांगीतिक कलाकार संघ र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा शनिबार एउटै स्टेजमा ७ वटा पोखरेली लोक पप ब्याण्ड उतार्न सम्भव भएको हो। ‘ब्याक टु नाइन्टिज, विरासतलाई फर्केर हेर्दा’ कार्यक्रममार्फत् फेरि त्यो विरासत फर्काउने बेला भएको प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले बताए।
‘हामी पोखराको सांगीतिक विरासत फर्काउन चाहन्छौं, अब वर्षैपिच्छे यो कार्यक्रमले निरन्तरता पाउँछ,’ उनले भने, ‘जसरी ९० को दशकमा लोकपप विद्यामा नेपाली संगीतको नेतृत्व पोखराले गर्यो, अब फेरि त्यो विरासत फर्काउने बेला आएको छ।’
कन्दराका गायक विवेक श्रेष्ठले पनि पोखराको विरासत नयाँ पुस्तालाई हस्तान्तरण गर्न चाहेको बताए।
‘हामी यो कार्यक्रममार्फत नयाँ पुस्तालाई ९० को दशकको विरासत हस्तान्तरण गर्न चाहन्छौं,’ उनले स्टेजबाट भने, ‘पोखरा फेरि जुर्मुराउनेछ।’
कसरी जन्मिए यी ब्याण्डहरू?
सन् १९९० को दशक वरिपरि पोखरेली युवाहरू गितार बोकेर हिँड्थे। चौतारीमा बसेर गीत गुनगुनाउँथे। टिनएजका युवाहरू कहिलेकाहीँ टोल र पोखरा सभागृहमा कन्सर्ट गर्थे। उनीहरूको कन्सर्टमा इलेक्ट्रिक गितार र ड्रमसेट बजेकै हुन्थ्यो।
युवा पुस्ताले गाउने गीतका शब्दहरू गाउँ गाउँबाट टिपेर ल्याइएका थिए। भाका पनि गाउँकै जस्तो सुनिने। संगीतमा भने विदेशी बाजा मिसाएका थिए। नेपाली बाजा बाँसुरी, मादल र सारङ्गी पनि उनीहरूले छुटाएका थिएनन्।
युवाहरूले ल्याएका यी गीतहरूलाई संगीतका पारखीले लोक पप भनेर नाम दिए। अहिले नेपाली संगीतमा लोक पपले आफ्नो स्थान सुरक्षित बनाइसकेको छ। त्यो स्थानको ठूलो हिस्सा पोखरामा बनेका गीतहरूले ओगटेका छन्।
‘यो उरन्ठेउला केटाहरू बर्खाको भेल जस्तै के के गर्छन् गर्छन् भनेर गाली गर्थे,’ कन्दराका गायक विवेक श्रेष्ठले सेतोपाटीलाई भने, ‘हामीले पुराना बाजाहरूमा इलेक्ट्रिक गितार र ड्रम मिसाएका थियौं। धुन, शब्द र भाका मौलिक नै थियो। कालान्तरमा यसलाई लोकपप भनियो।’
त्यतिबेला पोखराका टोल टोलमा ब्याण्ड थियो। युवाहरू गितार बोकेर नयाँ नयाँ गीत सिर्जना गर्न तल्लीन हुन्थे। दर्जनौं ब्याण्डहरू अहिले कतिपय हराइसके। कतिपयले गीत रेकर्ड गराउनै सकेनन्। कतिपय ब्याण्डका रेकर्ड गरिएका गीत पनि अहिले सार्वजनिक प्लेटफर्ममा छैनन्।
‘ब्याण्ड बनाउने एउटा बाढी नै जस्तो थियो त्यो बेला,’ श्रेष्ठ भन्छन्, ‘संङ्लिँदै जाँदा राम्रा ब्याण्डहरू बाँचिरहे।’
कन्दरा ब्याण्डको स्थापना सन् १९९२ मा संगीतकर्मीहरू बुद्धराज बज्राचार्य,, दीपकराज मुल्मी, विजय गुरूङ लगायतले स्थापना गरेका थिए। उनीहरूले सानैदेखि गीत गाउन रूचि राख्ने विवेक र संगीतकार सुनिल थापालाई ब्याण्डमा जोडे। अनि पहिलो एल्बम निकाले–चञ्चले कान्छी।
