गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेब्यु निर्देशकीय फिल्म 'वसन्त' को छायांकन सकेका छन्। वागलुङबाट सुरू भएको छायांकन ३८ दिनमा बुधबार बेलुका काठमाडौंमा सकिएको निर्माण कम्पनी गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल शिरीषले बताए।
उनका अनुसार विरगन्ज, बाराको पतलैया, मकवानपुरको हेटौडामा पनि फिल्म खिचिएको छ।
यो फिल्ममा प्रकाश र स्वस्तिमा खड्कासहित प्रभात पाल ठकुरी, खड्गबहादुर पुन, शिभान्सी श्री लगायत शीर्ष भूमिकामा छन्। साथमा अनुप बराल, प्रकाश घिमिरे, कमलमणी नेपाल लगायतको पनि अभिनय छ। केही चर्चित कलाकारहरूले फिल्ममा केमियो भूमिकामा अभिनय गरेको बुझिएको छ।
फिल्मको कथा र संगीत पनि प्रकाशकै हो। कार्यकारी निर्मातामा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नाना थकाली छन्। मुख्य सह–निर्देशन सुनिल विकको छ।
गलबन्दी प्रोडक्सनका कार्यकारी प्रमुख दिल शिरीषका अनुसार अब छिट्टै प्रचारप्रसारको काम अगाडि बढाइनेछ।
'प्रोस्ट प्रोडक्सनको काम पनि छायांकन सँगसँगै अगाडि बढाइरहेका थियौं,' उनले भने, 'आगामी महिनादेखि फिल्मको केही न केही कन्टेन्ट दर्शकमाझ ल्याउने गरी तयारी गरिरहेका छौं।'
फिल्मको प्रदर्शन मिति चैत २२ (चैते दसैं) लाई तय छ।
प्रकाश सपुतले पुस र माघमा 'सोल्टिनी, हरिबहादुरको जुत्ता' को छायांकन गरेसँगै फागुनबाट 'वसन्त' मा मात्रै केन्द्रित भएर प्रमोसन सुरू गर्ने बुझिएको छ।