चलचित्र विकास बोर्डले बनेपा नगरपालिकाको वडा नं. १० र १३ मा निर्माण हुन लागेको इनडोर सुटिङ स्टुडियोका लागि बोलपत्र (टेन्डर) आह्वान गरेको छ।
विकास बोर्डले सार्वजनिक गरेको सूचना अनुसार, निर्माणका लागि इच्छुक कम्पनीहरूलाई आगामी ३० दिनभित्र ई–बिडिङमार्फत आवेदन दिन आग्रह गरिएको छ।
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीका अनुसार, यो स्टुडियो सम्भवतः नेपालकै सबैभन्दा ठूलो आकारको इनडोर सुटिङ स्टुडियो हुनेछ। निजी क्षेत्रसँग केही स्टुडियो भए पनि यसअघि चलचित्र क्षेत्रसंग आफ्नो स्टुडियो भने थिएन।
यो परियोजनाले स्वदेशी फिल्म उद्योगलाई अत्याधुनिक प्रविधिसहित सहज ढंगको सुटिङ स्थल प्रदान गर्ने विश्वास लिइएको छ।
बनेपाको ४२ रोपनी क्षेत्रफलमा निर्माण हुने उक्त स्टुडियो विगत केही वर्षदेखि योजनामा रहे पनि कार्यान्वयन चरणमा जान सकेको थिएन। यो स्टुडियोको शिलान्यास २ महिनाभित्र गर्ने बोर्डको योजना रहेको छ ।
स्टुडियो निर्माणपछि स्वदेशी चलचित्रका निर्माता तथा निर्देशकलाई आधुनिक सुटिङ प्रविधि र सुविधासहितको वातावरण उपलब्ध हुने अपेक्षा गरिएको छ।