पहिलो एल्बम नै हिट भएपछि कन्दरा स्थापित भयो। कन्दराले दोस्रो एल्बम लेककी हे माया र तेस्रो एल्बम हङकङ पोखरा ल्यायो। तीन वटा एल्बम निकाल्दासम्म कन्दरा विश्वभरका नेपालीमाझ चर्चित भइसकेको थियो।
शान्त बज्राचार्यको देउराली ब्याण्डको नाम युवा क्लबको नामबाट राखिएको हो। पोखराको रामबजारमा पहिले देउराली क्लब थियो। उनीहरू क्लबलाई खुब माया गर्थे। गितार बोकेर गीत गाउँदै हिँड्ने त उनीहरूको सौख नै थियो।
क्लबका युवाहरू समयक्रममा विदेश पलायन भए। उनीहरू क्लबलाई कसरी जीवन्त राख्न सकिन्छ भनेर घोत्लिए। अनि क्लबलाई देउराली ब्याण्डमा रूपान्तरण गरे।
उनीहरूले ब्याण्ड बनाएको २०४७ सालतिरै हो। त्यतिबेला उनीहरू गीत बनाउने र गाउने गर्दथे। रेकर्ड गर्नुअघि नै टोलमा सुनाउँथे।
ढुङ्गे साँघुको मेलैमा गीत समावेश गरेर उनीहरूले २०५२ सालमा पहिलो एल्बम निकाले। एल्बम निकालेकै वर्ष उनीहरू कन्सर्ट गर्न पाल्पा गए। पोखरा सभागृहमा भने २०५३ मा पहिलो कन्सर्ट गरेका थिए।
‘त्यतिबेला एकदम रमाइलो थियो। रौनकता थियो। टोलटोलमा सांगीतिक ब्याण्ड थियो। कन्सर्टमा दर्शकको घुइँचो थामिनसक्नु हुन्थ्यो,’ शान्त भन्छन्, ‘दर्शकको साथले पनि त्यतिबेला संगीतमा लाग्न प्रोत्साहन दिन्थ्यो।’
![Back-to-90's-Crowd-PIC-1739196844.jpg](https://www.setopati.com/uploads/posts/Back-to-90's-Crowd-PIC-1739196844.jpg)
कर्णदास र कुमार गुरूङले २०५४ सालमा बनाएको ब्याण्डले लगातार तीनवटा एल्बम निकालेपछि ब्याण्डका सदस्यहरू कोही विदेश पलायन भए। कोही आफ्नै पेसा व्यवसायमा डुब्न थाले। तत्कालीन समयमा ‘हाउडे केटाहरू’को उपमा पाएका उनीहरूलाई संगीतमा लाग्न ढाडस दिने व्यक्तिहरू पनि थिए।
मध्याह्न ब्याण्ड बनाउनुअघि नेपथ्यको जोमसोमै बजारमा, ईश्वर गुरूङको नमस्ते ब्याण्डको जाउँ है पोखरा, कन्दराको चंचले कान्छी र ब्रोसिस ब्याण्डको बस सुन्दरी गीत गितार बजाउँदै चौतारीमा गाएको याद उनलाई अझै ताजै छ।
‘हामी एसएलसी पास भएदेखि नै गितार बजाउन थालेका हौं, हामीले सुरूमा अग्रजका गीत गाउँदै हिँड्यौं,’ उनले भने, ‘ब्याण्ड बनाएपछि हामीले सिर्जना गर्न थाल्यौं। कला क्षेत्र राम्रो हुन्छ है भनेर भावना दिने व्यक्तिहरूले हामीलाई हौसला दिन्थे।’
पोखरामा जन्मिएका ब्याण्डहरूमा सम्भवतः सबभन्दा पुरानो ब्याण्ड हो, श्यामसुङ तामाङको भागाबोण्ड ब्याण्ड। २०४६ सालतिर रामकाजी गुरूङको संगतबाट उनले संगीतमा लाग्न प्रेरणा पाएका थिए। २०४७ सालमै भारतको सिलगुडी गएर ड्रम सेट, गितार र एम्लिफायर ल्याएर उनीहरू पोखराको रानीपौवामा गीत संगीतको अभ्यास गर्थे।
भागाबोण्ड ब्याण्डले गीत रेकर्ड गराउनुअघि नै नयाँ गीत कन्सर्टमा सुनाउँथे। उनीहरू नाटक मञ्चन गर्थे।
