झण्डै एक महिनापछि हलमा नयाँ नेपाली फिल्म रिलिज हुँदैछ।
यही शुक्रबारदेखि नेपाल र भारतमा एकसाथ फिल्म 'बम बहादुर' प्रदर्शनमा आउन लागेको हो।
यसका अभिनेता सौगात मल्लले फिल्ममा दर्शकले आफ्नै कथा देख्ने बताएका छन्।
पूर्वी नेपालको इटहरीमा आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले फिल्मको कथा आफ्नै जस्तो लागेको र यसले दर्शकको मन जित्ने विश्वास रहेको बताए।
'मलाई विश्वास गरी यो पात्रको लागि मलाई छनोट गर्नुभएकोमा निर्देशक/निर्मातालाई धन्यवाद छ,' अभिनेता मल्लले भने, 'स्क्रिप्ट पढ्दा मलाई आफ्नै कथा जस्तो महशुस भएको थियो। म निकै भावुक भएको थिएँ र तुरुन्तै मैले यो कथामा काम गर्छु भनेर सोच्न खासै समय लगाइनँ।'
उनले फिल्मको छायांकनका ठाउँहरू पनि आफ्नो लागि प्रिय रहेको बताए।
'यो कथा कसरी बुन्न सकिन्छ होला भन्ने थियो। त्यहाँ सुटिङमा जुन खालको सम्मान पाएँ, ती ठाउँहरू मेरा एकदमै प्रिय भएका छन्। यो फिल्म राम्रो बनेकोले हामी सबैको मन जित्ने विश्वास छ,' उनले भने, 'मेरो पात्र रोचक छ, सायद यस्तो पात्रमा मैले अहिलेसम्म काम गरेको छैन।'
'बम बहादुर' ले सन् १९८६ मा दार्जिलिङमा भएको गोर्खाल्यान्ड आन्दोलनको पृष्ठभूमिमा मानव जीवनका आरोह–अवरोहहरूलाई पर्दामा उतारेको छ। यसले भारतका नेपाली, विशेष गरी दार्जिलिङ पहाड र छिमेकी क्षेत्र डुअर्समा बसोबास गर्ने नेपाली समुदायको संघर्षका पलहरूलाई मार्मिक ढंगले चित्रण गरेको पत्रकार सम्मेलनमा बताइयो।
लेखक तथा निर्देशक जोन राईले यो फिल्म बनाउनुको उद्देश्य आफ्नो इतिहास नबिर्सौँ भन्ने रहेको बताए।
उनले भने, 'अर्को उद्देश्य भनेको अब त्यस्तै प्रकारको आन्दोलन नहोस्। भिन्न प्रकारको शिक्षित समाज बनोस् तथा खुकुरी र बन्दुकले होइन दिमागले आन्दोलन गरौँ भन्ने हो।'
फिल्मकी अभिनेत्री अनिशा रसाइलीले यो फिल्मले हामी सबैको एउटै कथा हो भन्ने पक्षलाई उजागर गर्ने बताइन्।
'म सिक्किमको भएकोले मलाई त्यति धेरै आइडिया थिएन, जब म यो फिल्म सुट गर्न थालेँ, त्यो लोकेसनमा पुरानो समयमा समस्या भोग्नु भएकाहरूको कुरा सुन्दा डरलाग्दो थियो। मेरो अनुरोध छ कि यो फिल्म जरुर हेर्दिनुस् र त्यो पीडालाई महसुस गर्नूस्,' उनले भनिन्।
कलाकार शान्तिला तामाङले यस फिल्मबाट आफूले ठूलो आशा बोकेको बताइन्। दार्जिलिङ निवासी उनले भनिन्, 'नेपाललाई दुःख हुँदा हामीलाई पनि दुख्छ। फिल्ममा जुन कथा उठाएका छौँ यसले नेपालीलाई पक्कै छुनेछ।'
'बम बहादुर' शुक्रबार एकल रिलिज हुन लागेको हो।