चलचित्र विकास बोर्डले ९७ जना चलचित्रकर्मीहरूलाई परिचयपत्र वितरण गरेको छ।
सोमबार बोर्डमा आयोजित कार्यक्रममा नेपाली चलचित्र क्षेत्रमा २० वर्षभन्दा बढी योगदान दिएका चलचित्रकर्मीहरूलाई चलचित्रकर्मी परिचयपत्र वितरण गरिएको हो। आयोजित कार्यक्रममा बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र प्रदान गरे।
सो क्रममा बोल्दै अध्यक्ष डिसीले परिचयपत्र वितरण कार्यक्रम चलचित्रकर्मीहरूको पहिचान, सुरक्षा र सम्मान सुनिश्चित गर्न महत्वपूर्ण कदम भएको बताए। उनले भने, 'यो कदमले चलचित्रकर्मीको पेशागत परिचयलाई औपचारिक मान्यता दिँदै उनीहरूको अधिकार र सुविधामा सहज पहुँच दिलाउनेछ।'
कार्यक्रममा सहभागी चलचित्रकर्मीहरूले परिचयपत्र प्राप्त गर्न पाउँदा खुसी व्यक्त गर्दै यसले आफ्नो पेशागत पहिचान र सुरक्षामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।
कार्डमा क्युआर सहितको डिजाईन गरिएकोले यसको विश्वसनीयता अझ बढी हुने विश्वास गरिएको छ।
बोर्डले प्रत्येक बर्ष विशिष्ट चलचित्रकर्मी, चलचित्रकर्मी, विषेश चलचित्रकर्मी र मानार्थ चलचित्रकर्मी शीर्षकमा परिचयपत्र प्रदान गर्ने गरेको छ।
परिचयपत्र प्राप्त गर्नका लागि बोर्डले आवेदन खुलाएको समयमा आवेदन दिनुपर्नेछ।