त्यतिबेला ब्याण्ड बनाएर गीत तयार हुँदासम्म रेकर्ड गर्न युवाहरूसँग पैसा हुन्थेन। कन्दराका गायक श्रेष्ठका अनुसार तिहारमा देउँसीभैलो खेलेर उनीहरू पैसा जम्मा गर्थे। अनि तयार गरेका गीत रेकर्ड गर्न काठमाडौं हानिन्थे।
‘हामी कोही पनि पैसा भएर संगीतमा लागेका थिएनौं। गीत रेकर्ड गर्न पैसा हुन्थेन,’ उनले भने, ‘तिहारमा देउँसी भैलो खेलेर पैसा जम्मा गथ्र्यो। अनि काठमाडौं गएर रेकर्ड गथ्र्यौं।’
ब्रोसिस ब्याण्डका प्रकाश रानाको कथा पनि अरु ब्याण्डका जस्तै छन्। सन् १९९७ मा ५ जना मिलेर ब्याण्ड बनाएका उनको टोलीले पहिलो पटक सन् १९९८ मा पृथ्वीनारायण क्याम्पसमा ब्रोसिस नाइट कन्सर्ट गरेका थिए।
![Deurali-Band-ka-Shanta-Raj-bajracharya-Perform-Gardai-1739196845.jpg](https://www.setopati.com/uploads/posts/Deurali-Band-ka-Shanta-Raj-bajracharya-Perform-Gardai-1739196845.jpg)
यही बर्ष ब्याण्डले बस सुन्दरी गीत समावेश गरेर ब्रोसिस भोलुम १ एल्बम निकाल्यो। १९९९ मा चाइना कम्पनी गीत राखेर ब्रोसिस भोलुम २ निकाल्यो। २०१० सम्म्म ब्याण्ड चलेकै थियो। नेपालका विभिन्न शहरदेखि विदेशमा हङकङ, बहराइन, कतार लगायत देशमा कन्सर्ट गर्न पुग्यो।
त्यसपछि ब्याण्डका सदस्यहरू संगीतबाट पलायन हुन थाले। देशविदेश जान थाले। मुख्य गायक प्रकाश राना आफै ५ वर्ष जापान गएर बसेको बताउँछन्।
‘कलाकारलाई पनि बेरोजगार बन्नुपर्ने परिस्थिति आउँछ। अझै पनि विदेशिनुपर्ने अवस्था छ,’ उनले भने, ‘हाम्रो ब्याण्डका साथीहरु पयालन हुनुभयो। म पनि ५ वर्ष जापान बसें।’
पोखराको डाँफे कला मन्दिरका संचालक पृथ्वीमान गुरुङसँग सिकेका प्रकाश अब नेपालमै बसेर संगीत सिर्जनामा लाग्ने प्रण गरेका छन्।
‘हाम्रो गीत अहिलेका युवा पुस्ताले पनि मन पराएका छन्। मैले नयाँ पुस्ताका भाइबहिनीलाई चाइना कम्पनी गीत सुनेका छौं भनेर सोध्ने छु, उनीहरूले सुनेका छौं मन पर्छ भनेर प्रतिक्रिया दिन्छन्,’ उनले भने।
पोखरामा जन्मेका सबै ब्याण्डलाई एउटै स्टेजमा उतार्न आयोजित कार्यक्रममा चर्चित ब्याण्डहरु नेपथ्य, परिवेश लगायत समावेश भएनन्।
कार्यक्रमका परिकल्पनाकार गण्डकी प्रज्ञा प्रतिष्ठानका उपकुलपति गोरे गुरूङका अनुसार परिवेश ब्याण्डका गायक तिलकबम मल्ल अमेरिका छन्। नेपथ्य ब्याण्ड अन्तर्राष्ट्रिय सांगीतिक टुरमा व्यस्त भएकाले आउन नपाएको बताउँछन्।
‘हामीले सम्भव भएसम्म पोखराका सबै ब्याण्डलाई स्टेजमा उतारेका छौं,’ उनले भने, ‘अहिलेसम्म यस्तो भएको थिएन। आगामी दिनमा सम्भव भयो भने सबै ब्याण्डलाई एउटै स्टेजमा उतार्नुपर्छ। नयाँ पुस्तालाई पोखरेली संगीतको विरासत बुझाउनुपर्छ।’
सबै तस्बिर स्रोत: गण्डकी प्रज्ञा प्रतिष्ठान