शोभित बस्नेतको निर्देशनमा फिल्म 'पीआर' बन्ने भएको छ।
सलोन–सलिना फिल्मस्को ब्यानरमा निर्माण हुने फिल्मको लागि अहिले अस्ट्रेलियामा अडिसन चलिरहेको निर्देशक बस्नेतले बताए। उनका अनुसार यो फिल्मको अधिकांश छायांकन अस्ट्रेलियामा हुनेछ।
'सम्पूर्ण कलाकार र प्राविधिक अस्ट्रेलियाबाटै छानिनेछन्। अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर हामी सुटिङमा जानेछौं,' बस्नेतले भने।
फिल्म निर्माण समूहले फर्स्टलुक पनि सार्वजनिक गरेको छ। फस्र्टलुकमा हातमा सुटकेस बोकेर अस्ट्रेलिया जान लागेका एक व्यक्तिलाई देखाइएको छ। जसको शरीरको आधा भाग महिलाको छ भने आधा पुरुषको।
महिलाको भागमा नेपालको झण्डा देखाइएको छ भने पुरुषको भागमा हातमा सुटकेस बोकेर कोट लगाएको देखाइएको छ। पृष्ठभूमिमा अस्ट्रेलिया र नेपालको दृश्य राखिएको छ। त्यस्तै उडिरहेको हवाईजहाज पनि देखाइएको छ। जसले अस्ट्रेलियामा पुगेर नेपालीले स्थायी आवासीय प्रमाणपत्र (पीआर)का लागि गर्ने संघर्षको कथामा फिल्म बन्न लागेको संकेत गर्छ।
आरएफएम फ्यासिलिटी मेनेजमेन्ट अस्ट्रेलिया र ल्यान्ड वे डम्प्लिङ सिड्नी प्रस्तुतकर्ता रहेको फिल्ममा प्रदीप दाहाल निर्माता र गणेश केसी कार्यकारी निर्माता छन्।
फिल्ममा मानस राजको संगीत, शोभित बस्नेतको कथा, गणेश बुढाथोकीको पटकथा र संवाद रहनेछ।