डान्सको चर्चित कार्यक्रम वर्ल्ड अफ डान्स (डब्लु.ओ.डी.) अब नेपालमा पनि हुने भएको छ।
नृत्यमा भविष्य खोज्नेहरूका लागी उत्कृष्ट मानिने यस कार्यक्रमको फ्रेन्चाइज मण्डला इन्टरटेनमेन्ट प्रालिले नेपाल भित्राएको हो।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा वर्ल्ड अफ डान्स नेपाल आगामी माघ २४ गते बिहीबार ठमेलमा हुने जानकारी दिइयो। साथै, जुरी टिम, ट्रफीसँगै विजेताले पाउने पुरस्कार लगायतका विषयमा समेत जानकारी गराइयो।
यसमा देशैभरीबाट आवेदन परेका डान्सरहरूले विभिन्न चरण पार गर्दै विजेता बन्नेछन्।
अहिलेसम्म डिजिटल अडिसनबाट तीनसय बढीको आवेदन परेको र छनौटको काम भइरहेको आयोजकले जनाएको छ। यो रियालिटी शो नभइ एक डान्स प्रतिस्पर्धाको शो भएको आयोजकको भनाइ छ।
यसमा डिजिटल, फिजिकल अडिसन पार गर्दै विजेता छनौट गरिनेछ। विजेता टिमले अमेरिकामा यहि २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म आयोजना हुने वर्ल्ड अफ डान्समा सहभागिता जनाउन पाउनेछन्, जसमा २५ देशका विजेताहरूबीच प्रतिस्पर्धा हुने जनाइएको छ।
वर्ल्ड अफ डान्स नेपालमा प्रतिस्पर्धीहरूले तीन विधामा सहभागिता जनाउन सक्नेछन्। तीनवटै विधाका विजेताहरूले एक/एक लाख नगदसहित ट्रफी र प्रमाणपत्र पाउनेछन्।
यस्तै, प्रत्येक विधाबाट बिजेतासँगै दोस्रो र तेस्रो स्थान हासिल गर्ने टिमले पनि अमेरिकामा हुने डब्लु.ओ.डीमा नेपाललाई प्रतिनिधित्व गरी सहभागिता जनाउने सक्ने जनाइएको छ।
शोका नेशनल डिरेक्टर रोशन गहतराजका अनुसार नेपालमा अहिलेसम्म नृत्यकै लागी भनेर यस्तो किसिमका शो नआएको र डब्लु.ओ.डी.नेपाल नृत्यमा भविष्य बनाउन चाहनेहरूका लागी उत्कृष्ट शो बन्ने विश्वास रहेको बताए।
यस्तै आयोजक कम्पनी मण्डला इन्टरटेनमेन्टकी सिईओ सजिना तामाङले डब्लु.ओ.डी.जस्तो प्रतिष्ठित शोलाई नेपाल भित्राउन पाउँदा खुसी लागेको बताइन्। उनले नेपालबाट राम्रो डान्सर विश्वको ठूलो प्लेटफर्ममा पुगेर नेपाललाई चिनाउन लागेको भन्दै सम्पूर्ण प्रतियोगीहरूलाई शुभकामना दिइन्। शोको जुरी टिममा निशान गौचन, जेडी तमु र मुकेश ढकाल रहेका छन्।
शोको इभेन्ट कन्सल्टेन्टको रूपमा अभिनेता प्रशान्त ताम्राकार रहेका छन्। प्रशान्तले पनि डान्सरहरूका लागी नेपालमा उपयुक्त स्टेज आएको भन्दै सहभागीहरूलाई शुभकामना दिए।