यही माघ १६ गतेदेखि प्रदर्शनमा आउने फिल्म 'एक्टरः टेक वान' को ट्रेलर सार्वजनिक गरिएको छ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमकाबीच सार्वजनिक ट्रेलरले त्रिकोणात्मक प्रेमकथा र महत्वाकांक्षी पात्रहरूबीचको द्वन्द्वलाई केन्द्रमा राखेको छ।
फिल्मका मुख्य कलाकारहरू प्रदीप खड्का, आना शर्मा, दिव्या रायमाझी र राजबल्लभ कोइरालालाई ट्रेलरमा केन्द्रमा छन्।
प्रेमकथा, द्वन्द्व र सस्पेन्सको मिश्रण ट्रेलरमा छ।
ट्रेलरले प्रदीप खड्काको महत्वाकांक्षी चरित्रको कथा देखाउँछ, जसलाई आफ्नो लक्ष्य प्राप्त गर्न विभिन्न तगाराहरू पार गर्नुपर्छ। राजबल्लभ कोइरालाको क्यारेक्टर षड्यन्त्र र द्वन्द्व सिर्जना गर्न भूमिका खेल्ने खालको रहेको ट्रेलरले देखाउँछ। फिल्ममा निश्चल बस्नेत पनि रहेको कुरा ट्रेलरबाट खुलाइएको छ। उनको भूमिका भने खुलेको छैन।
राजन भुसाल निर्देशित यो फिल्ममा दिव्य देव, उषा रजक, सुशील सिटौलालगायतको पनि प्रमुख भूमिका छ।
निर्देशक राजनको यो डेब्यु निर्देशकीय फिल्म हो। अभिनेता राजबल्लभले यो फिल्मबाट १० वर्षपछि ठूलो पर्दामा कमब्याक गर्दैछन्। त्यस्तै, दिव्या रायमाझीले यही फिल्मबाट आफ्नो अभिनय यात्रा सुरू गरेकी छन्। उनी चर्चित अभिनेता दिलीप रायमाझीकी छोरी हुन्।
अदृत फिल्मस् र मोती फिल्मस्को संयुक्त प्रस्तुतिमा निर्माण भएको फिल्म 'एक्टरः टेक वान' को स्क्रिप्ट आकाश बराल र राजन भुसालले लेखेका हुन्। थमन कुमार भण्डारी निर्माता रहेको फिल्ममा अनिश भुसाल सह–निर्माता र मोती कार्की क्रियटिभ प्रोड्युसरको भूमिकामा छन्।
फिल्मको छायांकन नरेन्द्र मैनालीले गरेका हुन् भने सम्पादन निमेष श्रेष्ठको छ।
फिल्म नेपालमा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले वितरण गर्नेछन्।